कृषकहरु भन्छन्: लागतको हिसाबमा कुखुराको मूल्य पाएनाैं

बिएल संवाददाता

काठमाडाै‌ं

कुखुरापालन व्यवसायमा चल्ला र दानाको मूल्य अत्यधिक बढेपछि कुखुरा पालक कृषकहरु आन्दोलित भएका छन्। बजारमा मासुको मूल्य बढेपनि आफूहरुले लागतको हिसाबमा कुखुराको मूल्य नपाएको किसानहरुको गुनासो छ। 

गत माघ महिनामा मासुको मूल्य किलोमा १९० रुपैयाँसम्म बढ्यो। पुसमा ह्याचरी उद्योगहरुले चल्ला र चल्ला कोरल्ने अण्डा नष्ट गर्ने अभियान सकिएपछि  प्रतिकिलो २४० रुपैयाँको मासु एकैपटक ४३० रुपैयाँसम्म पुगेको छ। तर कृषकहरु बजारमा मासुको मूल्य बढेपनि आफूहरुले लागतको हिसाबमा कुखुराको मूल्य नपाएको गुनासो गरेका छन्। 

उनीहरु राष्ट्रिय रुपमै संगठित हुँदै ‘राष्ट्रिय कुखुरा पालक संघर्ष समिति नेपाल’ नै गठन गरी संघर्ष शुरु गरेका छन्। मंगलबार राजधानीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अगाडि धर्ना दिँदै पीडित कृृषकहरुले विभागको ध्यानाकर्षण गर्दै विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीलाई १० बुँदे मागपत्र बुझाएका छन्।

कुखुरापालक संघर्ष समितिले व्यवसायीहरुले कृषकको ढाडसेक्ने गरी मनोमानी रुपमा कुखुराको चल्ला तथा दानाको मूल्य बढाएको र उपभोक्तालाई समेत मार पर्नेगरी मासुको मूल्य बढाइरहेको भन्दै बजार अनुगमन, नियमन गरी दोषीलाई कारबाही गर्न विभागसँग माग गरेका छन्। 

किसानहरुले विभागबाट कृषकहरुमा राहत अनुभूति हुनेगरी काम हुनुपर्नेमा उल्टै आहात महशुस भएको बताएका छन्। ‘चल्ला र दानाको मूल्य बढाउने उद्योगीको कदमले साना किसानहरु मारमा परेका छन्,’ राष्ट्रिय कुखुरा पालक किसान संघर्ष समितिका अध्यक्ष बिष्णु खड्का भने,‘चल्ला र दाना उत्पादक उद्योगले मनोमानी गर्दा पनि सरकारी निकायले कारवाही गरेनन्।’

२६–२७ सय रुपयाँ प्रतिबोरा दानाको मूल्यमा एक हजार बढी वृद्धि गर्दै ३५–३६ सय रुपैयाँसम्म पु¥याउदा र ३० देखि ३५ रुपैयाँ प्रतिगोटा पर्ने चल्लाको मूल्य ७०–८० रुपैयाँसम्म पु¥याउँदा समेत विभाग कानमा तेलहालेर बसेको कृषकहरुको आरोप छ। 

नेपाली अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा ओगटेको कुखुरापालन व्यवसाय मुठ्ठीभरका सिन्डिकेटधारी व्यवसायीहरु ९चल्ला, दाना, मासु० को अधिनमा रहेकोर कृषकलाई ऋणमा डुबाइ व्यवसायबाटै पलायन हुन बाध्य पारिएको संघर्ष समितिको आरोप छ। यस्तो कार्य तत्काल रोक्न व्यवसायीहरुको सिन्डिकेटधारी व्यवसायीक संघ संगठन समेत तत्काल विघठन गर्न पींडित कृषकहरुले माग राखेका छन्।

मागपत्र बुझ्दै महानिर्देशक सुवेदीले आफूहरुले कृषकको जायज माग सम्बोधन गर्ने बताए। यद्यपि उनले किसानहरु अनावश्यक रुपमा क्रान्तिकारी भएको आरोप लगाए।  

‘तपाइँहरु बढी क्रान्तिकारी बन्नुभयो। आदर्श बनेर हामी माथिनै दोष लगाउनु भयो,’ महानिर्देशक सुवेदीले भने, ‘हामीले त्यस्तो कोही कसैसँग साठगाँठ गरेका छैनौं। म त्यस्तो व्यक्ति पनि होइन। बरु जसले बजार अनुगमनमा हामीलाई साथ दिन्छ तिनीहरुसँग हाम्रो साठगाँठ हुन्छ।’

सोही अवसरमा सुवेदीले चल्ला, दाना, र मासुको मूल्यको विषयमा छानबिन गर्न विभागले काम थालिसकेको जानकारी दिए। 

 यस्तो छ पीडित कुखुरा पालक कृषकहरुको माग
–अवैधानिक रुपमा रहेका तीन वटै (ह्याचरी, पोल्टी र दाना) उत्पादक संघ तत्काल खारेज गर्नुपर्ने।

–न्यूनतम आधार मूल्य किसानको नेतृत्वमा कोल्डस्टोर व्यवसायी र किसानहरुले तोक्न पाउनु पर्ने।

–खोर काटा(खोरमै कुखुराको तौल लिने) अनिवार्य लागु गर्नुपर्ने।

–कमिसन तथा ग्रेडिङ्ग र प्रतिशत घटाउन नपाइने।

–दाना तथा चल्लाको गुणस्तरको नियमित अनुगमन गर्नुपर्ने।

–दानाको बोरामा मूल्य, प्याकिङ्ग मिति र कन्टेन स्पष्ट रुपमा खुलाउनु पर्ने।

–प्यारेन्ट आयातमा कटौती गरी बजारको माग अनुसार मात्र चल्ला उत्पादन गर्नुपर्ने। 

–भेटनरी तथा औषधीहरुमा नियमन गर्नुपर्ने। 

–सर्वपक्षीय वृहत्त पोल्ट्री गोलमेच सम्मेलन तत्काल गर्नुपर्ने। 

 

प्रकाशित मिति: : 2020-02-19 04:47:08

प्रतिकृया दिनुहोस्