अमेरिकाकी काइली जेनर २१ वर्षमै अर्बपति

एपी

फेसबुकका मार्क जुकर्बर्गको कीर्तिमान भङ्ग

अमेरिकाकी २१ वर्षे काइली जेनर संसारको सबैभन्दा कान्छी अर्बपति बनेकी छन्।

फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सन् २०१९ को अर्बपति सूचिमा शृङ्गारका सामानको व्यवसाय गर्नेजेनर परेकी हुन्।

उनको कम्पनी काइली कस्मेटिक्सले गत वर्ष मात्र आफ्नो बिक्रीबाट ३६ करोड अमेरिकी डलर बराबरको आम्दानी गरेकोफोर्ब्सले जनाएको छ।

चर्चित कार्ड्याशियन परिवारकी सदस्यसमेत रहेकी उनी एक्काइस वर्षमै अर्बपतिको सूचीमा पर्दै फेसबुकका संस्थापक मार्क जुकर्बर्गलाई उछिनेकी छन्। यसअघि कान्छा अर्बपतिका रूपमा सूचीकृत हुँदा जुकर्बर्ग २३ वर्षका थिए।

कान्छो अर्बपति भएपछि उनले फोर्ब्ससँग भनेकी छन्, ‘मैले यस्तो केही अपेक्षा गरेकी थिइनँ। र भविष्यको यस्तो लक्ष्य पनि राखेकी थिइनँ,’ उनले भनिन्,‘तै पनि यस्तो सूचीमा पर्दा खुसी लागेको छ। कसैले आफ्नो काँधमा धाप मारिदिएजस्तो लागेको छ।’

फोर्ब्सका अनुसार सन् २०१९ को अर्बपति सूचीमा १३१ अर्ब अमेरिकी डलर सम्पत्तिसहित अमेजनका संस्थापक जेफ बेजोस शीर्ष स्थानमा छन्।

उनको कुल सम्पत्ति गत वर्षको भन्दा १९ अर्ब अमेरिकी डलरले बढेको छ।

फोर्ब्सको गणनामा परेका दुई हजार एक सय ५३ धनी व्यक्तिमध्ये २५२ जना महिलाहरू छन्।

आफ्नै पौरखमा सबैभन्दा धनी महिला भने चीनकी प्रभावशाली घरजग्जा व्यवसायी वू याजुन छिन्। उनको सम्पत्ति झन्डै ९.४ अर्ब डलर रहेको छ।

आफ्नै प्रयासमा अर्बपति हुने त्यस्ता महिलाको सङ्ख्या पहिलो पटक सबैभन्दा धेरै ७२ पुगेको थियो जुन गतवर्ष ५६ थियो।

प्रकाशित मिति: : 2019-03-06 20:36:04

प्रतिकृया दिनुहोस्