इतिहास बाँङ्गिने 'तुङ्गनाथ' चिन्ता 

मुगु डायरी –२ ​

इतिहास बाँङ्गिने 'तुङ्गनाथ' चिन्ता 
  • म आफैँ पनि सबै विषयको जानकार होइन। कति लिखित दस्तावेज र तिनको अध्ययनबाट हामीले थाहा पाएका छौं भने कति हाम्रा पुर्खाले सुनाएको आधारमा बोलिरहेका छौं। हाम्रो अनुभवले पनि केही भूमिका खेलेको छ।'

  • सिंजाका मान्छे भन्ने बित्तिकै सबै जानेका/बुझेका हुन्छन् भन्ने बाहिरिया मानसिकता र कसैले सोध्ने बित्तिकै अनुमानकै आधारमा भएपनि बोलिहाल्ने सिंजाली प्रवृतिका कारण अहिले सञ्चार माध्यममा आएका सबै कुरा तथ्यगत हुन सकेका छैनन् ।

 मुगु डायरी –२

घडीले दिउँसोको चार बजाउँनै लागेको थियो, गाडीले गोठीजिउलाको रारा टप होटल अगाडि झारीदियो। हामी  नचिनिने गरी धुलाम्य भएका थियौं। तर, चिसोले  नुहाउने आँटै आएन। 

फोहोर शरीरको अनुभूतिसँगै जुम्लीमाथि बनाइएको एक नकरात्मक संकथन सिनेमाको रिलझै दिमाखमा घुम्न थाल्यो। संकथनले भन्छ जुम्ली फोहोरी हुन्छन्।

कारणको खोजी गर्दा यस्तो पाइन्छ। कार्तिक महिनादेखि नै सुरु हुने हिमाली चिसोबाट बच्न जुम्लीहरु सल्लाका दाउराको आगो ताप्ने गर्छन्। अरु दाउराभन्दा बढी धुँवा हुने सल्लाको दाउराले अधिकांश जुम्ली मैला भए। कडापन भएको पानीले नुहाउँदा न कपडा सफा भए, न जुम्ली उज्याला। 

तिनै घुर्मैला जुम्ली व्यापारको शिलशिलामा भोट, मधेश सबैतिर देखिन थाले।  मैला जुम्ली देखेपछि राज्य संयन्त्रले नै जुम्ली र फोहोर उस्तै हुन भन्ने संकथन निर्माण गर्‍यो। परिणामत: जुम्ला बाहिरको कोही फोहोरी भएपनि उसलाई अपमानको विम्बस्वरुप जुम्ली भन्न थालियो।  

समय र परिस्थिति आनका तान फरक भैसक्यो। तैपनि भन्नेको मुख कस्ले थुन्ने र ? भन्नेहरू भनिहाल्छन्- जुम्लीझैं गन्हायो।

यो संकथनले हामी जुम्लीलाई  बारम्बार घोचि रहन्छ, सियोलेझैं, च्वास्स, च्वास्स। यो घोचाइ अझ बढी महशुस भयो गोठीजिउलामा नुहाउन नसक्दा। 

पानीको अलिअलि पुछपाछले हामी फुस्रा भयौं। त्यहीबेला मेरो नाम लिएर कसैले बोलायो। उनी थिए सिंजा लुड्कुका दिपेन्द्र न्यौपाने। मेरा मिल्ने साथी। धेरैपछि  हाम्रो देखभेट भएको थियो। पत्रकारिता र सहकारीमा काम गर्दै गरेका उनको गोठीजिउलामा स्टेशनरी पसल छ। 

धेरै पछि भेटिएका साथी कुरोको उद्घाटन गर्दै उनले भने, ‘हिजोआज जसले जस्तो लेख्दा पनि सिंजाको इतिहास भएको छ। यसले इतिहास बाँङ्गो हुने सम्भावना रहन्छ। अलि लामो समय बसेर यहाँको वास्तविक कुरा बाहिर ल्याउन पर्छ। जसको लागि आवश्यक स्रोत सिंजाको इतिहासबारे जानकार तुङ्गनाथ उपाध्याय यतै हुनुहुन्छ।’ 

‘बाँकि कुरा पसलसतिरै गरौंला’ उनी निम्तो दिएर गए। 

गाडीले झ्याक्नु झ्याकेको थियो। शरीरमा आरामभन्दा दुखाइ बढी। लागिरहेछ, म यस्तो के भइरहेको छु? महिनौ हिडेर यात्रा गर्ने लेखक, पत्रकारहरु धेरै छन्। भैरव रिसाल, तीर्थबहादुर श्रेष्ठ, मोहन मैनाली लगायत लेखक/ पत्रकारहरुले महिनौं हिडेर लेखेका छन्। हाम्रै अघिल्ला पुर्खाले नेपाल (काठमाडौं) पुग्न एक महिना दिन पैदल हिडेर यात्रा गरे। छ महिना लगातार काँधमा गलैंचा राखेर चोक–चोक, गल्ली–गल्ली चहारेका हुन् र आज पनि चाहर्दैछन्। म भने जाबो गाडी चढेकोमा हल्लिचिल्ल गरिरहेको छु। एकाएक लाज लागेर आयो।

रारा टपमा थिलथिलो शरीरलाई एकछिन बिसाएपछि मुख्य बजारमा रहेको दिपेन्द्रको स्टेशनरी पसलतिर लागियो । पसल अगाडि बसेर चिया पिउँदै थियौँ, तुङ्गनाथ उपाध्यायसँग भेट भयो। हिउँद लागेपछि जुम्ला नबस्ने उपाध्यायसँगको यो भेट हाम्रो लागि मिठो संयोग थियो।

मैले आफूलाई बासु सरको विद्यार्थीका रूपमा चिनाएँ । यसो गर्दा आत्मीयता बढ्ला भन्ने मलाई लागिरहेको थियो। बासु उपाध्याय उनका छोरा हुन्। हाल उनी ठमेलको सरस्वती क्याम्पसमा उपप्राध्यापक छन्। उनी ‘लामा–विष्णु सांस्कृतिक समन्वयका प्रतीक’ पुस्तकका लेखक हुन्। जुन पुस्तक जुम्लीको इतिहासलाई जस्ताको तस्तै उतार्ने प्रयास गरेको पहिलो पुस्तक हो।

मलाई सँधै पढ्ने सामग्री संकलन गरिदिने हुनाले मेरा लागि उनी आदरणीय छन्। उनले मलाई औपचारिक रूपमा कक्षाकोठामा पढाएका होइनन्, तर खुला आकाशमुनिको कक्षामा उनले जीवनका धेरै पाठ पढाएका छन्। यस अर्थमा उनी मेरा आदरणीय गुरू हुन्। त्यसैले कुनै संकोच नमानी उनको विद्यार्थी हुँ भनेँ।

पुष्पा र मेरो परिचयले तुङ्गनाथ उपाध्याय प्रेमिल भएका थिए। लगत्तै एक देउडा सुनाइ हाले।

पाटनका पल्ला छोडा, भेडिले भ्या गर्‍यो।

हित्त मिल्यो चित्त मिल्यो, जातले क्या गर्‍यो।।

उनी देउडाका पारखी हुन्। एक सशक्त देउडा खेलाडी अर्थात् देउडिया। यो विषयमा उनलाई नै पात्र बनाएर यसअघि लेखिसकेको छु। 

त्यो थाहा पाएपछि दिपेन्द्रजीको मोबाइलबाट मलाई फोन गरेका थिए, ‘म साह्रै आभारी छु, बाबु। तिमीले मलाई चिन्यौ। तिमी  असल बन्नु र सधै कर्तव्यनिष्ठ रहनू। सबैले सुनाउँछन्, मेरो बारेमा यस्तो लेखेछ भनेर। एउटा उखान छ, ‘जान्याकन शालिग्राम, नजान्या पत्थर’। मलाई तिमीले शालिग्राम सम्झ्यौ। अरुका लागि म पत्थर हुँ कि के हुँ थाहा छैन।’ फोनमा यस्तै भनेका थिए। त्यो दिनभरी मैल उनले बोलेका वाक्यहरु सम्झिरहेँ।  जसले मलाई उत्साह थप्ने काम गर्‍यो।

म जस्ताले उनीबाट सिक्नुपर्ने धेरै कुरा छन्। उनी हाम्रो पुस्ताकै सन्दर्भ सामग्री हुन्। उनलाई सन्दर्भ मान्नेहरु नामी भए। सत्यमोहन जोशीको टिमले उनलाई मुख्य स्रोत मानेर पाँचवटा पुस्तक तयार पार्‍यो। १८४६ पछि २००७ सालसम्म कुनै लिखत नभएको कर्णाली त्यसबेला राज्यको नजरमा पर्‍यो। कर्णालीबारे केही थाहा नपाएकाहरुले थाहा पाए। नेपालको इतिहासमा एकैपटक पाँचवटा किताबले संयुक्त रुपमा मदन पुरस्कार पाए भने सत्यमोहन जोशीको नाममा कहिले भंग नहुने कीर्तिमान बन्यो- तीनपटक मदन पुरस्कार पाउने एकमात्र श्रष्टा।

तुङ्गनाथलाई नै स्रोत व्यक्ति मानेर एकजना विदेशीले धामीझाँक्रीबारे विद्यावारिधि नै गरे। उनी त्यसबेला ३९ जना ठूला ठूला धामीसँग बसेका थिए। बझाँङको चैनपुरसम्म पुगेका थिए। त्यो अनुसन्धान पूरा गर्न छ वर्ष लाग्यो।  उनले ती विदेशीको नाम बिर्सेछन्। जो जर्मन नागरिक भएको कुरा मात्र याद छ उनलाई।

जापानको क्योटो विश्वविद्यायलयका एकजना प्राध्यापक दुई वर्ष उनको घरमा बसेर सिंजा क्षेत्रको जनजीवनको विषयमा अनुसन्धान गरे। उनको गाइडको काम पनि तुङ्गनाथले नै गरेका थिए। फ्रान्सेली एउटा टोली पनि उनको सहयोग माग्न सिंजा पुगेको थियो। त्यो टोलीले दासदासीको विषयमा अध्ययन गरेको थियो।

सबैका लागि स्रोत व्यक्ति भएका उनी साँच्चीकै हाम्रा शालिग्राम थिए। उनले २०२७ देखि २०४६ सम्मको झण्डै १९ वर्ष त अनुसन्धानमा मात्र समय लगाएका छन्। यो कुनै चानचुने अवधि होइन। तर, पनि उनले आफ्नो नाममा केही प्रकाशन गर्न सकेका छैनन्। उनी केही प्रकाशन गर्न नसकेकोमा पश्चाताप गर्दै भन्छन्, ‘मरेर जाँदा केही छाडेर जानु राम्रो हो। बाबुहरुले यो विषयमा सोच्नू।’  

छोटो समय। चाहेजति सूचना पाउन मुस्किल। त्यसमाथि कनकासुन्दरी गाउँपालिकाले आयोजना गर्न लागेको सिंजा पर्यटन तथा सांस्कृतिक महोत्सव। जसको निम्ति उनी एक विशेष सामग्री प्रकाशनको तयारीमा थिए। तर, पनि हामीसँग केही घण्टाको भलाकुसारी गर्न तयार भए। यसैमा हामीले आफूलाई धन्य ठान्यौं।

कुराकानीको सुरुमै देउडा हाले:

गैरा डोटी, तेच्छो बाटो, पाउडन्डी सुकालो।

निका छन् क्या आला बाला? गाथ छ क्या सुकालो??

प्रस्तुत देउडाबाटै हाम्रो हाल खबर सोधिएको थियो। कठै! टिठलाग्दो हाम्रो पुस्ता। हामीले कहिल्यै हाम्रो भाषा र साहित्यबारे केही बुझ्ने कोसिससम्म नगर्दा देउडाबाटै दिनपर्ने त्यसको जवाफ दिन सकेनौं।  देउडा हतारको साहित्य पनि हो। जवाफ उत्तिखेरै दिनुपर्छ। देउडा सास फेरेजस्तै गरिने लगातारको  कुराकानी हो। तर, यसले दर्शन बोकेको हुन्छ।

एकताका एउटा घरमा आमा, छोरा थिए। छोराको नाम मनुलाल थियो। उनीहरुको घरमा एउटा गोठालो पनि थियो। एक दिन गोठालो भागेर जान्छ। त्यही बेला आमा छोराको सम्बाद हुन्छ, देउडामा।

आमाः  उट्ठैनैक्या मनुलाल, थला घाम लागिगो।

          भैंसी किला बानिकन, गोठालो भगिगो।।

छोराः असारको पुनुवा छ क्या, पख्नुस् न उठुँला।।

         भागेपछि बाइगो बाइगो, भेटाया कुटुला।।

आमा खोजतलासको लागि आत्तिएकी छन्। छोरो कामको चाप नभएकाले हतार नगरी सुतिरहन चाहन्छ। यसले सामाजिक यथार्तता प्रस्तुत गरेको छ। यस्ता कयौं सम्बाद भएका छन्, देउडामा। उनले हामीलाई यी सुनाउन  पनि भ्याएका थिए। 

सिंजा साम्राज्यको इतिहास भन्छ, यसको स्थापना ११औं शताब्दीमा भयो। नागराजा त्यसको पहिलो महासामन्त थिए। महाकाली नदीदेखि त्रिशुली नदीसम्मको पर्वतीय खण्ड, तिब्बतको खारी प्रान्त र भारतीय पहाडी भूभागको काश्मिरदेखि कुमाउसम्म सिमा विस्तारित थियो। त्योभन्दा पहिलाका आधिकारिक दस्तावेजहरु भेटिएका छैनन्। भाषाविद् बालकृष्ण पोखरेल भन्छन्  ‘सिंजा खस भाषाको उद्गम थलो हो।’ यसलाई उनले पर्याप्त प्रमाणको आधारमा पुष्टि गरेका छन्। उनले फेला पारेको सबैभन्दा पहिलो १०३७ वर्ष पुरानो शिलालेख र त्यसपछिका ताम्रपत्र, लिखतहरु त्यही समय आसपासका छन्। 

तर, भाषाको विकास एक-दुई वर्ष वा एक दुई शताब्दीले मात्र सम्भव छैन। त्यसैले नागराजले स्थापाना गरेको साम्राज्यभन्दा पहिला पनि सिंजामा राज्यको अस्तित्व थियो भन्ने अनुमान लगाउन बल पुग्छ। यो थप अध्ययन अनुसन्धानको विषय हो। यद्यपि, यसबारे तथ्यप्रमाण भने भेटिएका छैनन्। 

सिंजा सभ्यतामा कायम कला, साहित्य, संस्कृति, संस्कार आदिका बारेमा जान्न बुझ्न एक डेढ घण्टाको बसाइबाट सम्भव नै हुदैन। जबकि, सत्यमोहन जोशीको टोलीले ५० दिन बसेर गरेको ऐतिहासिक काम त पूर्ण थिएन। त्यसैले हामी उनीसँग बसेर सबै लिन सक्ने थिएनौं। हामी समान्य छलफल बाहेक अगाडि बढ्न सकेनौं। 

छुट्टिने बेला भैसकेको थियो। अझ उनी गाँठी कुरा निकाल्दै चिन्ता व्यक्त गरिरहेका थिए, ‘सिंजाका मान्छे भन्ने बित्तिकै सबै जानेका/बुझेका हुन्छन् भन्ने बाहिरिया मानसिकता र कसैले सोध्ने बित्तिकै अनुमानकै आधारमा भएपनि बोलिहाल्ने सिंजाली प्रवृतिका कारण अहिले सञ्चार माध्यममा आएका सबै कुरा तथ्यगत हुन सकेका छैनन् ।’ उनले अगाडि थपे, ‘म आफैँ पनि सबै विषयको जानकार होइन। कति लिखित दस्तावेज र तिनको अध्ययनबाट हामीले थाहा पाएका छौं भने कति हाम्रा पुर्खाले सुनाएको आधारमा बोलिरहेका छौं। हाम्रो अनुभवले पनि केही भूमिका खेलेको छ।'

उनले कुराको बिट मार्न लामो श्वास लिएर भने, ‘अनुमानको आधारमा सञ्चार माध्यममा सम्प्रेषित सामग्रीले इतिहास बाङ्गो हुने सम्भावना रहन्छ।’

उनको यो सम्भावित चिन्ताले हामीलाई सोचमग्न बनायो। कतै सिंजा सभ्यतालाई बाहिर ल्याउने क्रममा इतिहास बङ्ग्याउने काम त भैरहेको छैन?  

यदि यस्तो हो भने फेरि पनि इतिहास बलियाहरूको घोडा हुन्छ, जसले चाबुक लगायो उसकै हिहि हुने। त्यस्तो नहुनका लागि यसले व्यवस्थित अध्ययनको माग मात्र गरिरहेको छैन। हालसम्म भएका अध्ययनहरुको  आधिकारिकता जाँच र ती सामग्रीको शीघ्र उपलब्धताको खाँचो पनि औल्याइरहेको छ।

 ढिलो त भैसक्यो तैपनि अझै समय निस्किसकेको चाँहि छैन। 


यो पनि हेर्नुहोस्

‘यदि कुनै दिन 'भाइ पेटौंदो छ' भन्ने कुराको आश मर्‍याे भने निर्मलाकी आमाको विकल्प खोजिने छ। त्यही निहुले उनी बहिस्कृत हुनेछिन्। उनलाई हेर्ने समाजको नजर फेरिने छ। निर्मलाको भाइ नहुनुमा दोष उनको मात्रै हुने छ। यो कुनै विज्ञान होइन, विज्ञानमाथिको ठाडो चुनौति हो।’

  मुगु डायरी –१ 

प्रकाशित मिति: Jan 10, 2020 13:44:45

प्रतिक्रिया दिनुहोस

सबै