सल्यानटारमा पहिलाे पल्ट फूल्याे ताेरी, गाउँलेकाे मुहारमा हाँसाे (भिडियो)

टरै टारको सल्यानटार गोरखाको पालुङ्टार पछिको दोश्रो ठूलो टार हो। यहाँको टारमा हिउँदमा पानीको निकै अभाव हुन्छ। त्यसैले हिउँदे बाली त्यति राम्रो हुँदैन। यसै कारण पनि यस स्थानको नाम टार हुन गएको स्थानीयको बुझाइ छ। 

यहाँका स्थानीयलाई हिउँदमा सागसम्म खान पाएको सम्झना छ। तर, यसपालि सबैलाई प्रफुल्लित बनाउने एउटा घटना सल्यानटारमा भएको छ। 

सल्यानटारका स्थानीयले पहिलो पल्ट हिउँदमा तोरी फुलेको हेर्न पाएका छन्। 

उनीहरुले यसपालि जेपर्ला पर्ला भनेर खेतमा बिउ छर्केका थिए। तर, ताेरी फुल्नेमा भने विश्वस्त भने थिएनन्। ‘भगवानको बरदान नै मान्नुपर्ला। यसरी तोरी फुलेको देखेर कहिले काहीँ सपना पो हो कि जस्तो भान हुन्छ,’ ७४ वर्षीय पवित्रा न्यौपाने बिएल नेपाली सेवासँग भन्छिन्। 

हिउँदे बालीमा पर्ने तोरी यहाँका मानिसले फुलेको नदेखेको सयौं वर्ष बितिसकेको दावी गर्छन्। धादिङ जिल्लामा पर्ने सल्यानटार सुख्खा स्थानमा पर्छ। त्यसैले यहाँको खेतबारीमा तोरी फुलेको देखिएको थिएन। यसपालि हिउँदमा पनि पानी पर्यो।

‘पानी परेको हुनाले सबै गाउँले मिलेर तोरी रोप्ने योजना बनायौं। जोखिम मोलेर भएपनि खेतमा तोरीको बिउ भित्र्याएका थियौं,’ न्यौपानेले भनिन्, ‘यसअघि पनि तोरीको बिउ न छर्केको होइन। तर, कहिले फुलेन।’ 

यहाँका स्थायी वासिन्दा खानेपानी पनि ट्याकरबाट ओसारपोसार गर्छन। यस्तो अवस्थामा सिचाइँका लागि पानीको कल्पना गर्नु धेरै टाढाकाे कुरा हो। 

तर, आकाशे झरी नै सही यसपालि सल्यानटारवासीले पहिलो पल्ट तोरी आफ्नो खेतमा हेर्ने मौका पाएका छन्। ‘यहाँको खेत पहेँलो रंगको पोतेझै भएको छ। २०३१ सालमा बिहे भएर यहाँ आएदेखि कहिल्यै तोरी फुलेको देखेको थिइन,’ न्यौपानेले भनिन्। 

न्यौपानेकी कान्छी बुहारी जुना महिला अधिकारवादीका साथै व्यवसायी पनि हुन्। सामाजिक कार्यमा अनवरत सक्रिय उनी भन्छिन्, ‘यसपालि त आकाशे पानीले गर्दा तोरी फुलेको देखियो। अर्को वर्ष के हुने हो, त्यो थाहा छैन।’

उनी सरकारसँग यो क्षेत्रमा सिचाइँको व्यवस्था गर्न अनुरोध गर्छिन। उनको भनाईमा सल्यानटारको माटो उर्बर छ। यदी सरकारले यहाँ सिचाइँको व्यवस्था गरेको खण्डमा यस भेगका स्थानीयहरू छिट्टै स्वावलम्बी बन्ने कुरामा उनी ढुक्क छिन्। 

प्रकाशित मिति: : 2020-03-04 19:17:29

प्रतिकृया दिनुहोस्