प्रदेश सरकारको सहयोगमा ५८ सीसी क्यामेरा

तस्बिरः बिएल

मोरङ प्रहरीले प्रदेश १ सरकारको सहयोगमा ५८ वटा नयाँ सीसी क्यामेरा जडान गरेर सञ्चालनमा ल्याएको छ ।

सुरक्षा निगरानी बढाउँदै सबै प्रकारको अपराधिक गतिविधिलाई नियन्त्रण गरेर प्रहरीको अनुसन्धानलाई प्रभावकारी बनाउने योजनाअनुरुप सरकारले सीसी क्यामेरा जडान गरेर प्रहरीलाई हस्तान्तरण गरेको । प्रदेश सरकारले बिनियोजन गरेको एक करोड २० रुपैयाँ मध्ये एक करोड १३ लाख ५८ हजार पाँच सय नौ रुपैयाँ खर्च गरेर विभिन्न स्थानमा सीसी क्यामेरा जडान गरिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए ।

उनकाअनुसार कोसी राजमार्ग अन्तर्गत विराटनगरदेखि बूढीगंगा गाउँपालिकाको बूढी खोलासम्म र पूर्व–पश्चिम राजमार्ग अन्तर्गत इटहरी पूर्वको बूढी खोलादेखि उर्लाबारीसम्म ६० किलोमिटर क्षेत्रमा अप्टिकल फाइबर बिछ्याएर सीसी क्यामेरा जडान गरिएको छ ।

कोसी राजमार्गमा ३२ वटा, तथा पूर्व–पश्चिम राजमार्गमा २६ वटा नयाँ सीसी क्यामेरा सञ्चालनमा ल्याइएको छ । मोरङ जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय बेलबारी र इलाका प्रहरी कार्यालय पथरीबाट सीसी क्यामेराको निगरानी हुने छ । ‘सबै सीसी क्यामेरामा तीन महिनासम्मको स्टोरेज क्षमता छ,’ एसपी अधिकारीले भने, ‘क्यामेरामा कैद भएका भिडियो फुटेज तीन महिनासम्म स्टोरेज हुन्छ ।’

प्रदेश सरकारले जडान गरेको ५८ वटा नयाँसहित मोरङमा हालसम्म सडक र सार्वजनिक स्थलमा जडान भएर सञ्चालनमा ल्याइएका सीसी क्यामेराको संख्या एक सय ५४ पुगेको छ । पछिल्लो समय अपराधको शैली फेरिएसँगै प्रहरीले अपराधिक क्रियाकलाप नियन्त्रण गर्न र अनुसन्धानलाई प्रभावकारी बनाउन राखिएको सीसी क्यामेराले ठूलो सहयोग मिल्ने प्रहरी अधिकारीको भनाइ छ ।

प्रदेश सरकारको सहयोगमा जडान गरिएका सीसी क्यामेरा सुरक्षा प्रणालीको शुभारम्भ सोमबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरे । उनले सबै प्रकारको अपराध नियन्त्रण र अपराध अनुसन्धान गर्न सीसी क्यामेराले प्रहरीलाई मद्धत पुग्ने बताए । ‘मोरङ जिल्लामा राखिएका सीसी क्यामेराबाट निगरानी राखेर अपराध नियन्त्रण र प्रहरीको अनुसन्धानलाई प्रभावकारी बनाउन सहयोग पुग्छ,’ उनले भने, ‘भरपर्दो सुरक्षा प्रणाली अवलम्बन गरेर सुशासन कायम गर्दै अगाडि बढ्न प्रदेश सरकार गम्भीर भएर लागेको छ ।’

प्रदेशमा सरकार बनेको दिन नै आफूले सुरक्षाको प्रत्याभूति दिएर सुशासन कायम गर्ने महत्पपूर्ण प्रतिवद्धता जनाएको र त्यसलाई पूरा गर्ने सिलसिलामा सीसी क्यामेरा जडान गरेर प्रहरीलाई हस्तान्तरण गरेको राईको भनाइ छ ।

‘जतिसुकै ठूलो बजेट जतिसुकै राम्रो कार्यक्रम ल्याए पनि शान्ति, सुरक्षा र सुशासनको अनुभूति जनतालाई दिन नसके त्यसको कुनै अर्थ हुँदैन,’ मुख्यमन्त्री राईले भने, ‘त्यसैले पनि जनतालाई अनुभूति हुने गरिको शान्ति सुरक्षाको व्यवस्था गर्न र सुशासन कायम गर्दै विकास निर्माणलाई अगाडि बढाउने विषयमा कोहीसँग कुनै सम्झौता हुने छैन ।’ उनले प्रहरी संगठनलाई नमुना बनाउने प्रदेश सरकारको योजना अनुसार कामको सुरुवात पनि गरिएको बताए ।

दक्षिण एसियाकै पहिलो महिला टेम्पो ड्राईभर, जो अहिले मुलुककै सफल व्यवसायी भइन् (भिडियोसहित)

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सुरक्षा संयन्त्रलाई बलियो र प्रविधि मैत्री बनाएर लैजान प्रदेश सरकारले गरेको काम अपराध नियन्त्रण र अनुसन्धानका सवालमा निक्कै प्रभावकारी एवं महत्वपूर्ण रहेको बताए ।

उनले यस्तो प्रविधिलाई प्रहरीले अनुसन्धानका लागि एउटा अचुक औषधिका रूपमा लिने बताए । ‘प्रविधिले अपराधमा संलग्नलाई पहिचान गर्ने काम गर्छ ,’ खनालले भने, ‘जसले कसुर गरेको छ त्यसको पहिचान गर्न प्रविधिले स्पष्ट संकेत गर्छ ।’ उनले काम गर्ने क्रममा मानविय हिसावमा हुने विभिन्न त्रुटिहरु नहुने भएकाले प्रविधिलाई साथ लिएर गरिएका अनुसन्धान निक्कै प्रभावकारी र विवादरहित हुने बताए । नेपाल प्रहरीलाई परिस्कृत गर्न यो प्रविधिले ठूलो सहयोग पुग्ने खनालको भनाइ छ ।

प्रकाशित मिति: : 2019-09-16 18:00:46

प्रतिकृया दिनुहोस्