डेउडा गाइकन सुख हुन्या नाई

डेउडा गाइकन सुख हुन्या नाई

राराका छालले हल्लाइरहे मनका छालहरूलाई। उसका किनाराले स्पर्स गरिरहे मुटुको कुना कन्दरामा। नजिकै देखिने हिमालले सोधिरहेझैं लागिरह्यो अनेक प्रश्नहरू। मन जस्तै हलुका थिए हाम्रा पाइला पनि। फुरूङ्ग फुरुङ्ग हिडिरह्यौ तालको किनारै किनार। यी त थिए कल्पनामा रारा डुल्दा मनभरि उब्जेका तरङ्गहरू।

पुसको पहिलो साता। यथार्थमा रारा तालसम्मको यात्राका लागि नेपालगञ्ज बिमानस्थलमा चिलगाडीको पर्खाइमा थियौं श्रीराम घिमिरे र म। करिब २ वर्ष पछि नेपाल आएका थिए श्रीराम। त्रिविमा संस्कृति विषय अध्ययन गर्दा मेरा नूतन मित्र बनेका उनी अध्ययन गर्न र डुल्न त्यतिकै माहिर छन्।

तर्कपूर्ण ढंगले प्रस्तुत हुने उनको स्वभाव नै हो। त्यसैले उनी तर्कपूर्ण ढंगले उठाइरहन्थे केही प्रंसङ्गहरु। श्रीरामको खास योजना थियो खप्तड घुम्ने। तर, त्यो बेला हिउँले बाटै पाउन मुस्किल थियो खप्तडमा। त्यस्तो जोखिमपूर्ण यात्रा गर्न हाम्रा लागि सहज थिएन पनि। त्यसपछि अचानक तय हुन गयो रारा तालको यात्रा ।

ताल्चा विमानस्थलमा ओर्लेपछि देखियो चारैतिर हिउँको च्यादर। ठूल्ठूला नाङ्गा पाहाडहरु। केही बिदेशी पाहुनाहरु। डरलाग्दो थियो बिमानस्थल पनि। प्लेनबाट उत्रेर उक्लिन थाल्यौं  उकालो।

करिब २० मिनेट उकालो चढेपछि तेस्रो अनि बाङ्गो बाटोमा हिउँ खेल्दै रमाउँदै अघि बढिरहे पाइला। त्यतिबेला लाग्थ्यो कुनै आफन्त नहुन्। कसैप्रतिको जिम्मेवारी नहोस्। पेट भर्नसम्म पाइयोस् अनि जिन्दगी सदा यात्रा नै बनिदओस्। तर, सोचे जस्तो कहाँ हुन्छ र। कतै भइ नै हाले पनि सधै उस्तै आनन्द र उमङ्ग त कहाँ मिल्थ्यो र। मात्र भावनाका कुरा न हुन्। छल्किदिन्छन् कहिले काही भावनाका छालहरु मनमा। र उत्पन्न भैदिन्छन् वेतुक तरङ्गहरु।

जसै देखिएको थियो रारा घामका पाइला सर्दै थिए डाँडापारि। बास पाइने ठाउँ पुग्न हतारिँदै हिड्नुपर्ने भइसकेको थियो। एकोहोरो हिडिरह्यौं तालको किनारै किनार। शब्द थिएनन् त्यो सुन्दरताको बयान गर्न। र त दुबै जना ताल हेर्दै प्राय मौन बनेर हिडिरह्यौ। साँझ डाफे होटेलमा बास बसेर दोस्रो दिन बिहानै मुर्मा गाउँ तिर जान खोज्दा बाटो छेउमा देखियो एउटा घर। आँगनमा थिइन् एक जना आम्मै।

घर पछाडि पात झरेर सुकेजस्ता देखिने स्याउका बोट देखेपछि हामीले जिस्क्याउन खोज्यौं ती आमालाई। आमा स्याउ छैन? छ भन्दै ती त भित्रबाट लोभलाग्दा स्याउका दाना पो ल्याएर आइन्। ठट्टा गर्दा साच्चै स्याउ पाइयो। हामीले कल्पना पनि गरेका थिएनौं त्यतिबेला स्याउ पाइएला भन्ने। त्यो चिसो ठाउँ जहाँ कोल्डस्टोरको जरुरत नै नपर्दो रहेछ। कति पैसाका हुन् – श्रीरामले सोधिहाले। दानाको ५ रूपैया – उत्तर आयो।

नेताहरु आउछन् कि आउँदैनन् भेटघाट गर्न? –गम्भीर मुद्रामा सोधे श्रीरामले। ‘भोटका कुरा गर्दा रोडका कुरा कोइ नाइ गर्दा। हामलाई दुःख भयो। हप्पै पानी खान तालमा जाने हुन्। पानी छैन। हाम्लाई सुविधा नाइ। नेता भोट माग्न आइ जान्या। भोटमाग्न आउन्या त हुन् नेता’, खिन्न भएर जवाफ फर्काए ती वृद्धाले।

गर्मीमा गाउँ नजिकका पानीका मुहान सुक्छन्। मुर्मावासीले पानी लिन पनि एक घन्टा हिँडेर ताल छेउ पुग्नुपर्छ। चुनावका बेला नारा घन्केकै हुन् – गाउँगाउँमा सिंहदरबार। खै कुन गाउँमा, कुन ठाउँमा गयो सिंहदरबार थाहा छैन।

मुर्मावासीका दुःख उस्तै छन्। आश्वासनमा बाँच्न खुब सिकाए नेताहरुले। हिजो आज पत्याउँदैनन् उनीहरु कसैका कुरा। र त भन्दैनन् सहज भावमा सोधेका कुरा पनि। आफूलाई दिक्क लागिरहेको बेला खिन्नता बढेको बेला जो सुकैले कुरा गर्न खोजे पनि कहाँ रमाउँछ र मन।

हो, होइन भन्ने उत्तर दिनु शिवाय के नै हुन्छन् र बाँकी कुरा पनि। जति जोगी आए पनि कानै चिरेका भनेझैं। जति नेता आउछन् भोट माग्न मात्रै। जति पर्यटक आउँछन् अनुहारमा क्यामेराको लेन्स सोझ्याएर जान्छन्। मात्र प्रश्नका भारी बिसाएर जान्छन्। सदा कति देखाउनु र दुःख मात्रै। त्यसैले त आफ्नो नाम समेत भनेनन्। दुई पंक्ति डेउडा गीत सुनाउन समेत मानेनन् मुर्मा गाउँका ती बृद्धले।

डेउडा गीत सुनाइ दिनोसन् सुन्न निकै मनपर्छ भन्दा उनले बताए – डेउडा मन पर्ने त हुँदा छन्। म पन मन पराउँदो छु। दुःख पीर छुट्टै। मन परेका डेउडा गाइकन सुख हुन्या नाइ। बड्डीलाई सुविधा हुन्या नाइँ। बड्डालाई सुविधा हुन्या नाइँ। आ! सुविधा हुन्या नाइ, क्या गर्नु र डेउडा गीत गाइकन। तमी लेख्न्या माइस भया दुई चार दिन बस। झिक्कै डेउडा बताइ दिउला।

एक निर्दोष अनुहार, जसले जिन्दगीका कयौं वसन्त छिचोल्यो त्यही सिंहदरबारको आशमा। तिनै नेताहरुको आश्वासनको गोरेटो हेरेर। अचेल नेताको त धुमिल छायाँ समेत देख्न छोडिदिए। दिन गन्न छोडिदिए भोलिका।

दिनभरि काम गर्छन्। साँझ बिहानका सूर्यका किरण हेर्छन् र चित्त बुझाउँछन्। दिक्क लागेपछि पुग्छन् रारा किनारमा। हेर्छन् रारालाई एकोहोरो निकै बेरसम्म। शायद दाज्दा हुन् राराको नीलो रंग र भन्दा हुन् मभित्र पनि त निलै छ दुःखको पोखरी। फरक यति मात्र त हो तिमी देखाउँछ्यौ म देखाउन सक्दैन।

यो देशका बज्रस्वाँठहरुलाई दुख्दैन कतै। संवेदना शून्य मनहरु हुँदैनन् तरलित पनि। देख्दैनन् रारा किनारको दुःख। मुर्मा गाउँका ती बृद्धाको मर्म बुझ्ने क्षमता हुँदो हो त अश्रुपूर्ण हुँदा हुन् नयनहरू। पश्चातापको ज्वाला सल्किदो हो छातीमा र पलाउँदो हो अझै पनि बिग्रेको छैन केही गरौं भन्ने भावना। पैसामा टिकट किनबेच हुने मुलकमा कहाँ पाउनु त्यस्ता नेता। कहाँ भेटाउनु समाजसेवीहरु।

गुजमुज्ज परेको बस्ती। जहाँबाट देखिन्थ्यो राराको पानी निकास हुने ठाउँ। हिउँले सेताम्मे देखिन्थे चारैतिरका पाहाडहरु। क्यामेरामा दृश्य कैद गर्न आतुर थिए मित्र श्रीराम। श्रीरामको चाहना थियो रारा नजिक कतै जमिन पाए पछि किन्ने। उनी चाहिरहेका छैनन् लामो समय अमेरिका बस्न।

 बेलाबखत सुनाउँथे – म ३/४ वर्षभित्रै फर्किन्छु नेपाल। मलाई काठमाडौं बस्न नि मन छैन। कतै त्यस्तै एकान्त ठाउँमा तरकारी खेती गरेर, भेडाबाख्रा पलेर बस्न पाए, हाम्रा संस्कृतिका पाटाहरुको अध्ययन गर्न पाए सन्तुष्टि मिल्ने थियो।

श्रीराम कहिले सही बोल्छन्। उनी त्यस्तै स्वभावका मान्छे हुन्। लोभ लालच केही छैन उनमा। ठूलो महत्वाकांक्षा पनि पालेका छैनन्।  छोराहरु ठुला भैसके अमेरिकामै छन्। अब घरतिर पनि खासै हेनु पर्दैन उनले। पूर्वीय साहित्य र दर्शनको अध्ययन गर्न निकै रुचाउने उनी कहिले काही भने मजस्तै भावनामा पनि डुब्छन्। तरलित बनिदिन्छन्। सकेको छैन उनका लागि कतै जमिन खोज्न। अनि सकेको छैन पुसदेखि अहिले सम्म सम्पर्क गर्न पनि।

मुर्मा गाउँ होमस्टे नजिकै हिउँमा चिप्लेर मेरो खुट्टाको लिगामेन्ट च्यातिन्छ।  हिंड्न सक्ने कुरै भएन। रातभर जाग्रम बस्दाको त्यो चिसो अनुभूति छुट्टै थियो। घोडामा यात्रा गर्दा कम्ता डर लागेको थिएन जबजब घोडा हिउँ छल्न बाटो डिलतिर हिड्थ्यो। चिप्लिन्थ्यो घोडा कतिखेर र अगाडीका खुट्टा टेकाउँथ्यो तर मैले ऐय्या भन्न नपाउँदै हत्त नपत्त उठिहाल्थ्यो। अनि सोच्न बाध्य तुल्याउँथ्यो – एउटा चौपाय कति दयालु छ। कति मायालु छ। कति होसियार छ आफूमा सवार भैरहेकोलाई बचाउन। जोगाएर हिँड्न। तर मान्छे जस्तो दुई खुट्टे प्राणी चौपाया जत्तिको पनि बन्न सक्दैन। घुस खान्छ। दम्भको खेती गर्छ। फूर्तिको पर्खाल ठड्याउँछ। अरुको दुःखमा साथ दिन सक्दैन। मात्र स्वार्थको बीउ रोप्छ।  र सम्पत्तिको भोको मान्छे आकाशका जून तारालाई समेत मात्र आफ्ना बनाउन पाए हुन्थ्यो ठान्छ।

राराले हामीलाई हेरिरहेको थियो या हामीले रारालाई हेरेर मनभरि बोकिरहेका थियौं उसको चित्र, धेरै सोच्ने फुर्सद नै पाइएन त्यो बेला। बाटोमा भेटिने अविष्मरणीय चिजबस्तु र अन्य कुराहरुले एकातिर तानिरहेका थिए भने सिरसिरे बतास र लुगलुग कपाउने जाडोले अर्को तिर हल्लाइरहेका थिए।  त्यस्तो जाडोमा पनि एकाबिहानै घोडा डोर्‍याउँदै हिडिरहेने ५/६ वर्षका बालकहरु मनमा आशन जमाउन थालेका थिए। खोलानाला र पानीका मुहान सबै निस्कृए थिए।

जमिसकेका थिए। तापक्रम थियो माइनस ३ डिग्री। ती बालकका नाकबाट बगिरहेको थियो पानी। बोल्दा मुखबाट निस्किरहेको थियो धुँवा। च्यात्न सकिरहेका थिएनन् सूर्यका किरणहरुले बादलको पछ्यौरी। तर पनि सुन्दर थियो त्यो यात्रा। त्यो एकान्तको शान्त परिवेश। सुन्दर अनि मनमोहक थियो त्यो दृश्य। मन थिएन त्यति चाडै फर्कि हाल्ने। जिम्मेवारीका गरुङ्गा भारी बोकेपछि कहाँ सकिदो रहेछ र फकिरझैं आफ्नै सुरमा बिना तालिका डुल्न पनि।

समयले आवाज दिइसकेको थियो दुई दिन बितिसके भनेर। खुट्टाले चेतावनी दिएसकेको थियो चेकअप गराउन ढिला भयो भनेर। नजिकै आइसकेको थियो श्रीरामको नेपाल छोड्ने दिन। दोस्रो पटक लामो समय बिताउने वाचा गर्दै फर्किनुथियो फर्कियौं। हामी काठमाडौं फर्कियौं। तर, त्यो दिनदेखि यो मन भने प्रायजसो फर्किन खोजिरहन्छ त्यही रारातिर। त्यतै मुर्मा गाउँतिर।

यो पनि हेर्नुहोस्

रोप्या खेत पहेला भैग्या मेरा दुःख उसाइ

 

प्रकाशित मिति: Feb 05, 2020 15:43:09

प्रतिक्रिया दिनुहोस

सबै