डेढ सयबाट व्यवसाय शुरु गरेकी धनमाया बुढा मुगुमै बसेर कराेड कमाउँछिन् (भिडियाे)

 मुगु डायरी-८ 

भिरालोमा गमगढी बजारको तल्लो कुनामा महाकाली मावि छ भने माथिल्लो कुनामा प्रशासन कार्यालय। प्रशासन पुग्नुभन्दा दुई पाइला अगाडि भेटिन्छ, ‘रारा होजियारी उद्योग, मुगु’। उद्योगकी मालिक हुन्, धनमाया सिंह बुढा।

रारा छायानाथ नगरपालिकाको एक गाउँ ढुमबाडा, उनको घर हो भने उनको माइती घर नेपालगञ्ज। तराईको चर्को गर्मी खाएकी उनी हिमालको चिसो सिरेटोको स्वाद चाख्न मुगु पुगिन्।

उनीसँग नयाँ मान्छे पनि सजिलै घुलमिल हुन सक्छ। उनको स्वभावै त्यस्तो छ, जोकोहीलाई आफन्त मान्ने। आत्मीय व्यवहार गर्ने। एकदम कम बोल्ने मान्छे पनि उनको अगाडि बोल्छ। जो पनि उनीसँग नजिकिन्छ। हामीले आश्चर्यभावमा सोध्यौं, ‘तराईको मान्छे, हिमालमा कसरी?’ उनले हिन्दीमा जवाफ फर्काइन्, ‘सादी हुवा’। त्यसपछि हिन्दीमै सोध्न कर लाग्यो, ‘कैसे?’, उनको सिधा जवाफ थियो, ‘लभ हुवा, फिर सादी हुवा।’ त्यसपछि उनले हाँसो रोक्न सकिनन्। उनको हाँसोसँगै, उनले हातैले बुनेर पसलको भित्तामा सजाएर राखेका विभिन्न आइटम पनि एकसाथ हाँसे।

उनीसँगको यो रमाइलो बातचित सकिएपछि मैले जुम्ली लवजमा बोले। जवाफमा उनले भनिन्, ‘मलाई जुम्ली भाषा खुब मन पर्छ।’ भाषाशास्त्रीहरुले प्रत्येक सय मिटरको दूरीमा भाषाको लवज फरक हुन्छ भन्ने छनक कर्णाली अञ्चलमा देखिए पनि जुम्लीभाषा उस्तै लाग्छ। यो लवज बाहिरबाट आउनेले खुब मन पराउँछन्। कतिले गिज्याउँछन् पनि। धनमाया सिंहले मन पराइन्। हाम्रो आत्मीयता बढ्यो। 

उनी २०५५ सालमा बिहे गरेर मुगु आएकी थिइन्। त्यसबेला माओवादी युद्ध युवाअवस्थामा थियो। जसले डरको मनोविज्ञान घरघरमा पुर्‍याएको थियो। सबैतिर आज के हुने हो? भोलि के होला? निकै त्रासको वातावरण थियो। बिहे गरेपछि हुनुपर्ने चरम सुखानुभूतिको समयमा धनमाया सिंहको मुटु डरले कापिरहेको हुन्थ्यो। तर, समय बित्दै जाँदा बानी पर्दै गइन्। बजार नजिकैको बसोबास, उति साह्रो डर थिएन। समयसँगै केही हल्का महसुस हुँदै गयो। 

केही समय घरधन्दामै अल्झिएपछि उनले व्यवसाय गर्ने योजना बनाइन्। तर, कुनै पनि व्यवसायको अनुभव थिएन। तराईमा हुर्केकी उनले हिमालको जनजीवन जस्ताको तस्तै अपनाउन सम्भव पनि थिएन। घाँस–दाउरा, गाई–गोरु सम्हाल्न बानी परेको थिएन। यता व्यवसायमा लगानी गर्नलाई मोटो रकम पनि थिएन। तर पनि हातमा सानैदेखिको एउटा सीप भने थियो। उनले जानेकी थिइन् बुन्न। घरधन्दाबाट फुर्सद मिल्दा टोपी, स्वेटर बुनिरहेकी थिइन्। त्यसैलाई निरन्तरता दिदै उनले २०५८ सालदेखि थालिन्, हाते होजियारी उद्योग। विस्तारै व्यवसाय विस्तार भयो। व्यवसायलाई पान नम्बरमा दर्ता गर्दै भ्याटमा लगिन्। अब तपाई आफै अनुमान लगाउन सक्नु हुन्छ व्यवसाय कति विस्तार भएछ भनेर। 

थप छलफल गर्दै गरौंला पहिला उनको लगानी कति थियो बुझौन। सायद, पत्याउनु हुन्न होला। हुन त उनलाई आफ्नो लगानी भन्न पनि कस्तो कस्तो लाग्छ। व्यवसाय सुरु गर्दा उनीसँग जम्मा डेढसय रुपैयाँ थियो। अब कसले पत्याउने? तर उनको लगानी त्यति नै हो। धेरैले पत्याउँदैनन् भनेर उनले नै त्यो लगानीलाई थोरै बढाएकी छिन्। ‘मैले डेढसय भन्यो भने कसैले पत्याउँदैनन्। उल्टो हाँस्छन्’ उनी भन्छिन्, ‘त्यही भएर हिजोआज पाँचसय भन्ने गरेकी छु। डेढसय हो भन्न पनि लाज लाग्न थाल्यो।’  

उनले हामीसँग भने डेढसय नै भनिन्। नयनराज पाण्डेले उलार लेख्दाको रहस्य खोलेझैं गरिन्। उलार लेख्दा पाण्डेले एक बसाईंमा झण्डै तीन घण्टा लाएर सकाएका थिए। तर त्यो कुरा उनले उलारको बीस वर्षे संस्करणको भूमिकामा मात्र खुलाए। त्यस्तै धनमाया सिंहले पनि झण्डै १८ वर्षपछि आफ्नो व्यवसायको वास्तविक लगानीको कुरा खोलेकी थिइन्। नपत्याउने भन्ने पनि त भएन।

उनको आर्थिक अवस्था नाजुक थियो। त्यसैले पनि उनीबाट ठूलो लगानी सम्भव थिएन। त्यही डेढसयले उनले धागो र काँटी किनिन्। एउटा राम्रो स्वेटर बुनिन् र बेचिन्। पैसा दोब्बर आयो। लगाव बढ्यो। मुगुमा भनेजस्तो धागो पनि पाउँदैन थियो। विस्तारै सहज हुँदै गयो। उनी आफैले पसलेलाई विभिन्न रंगका धागो ल्याउन भनेर सुझाइन्। पसलेले ल्याइदिए। यसले उनको व्यवसाय विस्तारमा सहज भयो। ‘विभिन्न डिजाइनको धागोमा, विभिन्न डिजाइको बुट्टा हालेर बुनेपछि धेरैले मन पराउन थाले। ग्राहक बढे। माग बढ्यो। राती पनि नसुती बुन्न थाले,’ उनले हाँस्दै भनिन्।

सुरु सुरुमा उनी हातहातमा बेच्थिन। कसैले अर्डर दिएमा बुनी सकाएर घरमा पुर्‍याउन जान्थिन्। समय बित्दै जाँदा उनको स्वेटरको सबैतिर चर्चा हुन थाल्यो। धनमाया सिंहले पसल नै खोलेर आफ्नो सीपले बुनेका सामान सजाइन्। माओवादी युद्धको हुरी चलेको बेला उनले आफ्नो जीवनमा वसन्त ल्याइन। ‘तँ आँट म पुर्‍याउँला’ भने जस्तै उनलाई पनि उत्प्रेरित गर्न विभिन्न संघसंस्था लागे। घरेलु तथा साना उद्योग विकास समितिले सहयोग गर्‍यो। हिमाली प्रोजेक्ट लगायत संस्थाले उनको सीपको उचित मूल्यांकन गरे। अहिले त उद्योग नेपालगञ्जसम्म विस्तार भइसकेको छ। त्यहाँको उद्योग श्रीमानले धानेका छन्। दुई केटाकेटी उतै बस्छन्। एउटा छोरा मुगुमा उनीसँगै छन्।

पछि उनले मेसिन थपिन। उद्योग दर्ता गरेपछि हाते मेसिन राखेकी थिइन्। अहिले ती सबै विस्थापन गरेर विद्युतबाट चल्ने मेसिन राखेकी छिन्। हाल उनको व्यवसाय करोडमा पुगिसकेको छ। यसरी व्यवसाय करोडमा पुर्‍याउने उनको सीपको सुरुवात चार कक्षा पढ्दादेखिको हो। उनले कलमले अक्षर कम लेखिन् तर बुन्नलाई काँटी बढी घुमाइन्। सीपमा ध्यान दिइन्। यसैपनि यो उनको व्यवहारिक ज्ञान थियो। त्यसबेला उनी सिन्काको काँटी बनाएर बुन्ने गर्थिन्। त्यसैको जगमा उभिएर आज उनी ठूलो व्यवसायकै मालिक बन्न सफल भएकी छिन्।

सीपमा उनको यतिसम्म लगाव भयो कि बाटोमा नयाँ डिजाइनको स्वेटर लगाएको मान्छे देख्यो भने त्यस्तै बुन्न मन लाग्न थाल्यो। ‘म त्यो डिजाइन हेरिरहेकी हुन्छु। अरुले यो मान्छे हेर्नका लागि भनेर नकारात्मक सोच्छन,’ उनी भन्छिन, ‘उनीहरुलाई के थाहा? म मान्छे होइन, उसले लगाएको स्वेटर, टोपी, पञ्जा, आउटर आदिको डिजाइन र फिनिसिङ हेरिरहेकी हुन्छु।’

घरेलु तथा साना उद्योग विकास समिति, विभिन्न एनजीओ, गाविस, वडापालिका सबैले तालिम चलाउँदा छानिने एक नम्बरकी गुरु उनै हुन्। उनले निकाल्ने फिनिसिङले नै सबैलाई तानेको छ। ‘अहिले त धेरैलाई सिकाइ पनि सके। मैले सिकाएका कति महिला त सफल उद्यमी समेत बनिसकेका छन्’ त्यसबेला उनको अनुहारको चमक दोब्बर हुन्छ। 

उनको सीपलाई सम्मान नगर्ने कमै होलान्। उनले २०६४ सालमै नेपालकी अग्रणी महिला उद्यमीका रूपमा राष्ट्रिय सम्मान पाइसकेकी छिन्। 

राष्ट्रिय सम्मान पाउँने बेला उनी हेलिकाेप्टरबाट काठमाडौं पुगिन्। उनलाई पत्यारै लागेको थिएन। देशभरि यतिका उद्यमी होलान्। ‘मुगुमा बसेकाे म जस्ताले कहाँ पाउनु उत्कृष्ट उद्यमी राष्ट्रिय सम्मान?’ तर सम्मान उनैले थापिन्। ‘म त ७५ जिल्लाका उद्यमीलाई उछिनेर प्रथम भएकी रहिछु।’ उनलाई लाग्छ, त्यो जिन्दगीको सबैभन्दा खुशीको क्षण थियो। सँधै हँसिली देखिने उनको अनुहार त्यसदिन बलेको दियो जस्तो थप उज्यालो भयो। हाँस्दाहाँस्दै खुशीका आँसु खसे। यस दुनियाँमा बाहिर हाँसेर भित्र लुकाउने दुःखको महाभारत सुन्दिने स्रोता त नभेटिएलान सायद, तर धनमाया सिंह उत्कृष्ट उद्यमी बन्दाको खुशी सुन्ने स्रोता भने तमाम भेटिन्छन्। उनले राष्ट्रिय सम्मान पाउँदा जिल्लाको नाम उचो बनाएको भनी जिल्लामा पनि सम्मान गरिएको थियो।

उनले पर्यटन तथा उद्योगमन्त्री पम्फा भुसालको हातबाट समेत पुरस्कार थापेको प्रमाणपत्र सुरक्षित राखेकी रहिछिन्।

उनलाई हामीले तपाई के–के बुन्नुहुन्छ भनी सोध्यौं।  ‘कुनै एक आइटम होइन ए–टु–जेड। शीरमा लाउने टोपी, ह्याटदेखि खुट्टाका जुत्ता मोजासम्म, बेडको तन्नादेखि ढोकाको स्वागतम्सम्म,’ उनी भन्छिन्, ‘त्यो पनि फरकफरक डिजाइनका बुन्छु। यति आइटम भनेर औंला भाच्यो भने त औला नै पुग्दैन हजुर।’  

पसलभित्र उनले हातैले बुनेका कम्तिमा पनि ४० देखि ४५ आइटम सजिएका छन्। उनी फुर्तिफार्तीका साथ भन्छिन्, ‘के बनाउँछु भन्दा पनि के चाहिँ बनाउँदिन भन्ने लाग्छ।’

उनले आफ्नो मिहिनेत लागेको कुनैपनि सामान स्टक नरहेको बताइन्। एउटा टोपी छ, ‘रारा’ लेखेको निकै बिक्री हुन्छ। ह्याट टाइपको। रारा लेखेको ह्याट बेचेर  उनले ६ दिनमा २२ हजारसम्म पनि कमाइन। उनलाई एउटा जेन्स स्वेटर बुन्न तीन दिन जति लाग्छ भने लेडिजको लागि चार दिन। पाँच हजारसम्म लिन्छिन्। ग्राहक लोभ नमानी पैसा तिर्छन्।

होजियारी उद्योगको १८ वर्षे अवधिमा उनीसँग अधिकांश मीठा अनुभूति छन्। ‘एकपटक स्कुलका स्वेटर अर्डर लिएर काम गर्दा एकै दिनमा १४ लाख सम्मको कारोबार भयो। त्यस्तै पाँच लाख, १० लाखको कारोबार पनि एकै दिन भए। त्यस वर्ष १० हजार पीस स्वेटर मात्र बिक्री गरे,’ उनले भनिन्, ‘व्यवसाय हो कहिलेकाहीँ तितो अनुभूति पनि संगाल्नुपर्ने रहेछ। एकपटक त्यस्तै भयो। दिनभरि पसल कुर्दा पनि साँझ तरकारी किन्ने रुपैयाँ आएन।’

उनलाई पट्यार लाग्याे भने वाइफाई चलाउँछिन्। युटुब लाेकप्रिय भइसकेकाे छ। जहाँ उनी विभिन्न स्वेटरका डिजाइन पछ्याउँछिन्। युटुबले उनकाे शरीरमा जाँगर उत्पन्न गराउँछ। ‘म  फेसबुकमा च्याट, यताउता कहिले गर्दिन। केवल डिजाइनको लागि वाईफाई चलाउँछु,’ भन्छिन्, ‘जिन्दगीको सबैभन्दा रमाइलो भनेकै नयाँ आइटम हो। नयाँ आइटम देखे भने त रातभर निद्रै लाग्दैन।’

उनी औसत नेपालीले विदेशको राम्रो देश गई कमाउनेभन्दा बढी मुगुमै कमाउँछिन्। केही समय पहिला वर्षमा २८ देखि ४० लाखसम्म कमाइ हुन्थ्यो। तर, देशको संघीय संरचनाले कारोबार अलि कम भएको उनी बताउँछिन्। राम्रा ग्राहक आए भने एकजनाले २० देखि ३० हजार सम्मको सामान खरिद गर्छन्। उनको सामान मुगुमा मात्र होइन, विदेशसम्म पनि पुगिरहेको छ। उनको हातको सीपले देशको नाम विदेशसम्म फैलाएको छ। तर, हाम्रा नेताहरु भने जग हँसाउने काम गरिरहेका छन्। 

चार कक्षादेखि हालसम्म आइपुग्दा आँखा केही कमजोर भएजस्तो लाग्छ। ‘साइनिङवाला धागो छ भने त्यसले आँखा अलि कमजोर बनाउने रहेछ,’ भन्छिन्, ‘पहिला हातले बुन्नेबेला राति चारबजेसम्म बस्थे। अहिले मेसिनले बुन्छु। कहिलेकाहीँ अबेरसम्म बसे पनि धेरैबेर बस्दिन। तर पनि हात खालि गर्न चाहिँ मन लाग्दैन,’ उनले आफ्नो दैनिकी सुनाउँदा रात पर्नैआँटेको थियो।

‘जिल्लादेखि राष्ट्रियस्तरसम्म मान सम्मान पाइयो। यही त हो जिन्दगीको सबैभन्दा ठूलो खुशी। घर–व्यवहार चलेकै छ। ओछ्यान लगाएर सुत्न मिल्ने जति प्रमाणपत्र छन्। सन्तुष्टी यसैमा छ,’ धनमाया सिंहले अन्तिम वाक्य बोली भ्याउँदा हामी विदाइको हात हल्लाउने तयारी गरिरहेका थियौं।

 यो पनि हेर्नुहोस् 

प्रकाशित मिति: : 2020-03-05 05:56:00

प्रतिकृया दिनुहोस्