एट्लेटिकोलाई हराउँदै रियल मड्रिडले जित्यो स्पेनिस सुपर कप

यो सँगै रियललाई ११ औं पटक स्पेनिस सुपर कपको उपाधि

स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ। आईतबार राति एट्लेटिको मड्रिडलाई पेनाल्टी सुटआउटमा हराउँदै रियलले सुपरकपको उपाधि हात पारेको हो । 

यो सँगै रियलले ११ औं पटक स्पेनिस सुपर कपको उपाधि उचालेको हो ।निर्धारित ९० मिनेट र थपिएको आधा घण्टाको अतिरिक्त समयमा गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो।

सर्जियो रामोसको पेनाल्टी गोल निर्णायक बनेपछि रियल मड्रिडले ४–१ को जित निकाल्यो ।

एट्लेटिकोका सउल निग्वेज र थोमस पार्टीको पेनाल्टी गोलमा परिणत हुन सकेन।

सउलको प्रहार पोस्टमा लाग्न पुग्यो भने थोमस पार्टीको प्रहार रियलका गोलकिपर थियाबट कोर्ट्वाले बचाएका थिए।

साउदी अरेवियाको किङ अबदुल्लाह स्पोर्टस सिटीमा भएको खेलमा अतिरिक्त समय सकिन पाँच मिनेट बाँकी हुँदा फेड्रिको भाल्भार्डेले रातो कार्ड पाउँदा रियल मड्रिड १० खेलाडीमा झरेको थियो ।

एट्लेटिको मड्रिडका जाओ फिलिक्सले पहिलो हाफमा राम्रो मौका पाएको थियो । रामोसको मिसपासमा मौका पाएका फिलिक्सले पोस्टभन्दा थोरै बाहिर प्रहार गरे ।

पहिलो हाफको तुलनामा दोस्रो हाफमा रियल मड्रिडले उत्कृष्ट प्रदर्शन गरेको थियो।प्रतियोगिता नयाँ ढाँचामा खेलाईएको थियो । स्पेनिस लिगको शीर्ष दुई टिम र कोपा डेल रेका फाईनल खेलेका दुई टिमलाई सुपरकपमा समावेश गरिएको हो।

रियलले गत सिजन तेस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको थियो। बार्सिलोना लिग विजेता र कोपा डेल रेको फाईनल खेलेको टिम बनेपछि रियल प्रतियोगिता खेल्न छानिएको हो।

प्रकाशित मिति: : 2020-01-13 21:10:11

प्रतिकृया दिनुहोस्