स्टार फुटबलर ज्लाटनको शालिकको नाक काटियो

स्विडेनको माल्मो रंगशाला अगाडि राखिएको स्टार फुटबलर ज्लाटन इब्राहिमोभिचको शालिकमाथि हुल्याहा समर्थकले रिस पोख्दै नाक काटिदिएका छन्। गत अक्टोबर ९ तारिखमा माल्मो रंगशाला अगाडि कांशबाट बनेको उनको ३.५ मिटर अग्लो शालिक अनावरण गरिएको थियो।

नोभेम्बरको २७ तारिखमा उनले आफ्नो चिर प्रतिद्वन्द्वी क्लब ह्यामरबीमा २५ प्रतिशत सेयर खरिद गर्ने घोषणा गरेका थिए। त्यसपछि नै उनको पुरानो क्लब माल्मोका समर्थकरुष्ट बनेका हुन्। त्यसैको रिस समर्थकहरुले इब्राहिमोभिचको शालिकमाथि पोख्दै आएका छन् 

इब्राहिमोभिचको शालिक बनाउने कलाकार पिटर लिन्डेले कसैको पनि शालिकमाथि रिस पोख्नु अशोभनीय ब्यवहार भएको बताएका छन्। उनले समर्थकहरुसँग इब्राहिमोभिचको शालिकमाथि रिस नपोख्न पनि अनुरोध गरेका छन्। 

इब्राहिमोभिचले ह्यामरबीको सेयर खरिद गर्ने घोषणा गरेको दिन नै उनको शालिकमाथि रुष्ट समर्थकहरुले रङ पोतिदिएका थिए। त्यसपछि पनि रुष्ट समर्थकले पटक/पटक उनको शालिकमाथि आफ्नो आक्रोश पोख्दै आएका छन्। 

इब्राहिमोभिचले २० वर्षअघि माल्मोबाटै आफ्नो व्यवसायिक खेल जीवनको सुरुआत गरेका थिए। सन् १९९९ मा माल्मोमा आबद्ध भएका इब्राहिमोभिचले सन् २००१ सम्म त्यहाँबाट खेलेका थिए। माल्मोबाट ४० खेल खेल्दै उनले १६ गोल पनि गरेका थिए। त्यसपछि उनी डच क्लब आयाक्समा आबद्ध भएका थिए।

 उनले इटालियन क्लब युभेन्ट्स, इन्टर मिलान र एसी मिलानबाट पनि ब्यवसायिक फुटबल खेलेका छन्।

यसैगरी उनले स्पेनिस क्लब बार्सिलोना, फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन र इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट पनि ब्यवसायिक फुटबल खेलिसकेका छन्।

यतिबेला उनी अमेरिकाको मेजर लिग सकर क्लब लस एन्जल्स ग्यालेक्सिमा आबद्ध छन्। उनले एलए ग्यालेक्सिका लागि ५६ खेल खेल्दै ५२ गोल गरिसकेका छन्। उनले यही सिजनदेखि एलए ग्यालेक्सी छाड्ने पनि निश्चित भइसकेको छ। उनले सन् २००१ देखि सन् २०१६ सम्म स्विडेनको राष्ट्रिय टोलीबाट पनि खेलेका थिए। यसबीचमा उनले राष्ट्रिय टोलीका लागि एक सय १६ खेल खेल्दै ६२ गोल गरेका थिए।

प्रकाशित मिति: : 2019-12-24 20:09:19

प्रतिकृया दिनुहोस्