२० वर्षपछि काठमाडौं फर्कियो दक्षिण एसियाको कुम्भमेला, पहिलो पल्ट राष्ट्रपतिबाट उद्घाटन

तस्बिरः बिएल नेपाली सेवा

राष्ट्रपति विद्यादेवी भण्डारीले १३ औं दक्षिण एसियाली खेलुकद (साग) सुरु भएको औपचारिक घोषणा गरे लगत्तै २० वर्षपछि काठमाडौंमा दक्षिण एसियाको सबैभन्दा ठूलो खेलमेला आइतबारदेखि सुरु भएको छ।

‘१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सुरु भएको घोषणा गर्दछु,’ साग गेम्सका लागि फेरिएको दशरथ रंगशालामा राष्ट्रपतिले साँझ औपचारिक घोषणा गरिन्।

पछिल्लो समय नेपालले सन् १९९९ मा काठमाडौंमै आठौं साग गेम्सको आयोजना गरेको थियो। नेपाल दक्षिण एसियाली खेलकुदको जन्मस्थल पनि हो। सन् १९८४ मा नेपालबाटै दक्षिण एसियाली खेलकुदको आयोजना भएको थियो।

यसअघिको दुई संस्करणमा पूर्व राजा वीरेन्द्रले साग गेम्सको समुद्घाटन गरेका थिए। नेपाल गणतन्त्रमा प्रवेश गरेपछि नेपाली राष्ट्रपतिले उद्घाटन गरेको दक्षिण एसियाको यो पहिलो ठूलो प्रतियोगिता हो।

काठमाडौंको १५ डिग्रीको चिसोमा सात देशका खेलाडीले संयुक्त मार्चपास गरेका थिए। यसपालि अफगानिस्तान प्रतियोगितामा समावेश भएन। उसले दक्षिण एसियामा आफ्नो उपस्थिति जनाउने भन्दा मध्यपूर्वबाट प्रतियोगिता खेल्ने औपचारिक घोषणा गरेपछि अफगानिस्तान ४ वटा सागमा सहभागी हुँदै बाहिरिएको हो। अफगानिस्तान सन् २००४ पाकिस्तानमा आयोजना भएको नवौं सागदेखि दक्षिण एसियाली खेलकुदमा समावेश भएको हो। उसले चार वर्षअघि भारतको गुवाहाटीमा अन्तिम साफ खेलेको थियो।

१३ औं सागमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, भुटान र बंगलादेश गरि सातवटा देशका २ हजार ७ सय १५ खेलाडी सहभागी छन्। जसमा पहिलो पल्ट २६ वटा खेल समावेश गरिएको छ। खेल र पदकको हिसाबले १३ औं साग अहिलेसम्मकै ठूलो प्रतियोगिता हो।

यसपालि २६ खेलबाट ३ सय १७ स्वर्ण, ३ सय १७ रजत र ४ सय ८१ कास्य गरि कूल १ हजार १ सय १५ पदकका लागि भिडन्त हुदैछ।

आइतबारदेखि १० दिनसम्म आयोजना हुने १३ औं सागका खेलहरू काठमाडौं, पोखरा र जनकपुरमा हुदैछ।

नेपालबाट यसपालि सबैभन्दा बढी ५ सय ९६ खेलाडी सहभागी हुँदैछन्। उद्घाटनलाई भब्य बनाउन ८ हजारको संख्यामा विद्यार्थी, आर्मी, पुलिस र सशस्त्रका कलाकारले आफ्नो प्रस्तुति दिएका थिए।

कलाकार दीपक बज्राचार्यले चिसो वातावरणमा पनि आफ्नो लोकप्रिय गीतले रंगशालाको माहोल तताएका थिए।

१३ औं सागको झन्डातोलन भारत्तोलनका कीर्तिमानधारी खेलाडी कमलबहादुर अधिकारीले गरेका थिए। यस्तै, द्धीप प्रज्ज्वलन सागमा ४ वटा स्वर्ण जितेका अर्का कीर्तिमानधारी तेक्वान्दो खेलाडी दीपक बिष्टले गरे। उनलाई नेपाली खेलकुदका लिजेन्ड म्याराथन धावक बैकुण्ठ मानन्धरले अन्त्यमा द्धीप हस्तान्तरण गरेका थिए।

आठौं सागमा बैकुण्ठले द्धीप प्रज्ज्वलन गरेका थिए।

खेलाडीका तर्फबाट नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले सपथ खाएका थिए। यस्तै, प्रशिक्षक र प्राविधिकतर्फबाट ब्याडमिन्टनका अन्तर्राष्ट्रिय रेफ्रि प्रकाश थापाले सपथ लिए।

करिब ६ अर्ब बजेटमा आयोजना हुन लागेको १३ औं सागका लागि ३१ वटा खेल स्थल समावेश गरिएको छ। तर, पौडीलगायत केही खेल स्थल अहिलेसम्म तयार हुन सकेको छैन। तर, राष्ट्रिय खेलकुद परिषद्ले डिसेम्बर ५ देखि सुरु हुने पौडी प्रतियोगिता अगाडि नै पुल तयार भइसक्ने बताएको छ।

नेपालले यस प्रतियोगिताको सुरक्षाका लागि १८ हजार सुरक्षाकर्मीलाई तैनाथ गरेको छ। यस्तै, फुटबल, क्रिकेट, भलिबल र बास्केटबलमा पहिलो पल्ट दर्शकका लागि शुल्क लागु गर्ने निर्णय गरिएको छ। अन्य खेल सबैले निःशुल्क हेर्न पाउने छन्।

उद्घाटनमा यातायातको चापलाई रोक्न सरकारले जोर नम्बर प्लेट भएको गाडी चलाउन रोक लगाएको थियो। डिसेम्बर १० मा समापनको दिन बिजोड नम्बरको गाडी मात्र चलाउने व्यवस्था गरिएको छ।

प्रकाशित मिति: : 2019-12-01 21:05:39

प्रतिकृया दिनुहोस्