टेलिकमको अफर: रु १० मा १०० मिनेट कुराकानी

Photo Credit : NTC

नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक अटम अफर उपलब्ध गराउने भएको छ ।

उक्त अफर अन्तर्गतको सेवा आज देखि ९० दिनसम्म लिन सकिने व्यवस्था गरिएको छ । 

पहिले उपलब्ध भएका डे डाटा प्याक, डे भ्वाइस प्याक र एफटीटीएच कम्बो प्याकलाई परिमार्जन गरी अझै ग्राहकमैत्री बनाइएको टेलिकमी प्रवक्ता प्रतिभा वैद्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

डे डाटा प्याक अन्तर्गत अब १० रुपैयाँमा बिहान ६ देखि बेलुकी ६ बजेसम्म एक दिनका लागि ८० एमबी डाटा चलाउन सकिने छ । डे भ्वाइस प्याक अन्तर्गत १० रुपैयाँमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म गरी १०० मिनेट कम्पनीकै नेटवर्कमा भ्वाइस कल गर्न सकिने छ ।

एफटीटीएच कम्बो प्याक अन्तर्गत अन्य कम्बो प्याकको मूल्य उही भए पनि १५ एमबीपीएसको कम्बो प्याकको मूल्य भने घटाइएको छ । पहिलेको १ हजार २ सयको प्याकलाई १ हजार, ३ हजार ४ सयको प्याकलाई ३ हजार, ६ हजार ४ सयको प्याकलाई ५ हजार ५ सय र १२ हजार ३ सयको प्याकलाई अब १० हजार ५ सय रुपैयाँ मात्र पर्ने भएको छ ।

विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# मा डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।

प्रकाशित मिति: : 2019-10-17 18:03:26

प्रतिकृया दिनुहोस्