नेपाल टेलिकमको १६औं बार्षिकोत्सव सम्पन्न

नेपाल टेलिकमले आफ्नो स्थापनाको १६औं बार्षिकोत्सव बुधबार विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।

कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकमले पूर्व योजना बमोजिम नै ठूला आयोजना कार्यान्वयनमा प्राथमिकता दिएको बताएका छन्।

एक वर्षको अवधिमा फोरजी मोबाइल सेवा ७७ वटै जिल्लामा विस्तार गरेको बताउदैं उनले भने, 'एफटीटीएच प्रविधिको विस्तार र अप्टिकल फाइबर परियोजना निर्धारित अवधिमै सम्पन्न गर्नुपर्छ, कम्पनीले प्रदान गरेका सेवाहरुमा गुणस्तर कायम गरी सेवाग्राहीको सन्तुष्टिलाई प्राथमिकताको विषय बनाउनुपर्छ।'

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनीको सञ्चालक समितिका अध्यक्ष दीपक सुवेदीले टेलिकमले अब समयानुकुल विभिन्न स्मार्ट सेवाहरु वितरण गर्ने बताए।

'अत्याधुनिक प्रविधिका सेवाहरु गुणस्तरसहित प्रदान गरी ग्राहकको मन जित्नुपर्छ' उनले भने। यसका लागि बजारको प्रतिस्पर्धामा अब्बल ठहरिने गरी योजना कार्यान्वयन गरिने र गुणस्तरीय सेवा उपलब्ध गराइने अध्यक्ष सुवेदीको भनाई छ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्राधिकरणसँगको सम्झौता अनुसार एक वर्षको अवधिमा कम्पनीले ग्रामीण दूरसञ्चार विकास कोषको प्रयोग गरी विभिन्न स्थानमा अप्टिकल फाइबर बिछ्याउन सफल रहेको बताए।

हासिल गरेको उपलब्धिप्रति सन्तोष व्यक्त गर्दै उनले भने, 'पूर्ण क्षमतामा प्रयोग नभएका पूर्वाधारहरु सहप्रयोग गर्न नेपाल टेलिकम तयार हुनुपर्छ।'

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले एक वर्षभित्रै देशभर फोरजी विस्तार गर्ने महत्वाकांक्षी र चुनौतीपूर्ण लक्ष्य रहेको बताए।

यसै साता देशका ७७ वटै जिल्लामा फोरजीको पहुँच पुर्याइएको उनको भनाई छ। 'स्थानीय टेलिफोन सेवाको रुपान्तरणको लागि एफटीटीएच परियोजनालाई अगाडि बढाइएको छ', उनले भने, 'निकट भविष्यमा आईपीटीभी सेवा समेत एफटीटीएच मार्फत प्रदान गरिनेछ।'

 

प्रकाशित मिति: : 2020-02-06 07:16:38

प्रतिकृया दिनुहोस्