केबल कार चढेर अब १५ मिनेटमा चीनबाट रुसको शहर पुगिने

Agency

तपाईहरूले पहाड चढ्न केबल कारको प्रयोग भएको त धेरै देख्नु भएको छ। तर, के एउटा देशबाट अर्को देशमा प्रवेश गर्न केबल कार प्रयोग भएको देख्नु भएको होला? यस्तो अनौठो प्रयोग चीन र रुसको सीमामा हुँदैछ।

चीन र रुसले सन् २०२० सम्ममा एकअर्काको देशमा प्रवेश गर्न केबल कारको नौलो प्रयोगलाई स्थापित गर्दैछन्।

चीनको हिहे शहर र रुसको ब्लागोवेशचेस्क शहरको बीचमा केबल कारको निर्माण हुँदैछ। यी दुई देशबीचको शहरहरूमा प्रवेश गर्न हालसम्म सानो पानी जहाजको मात्र प्रयोग हुँदै आइरहेको थियो। यी दुई शहरलाई अमुर नदीले छुट्टयाएको छ। २९ सय किलोमिटरमा फैलिएको अमुर नदी जाडोको बेला हिउँका कारण बन्द हुने गर्छ।

पर्यटकीय हिसाबले पनि निकै महत्वपूर्ण मानिएको यी दुई देशबीचको शहरमा आवतजावत सहज बनाउन दुबै देश मिलेर केबल कार प्रयोग गर्न लागेका हुन्।

अमुर नदीको वरिपरि दुबै देशको गरेर ७ वटा शहर बसेको छ। केबल कार निर्माणपछि यी ७ वटै शहरका स्थानीयहरूलाई सहज हुने दावी पनि गरिएको छ।

अमुर नदीमाथि बन्ने केबल कारमा ६० वटा सिट हुनेछ र ‘लगेज’ का लागि छुट्टै खण्डको व्यवस्था गरिने बताइएको छ।

एउटा सीमाबाट अर्को सीमा पुग्न १५ मिनेट लाग्ने दावी दुबै पक्षले गरेका छन्। केबल कारको डिजाइन डच आर्किटेक्टले गरेका छन्।

प्रकाशित मिति: : 2019-07-31 08:05:34

प्रतिकृया दिनुहोस्