दक्षिण एसियाली खेलकुदमा दोस्रो स्वर्ण जितेपछि आयशा शाक्य निकै भावुक भइन्। दुई छोरीकी आमा केही समयअघि मात्र खेलमा फर्किएकी थिइन। उनले यसपालि पुम्सेमा भाग लिइन। उनको खेल हेर्न परिवारसहित उनको श्रीमान तेक्वान्दोको फाइटतर्फका प्रशिक्षक दीपक बिष्ट पनि टिममा संलग्न थिए। तर, पहिलेभन्दा केही नर्भस।
सन् २०१० मा आयशाले सागमा स्वर्ण जित्दा उनको विवाह नै भएको थिएन। बंगलादेशको ढाकामा भएको दशौं सागमा आयशासँगै उनको श्रीमान दीपक बिष्टले दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेर कीर्तिमान बनाएका थिए। दीपकले बंगलादेशमै साग गेम्समा ४ स्वर्ण जित्ने कीर्तिमान कायम गरेका थिए।
यसपछि यो जोडीको विवाह भएको थियो। आमाको खेल हेर्न ६ वर्षीय छोरा आदेश र २ वर्षका आधार पनि नेपाली दर्शकहरूको भीडमा सम्मिलित थिए। खेल जितपछि दुबै छोरा आमाको आलिंगनमा बाँधिन पुगेका थिए।
ठूला छोरा आदेशले बिएलसँग भने, ‘मामुलाई बधाई दिन चाहन्छु।’ श्रीमान दीपक बिष्टले पनि आयशाको जितमा खुसी व्यक्त गरे। आयशाको अब साग गेम्समा २ स्वर्ण र २ रजत पुगेको छ। उनले २९ वर्षमाथि पुम्सेमा स्वर्ण जितेकी थिइन। जुन स्पर्धा साग गेम्समा पहिलो पल्ट समावेश गरिएको थियो।