फेसबुकको अध्यक्ष र सीईओमा फेरि पनि जकरवर्ग: अध्यक्षबाट हटाउने प्रस्ताव विफल

शक्तिशाली जकरवर्गको प्रतिकात्मक कार्टुन । स्केच : ओआर एजेन्सी

फेसबुकको अध्यक्षबाट मार्क जकर्बर्गलाई हटाउन गरिएको प्रयास असफल भएको छ।

फेसबुकमा ६० प्रतिशत शेयर भएका जकर्बर्गलाई हटाउने भन्ने कुरा नै असम्भव छ। यो त्यतिबेला सम्भव हुनछ जतिबेला जकरवर्गले आफूलाई आफैविरूद्ध मतदान गर्छन्। 

बिहीवार भएको फेसबुकको वार्षिक साधारणसभामा जकरबर्गले त्यसो गरेनन्। परिणामस्वरूप जकरबर्ग नै फेसबुकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत रहिरहने छन्।

फेसबुकमा जकरबर्गमा अति शक्ति केन्द्रित भएकाले फेसबुकको भविष्यका लागि पनि उनले दुइमध्ये एक पद छोड्नु उपयुक्त हुने वहस केही समययता चलिरहेको छ। 

तर, यसपटक जकर्बर्गलाई अध्यक्षबाट हटाउने खोज्ने ७० लाख डलर बराबरको शेयर भएको ट्रिलियम एसेट म्यानेजमेन्टको तर्क भने फरक छ। ट्रिलियमका वरिष्ठ उपाध्यक्ष जोनस क्रोन भन्छन्- 'संसारको एउटा विशाल कम्पनीमा अहिले जकर्बर्गले दुईवटा महत्त्वपूर्ण पद ओगटेका छन्। यदि उनले प्रमुख कार्यकारी अधिकृतको भूमिकामा केन्द्रित भएर अरूलाई स्वतन्त्रतापूर्वक सञ्चालक समितिको अध्यक्षता गर्न दिए त्यो धेरै राम्रो स्थिति हुन्छ।' उनले अगाडि भने- 'ल्यारी पेज र एल्फबेट तथा बिल गेट्स र माइक्रोसफ्ट नै संस्थापक नै सञ्चालक समितिको अध्यक्ष बनिरहन पर्दैन भन्ने दृष्टान्त हुन्।

साधारणसभामा स्वतन्त्र अध्यक्ष नियुक्त गर्ने सम्बन्धी प्रश्नको जवाफमा जकर्बर्गले केही नबोलेको एक सहभागीले बताए। 

साधारणसभास्थल बाहिर ससाना दुई समुहले विरोध प्रदर्शन गरेका थिए। एउटा पक्षले फेसबुकले आफ्ना प्रयोगकर्तालाई संरक्षण नगरेको भनिरहेका थिए भने अर्को समूह भने फेसबुकले सेन्सर गरेकोमा रूष्ट थियो। 

प्रकाशित मिति: : 2019-06-02 09:31:06

प्रतिकृया दिनुहोस्