आईसीयूबाटै छोरीज्वाइँलाई टीका

 भरतपुरस्थित सेन्ट्रल अस्पतालको सघन उपचार कक्ष (आईसीयूमा) फागुन ११ गते मार्मिक दृश्य देखियो ।

नवलपरासीको सरावल गाउँपालिका वडा नं. १ का क्यान्सरपीडित परशुराम भट्टराईले आफ्नी कान्छी छोरी शान्ता भट्टराईलाई आईसीयूबाटै विवाहको टीका लगाइदिए । छोरी शान्ता र ज्वाइँ सुवास न्यौपानेलाई उनले आईसीयूबाटै आर्शिवाद दिए ।

नारायणगढको हरिहर मन्दिरमा विवाह सकेपछि शान्ता र सुवास क्यान्सर रोगको उपचार गराइरहेका बुवाको आर्शिवाद लिन अस्पतालको आइसीयू पुगेका थिए ।

छोरीज्वाइँलाई आईसीयूभित्र देख्नेवित्तिकै सकीनसकी परशुरामले दुईहात जोडेर नमस्कार गरे । केही मुस्कुराउने प्रयास गरे ।

जिब्रोमा क्यान्सर भएकाले उनी बोल्न सक्ने अवस्थामा थिएनन् । दुनोमा ल्याइएको टीका पालैपालो लगाएर छोरीज्वाइँलाई आर्शिवाद दिए ।

बुबाको हातबाट टीका लगाएर आर्शिवाद लिएपछि बुबालाई सञ्चो हुन्छ भन्दै ढाढस दिए, छोरीज्वाइँले । ‘बुवा नआत्तिनुस्, हजुरलाई ठीक हुन्छ, पर्सि फर्किएर छिट्टै भेट्न आउँछौं’ भन्दै छोरीज्वाइँले गरेको वाचा पूरा हुन पाएन । छोरीज्वाईलाई विदाई गरेकोे झण्डै १७ घण्टापछि परशुरामले प्राण त्यागे ।

डिउटीमै रहेकी नर्स अनिशा धरेलले खाना खुवाउँदाखुवाउँदै उनको निधन भएको बताइन् ।

डिउटीमै रहेका चिकित्सक डा.सुरेन्द्र सिग्देलकाअनुसार बिहेकै दिन छोरीज्वाइँ अस्पतालमा आउने पूर्वजानकारी थिएन । सामान्यतः अस्पतालको आईसीयुभित्र त्यसरी जान दिन मिल्दैनथ्यो । ‘तर, उहाँको अवस्था निकै जटिल थियो, उहाँहरुले अनुरोध गरेपछि नाई भन्न सक्ने अवस्था पनि रहेन,’ डा. सिग्देलले भने, मानवीय संवेदनाको कुरा पनि भयो ।’

प्रकाशित मिति: : 2020-03-01 08:36:05

प्रतिकृया दिनुहोस्