आर्मी ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लियाे

बिएल संवाददाता

काठमाडाै‌ं

त्रिभुवन आर्मी क्लब शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहिबार भएको खेलमा एपीएफलाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मी शीर्ष स्थानमा उक्लिएको हो। आर्मीको जितमा सन्तोष तामाङले दुई गनेल गरे। एपीएफका आशिष लामाले एक गोल फर्काए।

खेलको १६ औं मिनेटमा सन्तोषले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए। ३७ औं मिनेटमा आशिषले गोल गर्दै एपीएफलाई १–१ गोलको बराबरीमा ल्याए। 

तर, खेलको ४२ औं मिनेटमा सन्तोषले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई २–१ को जित दिलाए।

जितसँगै आर्मीले ११ खेलमा २६ अंक जोडेको छ। र, मछिन्द्र फुटबल क्लबलाई १ अंकले पछि पार्दै आर्मी शीर्ष स्थानमा उक्लिएको हो। मछिन्द्रको २५ अंक रहेको छ।

बिहिबार नै सरस्वतीलाई ६–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्र केहि घण्टाको लागि शीर्ष स्थानमा उक्लिएको थियो।

प्रकाशित मिति: : 2020-02-07 05:57:55

प्रतिकृया दिनुहोस्