बार्सिलोनाको तेस्रो आँखा मोरेनो,औबामेयाङ र टिमो वेर्नरमा

क्याटलान क्लब बार्सिलोना ट्रान्सफर विन्डोमा नयाँ खेलाडीको खोजीमा छ। चोटका कारण फरवार्ड लुइस सुआरेज लामो समय मैदानबाहिर रहने भएपछि उनको उनुपस्थितिमा बार्सिलोना लिगमा सहजै खेल्न सक्ने फरवार्डको खोजीमा छ।  

यसका लागि बार्सिलोनाले भ्यालेन्सियाका रोड्रीगो मोरेनोमाथि आँखा डुलाएको छ। मोरेनो पनि बार्सिलोना जान इच्छुक रहेका छन्। तर दुई क्लबबीच ट्रान्सफर रकमलाई लिएर भने केहि असमझदारी देखिएको छ।

भ्यालेन्सियाले मोरेनोका लागि कम्तिमा ६० मिलियन युरोको माग राखेको छ। तर बार्सिलोनाले यसअघि ट्रान्सफर विन्डोमा नै १ सय २४ मिलियन युरो खर्चेकाले आर्थिक पाटोमा समस्या छ। 

बार्सिलोनाले विकल्पका रुपमा आर्सनलका पिएर एमेरिक औबामेयाङ र जर्मन क्लब आरबी लाइप्जिगका टिमो वेर्नरलाई पनि हेरेको छ। तर दुवै खेलाडीलाई आआफ्नो क्लबले निकै महत्त्वपूर्ण भूमिकामा राखेको हुनाले बार्सिलोनाले मोटो रकम खर्चनुपर्ने छ।

बार्सिलोनालाई सुआरेजकाे अभाव खड्कने

सुआरेजकाे घुँडाको शल्यक्रिया गरिएको छ। यस सिजन २३ खेल खेल्दै १४ गोल गरेका ३२ बर्षीय स्टार खेलाडी स्वारजेले चार महिना खेल्न नसक्ने बार्सिलोनाले जनाएको छ।

घुँडामा चोट बोकेका सुआरेजको शल्यक्रिया सफल रुपमा सम्पन्न भएको बार्सिलोनाले प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको थियो। उरुग्वेका स्टारको अभावमा बार्सिलोनालाई स्पेनिस ला लिगामा अगाडी बढ्न केही गाह्रो हुने देखिएको छ। सुआरेजले अब यस सिजन मैदान बाहिर रहनेछन्।

स्पेनिस ला लिगामा अहिले बार्सिलोना शीर्ष स्थानमा छ। बार्सिलोनाले २० खेलबाट ४३ अंक बनाएको छ। समान खेलबाट ४३ नै अंक बनाएको रियल म्याड्रिड गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ। एट्लेटिको म्याड्रिड र सेभिल्लाले पनि बार्सिलोना र रियललाई पछ्याई रहेका छन्। यी दुवै टोलीको ३५ अंक छ।
 

प्रकाशित मिति: : 2020-01-22 21:00:07

प्रतिकृया दिनुहोस्