बुटवललाई हराउँदै विराटनगर फाइनलमा, उपाधिका लागि चितवनसँग भिड्ने

विराटनगर टाइटन्स पोखरामा जारी दोस्रो संस्करणको फाइनलमा पुगेको छ। बिहिबार भएको एलिमेटरमा बुटवल ब्लास्टरलाई २१ रनले हराउँदै विराटनगर उपाधि नजिक पुगेको हो।

विराटनगरले दिएको १६६ रनको लक्ष्य पाएको बुटवलले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदैं १४४ रनमा समेटियो।

बुटवलका लागि भीम सार्कीले ४४ तथा अफ्ताबूदिन अहमेदले ४३ रन बनाए। यस्तै पुरन बिकेले १५ तथा शिवम सिंहले १४ रन जोडे ।

अन्य खेलाडी भने  टिकेर खेल्न सकेनन्।

बुटवललाई सस्तैमा रोक्न विराटनगरका साहब आलमले सर्वाधिक ३ विकेट लिए।

यसअघि पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६५ रन बनाएको थियाे।

विराटनगरका लागि सुनीलले अर्धशतकीय पारी खेले। प्रतियोगितामा पहिलो अर्धशतक बनाउने क्रममा धमलाले ५४ बलमा ६ चौका र २ छक्का प्रहार गरे।

यता कप्तान प्रदीप ऐरीले ३३ बनाए। पुनित मेहेरा र लोकेश भामले समान १९–१९ रनको योगदान गरे।  

बुटवलका लागि हर्ष टङले दुई विकेट लिए। त्यस्तै ललित भण्डारी र अविनाश बोहोराले एक–एक विकेट लिए।

अब विराटनगरले उपाधिको शनिबार चितवन राइनोजसँग खेल्नेछ।

प्रकाशित मिति: : 2019-12-27 04:58:12

प्रतिकृया दिनुहोस्