युनाइटेडकाे खेल बुढो मान्छेले सेक्स गरेजस्ताे, हेर्नमा कुनै मज्जा आउँदैन: एरिक

पूर्वखेलाडी एरिक कान्टोनाले म्यान्चेस्टर युनाइटेडले बुढो मान्छेले सेक्स गर्न खोजेजस्तो फुटबल खेलिरहेको टिप्पणी गरेका छन्।

पाँच वर्ष क्लबमा बिताएर फर्गुसनको नेतृत्वमा चारवटा प्रिमियर लिग उपाधि जितेका युनाइटेडका पूर्वखेलाडी समेत रहेका एरिकले अहिलेको टोली फ्यानहरुलाई उत्साहित बनाउने र उपाधिका लागि दाबेदारी प्रस्तुत गर्ने स्तरभन्दा धेरै पछाडि रहेको जिकिर गरे। उनले टोलीले खेलेको हेर्नुमा कुनै मज्जा नै नरहेको टिप्पणी गरे।

‘अहिले म्यान्चेस्टर युनाइटेडले खेलेको हेर्दा लाग्छ कुनै बुढो मान्छेले सेक्स गर्न खोजेको जस्तो लाग्छ। उसले सकेसम्म प्रयास गर्छ तर अन्त्यमा निराशाबाहेक केही हात लाग्दैन।’

उनले ठट्टा गर्दै थपे, ‘बुढो मान्छेको कुरा गरिरहँदा त्यो म भने होइन। त्यो विम्ब मात्र हो।’

टोलीले यो सिजन राम्रो प्रदर्शन गर्न नसके पनि युनाइटेड पुनः युरोपको शक्ति बन्नेमा भने एरिक विश्वस्त छन्। ‘उनीहरु फर्कन्छन् किनभने यो विश्वकै ठूलो क्लब हो।’

ओले गनर सोल्कसायरको टोलीले स्थिर खेल प्रदर्शन गर्न नसक्दा यो सिजन पनि प्रिमियर लिगमा संघर्ष गरिरहेको छ। १८ खेलपछि युनाइटेड लिगको आठौँ स्थानमा सिमित रहेको छ।

सन् २०१३ मा सर एलेक्स फर्गुसनले क्लबबाट बिदा लिएपछि युनाइटेडले लिग उपाधि जित्न सकेको छैन। यो सिजन पनि युनाइटेड लिगको शीर्ष स्थानमा रहेको लिभरपुलभन्दा २४ अंकले पछि परेको छ भने शीर्ष चार स्थानबाट ७ अंकले पछि रहेको छ।

सबै प्रतियोगितामा युनाइटेड लगातार ६ खेलमा अपराजित रहेको थियो तर गत आइतबार वाटफोर्डसँग २–० ले स्तब्ध बन्यो।

प्रकाशित मिति: : 2019-12-26 22:03:43

प्रतिकृया दिनुहोस्