राष्ट्रिय महिला टोली एवं एपिएफकी फरवार्ड सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेत सोमबार स्वदेश फर्किएका छन्। भारतीय महिला लिग (आईडब्लूएल) अन्तरगत शुक्रबार भएको फाइनलमा क्रिप्सा एफसीलाई ३–२ ले हराउँदै सावित्रा सम्मिलित गोकुलम केरला एफसी लिग उपाधि जितेको थियो।
सावित्राको निर्णायक गोलमा गोकुलम च्याम्पियन बनेको थियो। टोलीले खेलेका लिगका सबै ७ खेलमा सावित्राले १६ गोल गरिन्। त्यसअघि प्ले अफमा पनि उनले ह्याट्रिक गरेकी थिइन्। लिगको उच्च गोलकर्ता बनेकी सावित्राले १ लाख भारतीय रुपैयाँ प्राप्त गरिन्।
सावित्रा र अनिताले गत वर्ष सेथुबाट खेल्दै टोलीलाई लिग च्याम्पियन बनाएका थिए। त्यति बेला सावित्राले १५ गोल गरेकी थिइन्। आइडब्लूएलको फाइनल हेर्न पुगेका एन्फा महिला फुटबलका प्रमुख हरि खड्का पनि उनीहरुसँगै फर्केका छन्।
उनीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महिला समितिका संयोजककी पेमा डोल्मा लामा र फिफा सहायक रेफ्री विना श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।