विश्वकप एसिया क्षेत्रीय छनाेटमा नेपालकाे तेस्राे जित, हङकङ ४ विकेटले पराजित

तस्बिरः थाइल्याण्ड क्रिकेट

आईसीसी महिला टी–२० विश्वकप अन्तर्गत एशिया क्षेत्रीय छनोटमा नेपालले तेस्रो जित निकालेको छ। आईतबार भएको खेलमा नेपालले हङकङलाई चार विकेटले हरायो।

टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ओभर खेल्दै ८ विकेट गुमाएर ६२ रन बनायो। नेपालका लागि नेरी थापाले सर्वाधिक ६ विकेट लिन सफल भइन्। व्यक्तिगत ४ ओभरको स्पेलमा नेरीले ८ रन खर्चिएर ६ विकेट हात पारेकी हुन्।

योसँगै टी–२० क्रिकेटमा नेरी एके खेलमा धेरै विकेट लिने खेलाडीकाे सुचिमा तेस्राे स्थानमा पुगेकी छिन्। नेरीले पहिलो विकेट हङकङले २३ रन बनाएका बेला बेला पोनलाई आउट गरिन् । बेलालाई ११ रन बनाएका बेला रुविना क्षेत्रीको हातबाट क्याच आउट गराइन्।

यसरी नेपाललाई पहिलो सफलता दिलाएकी नेरीले दोस्रो विकेटको रुपमा नेरीले इ सान टु लाई खाता नै खोल्न नदिई पेभेलियन पठाइन्।

तेस्रो विकेटको रुपमा नेरीले १६ रन बनाइएकी यस्मिन दसवानीलाई आउट गरिन्।

हङकङ ३१ रन बनाउँदा ४ विकेट गुमाउन पुगेको थियो। चौथो विकेटको रुपमा नेरीले क्यारी चानकाे विकेट लिन सफल भइन्। त्यसपछि पाँचौ विकेटको रुपमा कप्तान मारिको हिललाई आउट गरेकी नेरीले छैटौं विकेटका रूपमा जस्मिन टिटमसलाई सिकार गरेकी थिइन्।

नेरीकाे ओभर सकिदा ३६ रन बनाएको हङकङले पछि २६ रन थपेको थियो। हङकङका लागि मरिनाले १९ रन बनाइन।

जवाफमा नेपालले १८ ओभर ३ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। नेपालको जितमा अप्सरा बेगमले २४ तथा सरिता मगरले अविजीत १६ रन बनाइन । त्यसो त नेपालले सुरुवात राम्रो गर्न सकेन । ५ रनमा पहिलो विकेट गुमाएको नेपालले ६ रनमा दोस्रो विकेट खेर फाल्यो ।

त्यसपछि १७ रनमा तेस्रो विकेट झरेको नेपालको स्कोरबोर्डमा २४ रन हुँदा चौथो विकेट गुमेको थियो । त्यसपछि ५६ रन हुँदा नेपालले पाँचौ विकेट गुमाएको नेपालको स्कोर ५९ रन हुँदा ६ विकेट गुम्यो ।

प्रकाशित मिति: : 2019-02-24 23:24:06

प्रतिकृया दिनुहोस्