नेपाली खेल पदाधिकारीले धुमधामका साथ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता भएको दावी गरिरहेको बेला सुटिङका खेलाडी हतियार बिना नै प्रतियोगितामा उत्रिएको पोल खुलेको छ।
केही नेपाली खेलाडी आफ्नै देशमा आयोजना भएको १३ औं सागको उद्घाटनमा पनि राष्ट्रिय पोशाक नपाएर ट्रयाक सुटमै मार्चपास गर्न बाध्य भए। तर, दुई तिहाई सरकारका मन्त्रीलगायत खेल पदाधिकारी र कर्मचारी भने राष्ट्रिय ढुकुटीबाट दौरा सुरुवालदेखि जुत्ता–मोजासम्म खरिद गरेर रंगशालामा उपस्थित देखिए।
बुधबार र बिहीबार सुटिङतर्फको खेलमा नेपाली खेलाडीले श्रीलंका र पाकिस्तानी खेलाडीसँग व्यक्तिगत जुवानीमा पेस्तोल मागेर खेल्नु पर्यो। नेपाली खेलाडीको माया लागेर विदेशी खेलाडीले पेस्तोल उपलब्ध गराएपनि पेस्तोलको अन्य ‘फङ्सन’ नचालाउन उनीहरूले उर्दी लगाएका थिए।
बुधबार सिमा तुलाधरको खेलमा ‘माल फङ्सन’ भएको थियो अर्थात गोली पड्किएन।
परिषद्ले २० वर्ष अगाडि नेपालमा आयोजना भएको आठौं सागमा राखेको गोलीबाटै अभ्यास गर्न लगाएको थियो। नेपाली खेलाडीले प्वाइन्ट २२ क्यालिबरको गोलीबाट अभ्यास गरेका थिए। लामोसमय थन्क्याएर राख्दा गोलीमा ढुस्सी परेको थियो। खेलाडीले गोली सफा गरेर अभ्यास गरेका थिए।
‘अभ्यासका क्रममा पनि थुप्रै पल्ट ‘माल फङ्सन’ भयो,’ एक खेलाडीले बिएल नेपाली सेवासँग भने, ‘हामीलाई अभ्यास नियमित जारी राख्नु बन्दुक सागसम्म आइपुग्छ भनेर ठग्ने काम मात्र भयो। अहिले मागेर खेल्नु पर्यो।’
सरकार ले १३ औं सागका लागि करिब ६ अर्ब बजेट बिनियोजन गरेको थियो। तर, खेलाडीले अहिलेसम्म खेल सामाग्री नपाउँदा १३ औं साग ‘जसको बिहे। उसैलाई हेर्न नदिए’ बन्न पुगेको छ।
५ महिनाअघि नेपालगञ्जमा आयोजना भएको आठौं बृहत राष्ट्रिय खेलकुदमा पनि पेस्तोलको समस्याले केही इभेन्ट्स भएको थिएन। खेलकुद परिषद् तथा नेपाल
ओलम्पिक कमिटीका पदाधिकारीलाई यसको जानकारी हुँदाहुँदै पनि साग जस्तो बृहत तथा अन्तर्राष्ट्रिय खेलकुदमा पेस्तोल मगाउन नसक्नु चरम लापरवाही हो। यसले अन्तर्राष्ट्रियस्तरमै देशको बेइज्जती गर्ने काम गरेको छ।
‘हामीले पटकपटक खेलकुद परिषद र ओलम्पिक कमिटीलाई जानकारी गराउँदै आएका हौं। तर, प्रतियोगिता भइसक्दा पनि उहाँहरूले वास्ता गर्नुभएन,’ सुटिङ संघका एक सदस्यले बिएल नेपाली सेवासँग भने, ‘आयोजक राष्ट्रले पाहुना देशलाई खेल सामान उपलब्ध गराउनु पर्ने बेला उल्टै मागेर खेल्नु पर्यो। यसले राष्ट्रकै बेइज्जत भएको छ।’