कतारीलाई नेपाली कामदारको सौगात, चालकरहित मेट्रो उपहार (भिडियोसहित)

तस्बिरः बिएल

 खाडीमा बिएल–६ 

सर्लाहीका दीपेन्द्र यादवले नेपालमा रेलको कुरा सुनेको कैयौं वर्ष भइसक्यो। उनी वैदेशीक रोजगारीबाट जब नेपाल आउँछन्, गाउँको चिया पसलदेखि राजधानी काठमाडौंको भट्टी पसलमा हुने ‘रेल चर्चा’ ले उनलाई काउकुती लगाउँछ।  

हाल उनी कतारको दोहामा कार्यरत छन्। सन् २००६ मा पहिलो पल्ट रोजगारीका लागि कतार आउँदा उनले यहाँ रेलको नाम पनि सुनेका थिएनन्। कुनै कतारीको मुखबाट रेलको ‘र’ पनि उच्चारण हुँदैन्थ्यो।

बरू कलेज जीवनमा रेलको कुरा सुनेर उनी साथीभाईसँग लहलहैंमा रेलको अनुभव गर्न जनकपुर हानिएका थिए। 

अहिले उनी अचम्म मान्छन्। उनी दोहामै कार्यरत रहँदा कतार सरकारले सन् २०२२ को विश्व कपलाई लक्षित गरेर विश्वकै आधुनिक रेल सेवा विस्तार गरिसकेको छ। उनले हेर्दा हेर्दै कतारले ६ वर्षमा चालकरहित मेट्रो निर्माण गरेको छ।

कतार सरकारले सन् २०१३ मा राजधानी दोहामा रेल सेवा विस्तार गर्ने भनेर पहिलो पल्ट कामदार माग गरेको थियो। यसमा सबैभन्दा बढी कामदार नेपाली नै खटिएका थिए। अहिले पहिलो चरणअन्तर्गत ७६ किलोमिटरको काम सम्पन्न भइसकेको छ। जसमा ४० स्टेशन निर्माण भएका छन्।

‘नेपालमा रेलको गफ सुनिन्छ। यहाँ नेपालीले तोकिएको समयमै काम पुरा गरेर कतार सरकारलाई मेट्रोको अनुपम उपहार दिइसके,’ यादव भन्छन्।

कतार सरकारले देशभरी रेलको सयन्त्र विस्तार गर्ने भनेर मसिरेव स्टेशनबाट ३ सय किलोमिटर लामो मेट्रो योजनाको अनावरण गरेको थियो। कतार मेट्रो सेवाका कार्यकारी निर्देशक अब्दुल्लाह अल–सुबीले विदेशी न्युज एजेन्सी रोयटर्सलाई दिएको एक अन्तर्वार्तामा २०२६ सम्म रेल योजना सम्पन्न भइसक्ने बताएका छन्।

उनले २०२१ सम्म विश्वकप हुने ७ वटा रंगशाला वरिपरी र सम्पूर्ण शहरी क्षेत्रमा मेट्रोको पहुँच पुगिसक्ने दावी पनि गरेका छन्।

सुबीको दावीलाई साँचो सावित गर्न नेपाली कामदार दिन र रात नभनी खटिएका छन्। कतारको सरकारी तथ्याङ्क अनुसार ३५ अर्ब ७० करोड अमेरिकी डलर (लगभग ४० खर्ब ७५ अर्ब रुपैयाँ) अनुमान गरिएको मेट्रो रेल परियोजनामा ४१ हजार मजदुर खटिएका छन्। जसमा सबैभन्दा धेरै कामदार नेपाली भएको बताइएको छ।

‘हामी नेपालीहरू विश्वकप रंगशाला, बाटो र मेट्रो रेल निर्माणमा सबैभन्दा बढी खटिएका छौं,’ सन् १९९६ देखि कतारमा कार्यरत टिकापुरका रमेश गिरी भन्छन्।

कतार सरकारले मेट्रो निर्माणमा हुने जोखिम न्युनिकरणका लागि टनेल बोरिङ मेसिन (टिबीएम) को प्रयोग गरेको छ। ‘ब्लास्ट’ नगरि भित्रभित्रै छेडेर रेलको बाटो बनाउने प्रविधिलाई ‘टिबीएम’ प्रणाली भनिन्छ। यसको प्रयोग १९ ठाउँमा गरिएको छ। ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ले एउटै परियोजनामा यति ठूलो मात्रामा ‘टिबीएम’ प्रविधि प्रयोग गरेको भन्दै दोहा मेट्रोलाई आफ्नो सूचिमा राखिसकेको छ।

नेपाली कामदार अत्याधिक भएको अल–वक्रादेखि दोहाको मुख्य व्यापारीक सेन्टरसम्म मेट्रो सेवा विस्तार भइसकेको छ। त्यसैले हिजो–आज छुट्टिको दिन नेपालमा नभएपनि दोहाको मेट्रोमा सयौंको उपस्थितिमा नेपालीहरू परिवारसहित घुम्न निस्किएको भेटिन्छन्।

‘यहाँ काम गरेर घरमा पैसा पठाउने हामीहरूका लागि यो नौलो अनुभव हो। के गर्ने देशमा मेट्रो छैन,’ दोहाको अल–वक्रामा भेटिएका सुर्खेतका भवानीप्रसादले बिएल नेपाली सेवासँग भने।

कतारमा हाल ४ लाखको हाराहारीमा नेपाली कामदार कार्यरत छन्। सन् २०१० मा फिफाले गरेको चुनावमा कतारले २०२२ को विश्वकप आयोजनाको जिम्मा पाएपछि नेपाली कामदार अत्याधिक मात्रामा कतारमा मजदुरको रुपमा खटिएका छन्।

रंगशाला निर्माण, बाटो र मेट्रो सेवा विस्तारका क्रममा हालसम्म १४ सय नेपालीको ज्यान गइसकेको छ। र, कतारमा नेपाल सरकारको फितलो उपस्थितिका कारण मर्नेको संख्या अझैं बढ्नेमा कुनै शंका छैन।

हेर्नुहोस् खाडीमा बिएल शृंखलाहरू

खाडीमा बिएल-४ किन बढ्दै छ कतारमा विप्लव माओवादीको आकर्षण? (भिडियो सहित)

खाडीमा बिएल–३: कतारमा ‘ट्याक्सी’ चलाउने पहिलो नेपाली महिला मीना थापा क्षेत्री

खाडीमा बिएल–२: कतारमा सरकारी जागिर खाने पहिलो नेपाली यासिन मामा (भिडियोसहित)

खाडीमा बिएल–१: नाकाबन्दीले आत्मनिर्भर बनेको कतार (भिडियोसहित)

प्रकाशित मिति: : 2019-08-14 09:14:59

प्रतिकृया दिनुहोस्