ए डिभिजन लिग: आर्मी शीर्ष स्थानमा उक्लियाे, नवयुग श्रेष्ठले गरे दुई गाेल

बिएल संवाददाता

काठमाडाै‌ं

 त्रिभुवन आर्मी क्लब शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको विभागीय डर्बी भिडन्तमा नेपाल पुलिस क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै आर्मी शीर्ष स्थानमा उक्लिएको हो।

आर्मीको जितमा नवयुग श्रेष्ठले दुई गरे। यस्तै आर्मीका लागि सुमन अर्याल र सुदिल राईले एक एक गोल गरे। पुलिसका बुद्ध बल तामाङ र मान बहादुर परियारले एक एक गोल गरे।

खेलमा पुलिसले १९ औं मिनेटमा बुद्वको गोल मार्फत अग्रता लिएको थियो। 

३५ औं मिनेटमा सुमनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। 

५८ औं मिनेटमा मानबहादुरले गोल गर्दै पुलिसलाई २–१ को अग्रता दिलाए। 

यता ७७ औं मिनेटमा नवयुगले गोल गर्दै खेललाई २–२ बराबरीमा ल्याए।

८५ औं मिनेटमा नवयुगले गोल गर्दै आर्मीलाई ३–२ को अग्रता दिलाए। यता ८९ औं मिनेटमा सब्सिच्युट सुदिलले गोल गर्दै आर्मीलाई ४–२ को जित दिलाए।

जितसँगै आर्मीले १० खेलमा २३ अंक जोडेको छ। पुलिस १० खेलमा १४ अंक जोडेर सातौं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-02-03 05:56:37

प्रतिकृया दिनुहोस्