ला लिगा: हजार्डको पूनरागमनसँगै रियाल शीर्ष स्थानमा

रियाल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।  सेल्टा डि भिगोसँग २–२ गोलको बराबरीमा रोकिदै रियल शीर्ष स्थानमा उक्लिएको हो। 

रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा आइतबार राति भएको खेलमा फरवार्ड इडेन हजार्डले झन्डै दुई महिनापछि चोटबाट पूनरागमन गरेका थिए। 

गत नोभेम्वरमा पीएसजीविरुद्धको च्याम्पियन्स लिगको समूह चरणमा चोट बोकेका हजार्डले पहिलो रोजाईमा मैदानमा उत्रने मौका पाएको थियो। 

उनलाई दोस्रो हाफमा भिनिसियस जुनियरले प्रतिस्थापन गरेका थिए। तर गोल भने गर्न सकेनन्।

रियालको जितमा टोनी क्रुस र कप्तान सर्जियो रामोसले गोल गरे। सेल्टाका फेडर स्मोलोभ र सान्टी मिनाले गोल फर्काए।

पाँचौ मिनेटमा फेडेर स्मोलोभको गोलबाट सेल्टाले अग्रता लिएको थियो। उनले लागो आस्पासको पासमा गोल गर्दै सेल्टालाई अग्रता पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए।

दोस्रो हाफको शुरुमै रियालले बराबरी गोल फर्कायो। ५२औं मिनेटमा मार्सेलोको पासमा टोनी क्रुसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।

६५औं मिनेटमा कप्तान सर्जियो रामोसले पेनाल्टीमा गोल गर्दै रियाललाई खेलमा २–१ को अग्रता दिलाए।

हजार्डलाई पेनाल्टी बक्समा सेल्टाका गोलरक्षक रुवेन ब्लान्कोले फउल गरेपछि रियालले पेनाल्टी पाएको थियो। जसलाई रामोसले गोलमा परिणत गरे। 

८५औं मिनेटमा डेनिस सुआरेजको पासमा सान्टी मिनाले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए।

बराबरीपछि रियालले शीर्षस्थानमा बार्सिलोनालाई एक अंकको पछि पारेको छ। रियालको २४ खेलबाट ५३ तथा समान खेलबाटै बार्सिलोनाको ५२ अंक छ। रियाललाई रोकेको सेल्टा २१ अंक जोडेर १७औं स्थानमा छ।
 

प्रकाशित मिति: : 2020-02-17 19:55:13

प्रतिकृया दिनुहोस्