'भाइ पेटौंदो छ'

मुगु डायरी –१

'भाइ पेटौंदो छ'

‘यदि कुनै दिन 'भाइ पेटौंदो छ' भन्ने कुराको आश मर्‍याे भने निर्मलाकी आमाको विकल्प खोजिने छ। त्यही निहुले उनी बहिस्कृत हुनेछिन्। उनलाई हेर्ने समाजको नजर फेरिने छ। निर्मलाको भाइ नहुनुमा दोष उनको मात्रै हुने छ। यो कुनै विज्ञान होइन, विज्ञानमाथिको ठाडो चुनौति हो।’

  मुगु डायरी –१ 
 

कार्तिक महिनाको आगमनसँगै हामी जुम्ला सदरमुकामबाट मुगु जाँदै थियौं। पहिलो दिनको यात्रा गोठी जिउलासम्मको लागि तय थियो। हामी अर्थात् कवि हेमन्त विवश, उनकी श्रीमती लक्ष्मी, पुष्पा र म। विदाको समय घुमफिरको लागि पनि उपयुक्त। यो यात्रा फरक होस् भन्ने अपेक्षा थियो, भयो पनि। 

हामी हिँड्नुभन्दा केही दिन अघिसम्म खलङ्गामा धानका बाला जिउलाभरी लहलह गर्दै थिए। तर, तीन दिनको समय भित्रै एकाएक किसानको भकारीसम्म पुगे। साँझ बिहानको हावामा हावासँगै बतासिने खेत-खल्यानका घाँसका मेला पनि नांगै भए। 

हावासँग घाँसको लुकामारी सकिएको थियो। जुम्लीहरुको आम्दानीको स्रोत मानिने स्याउका बगैचा पनि सन्तान गुमाएकी आमाका काखजस्ता रित्ता देखिन्थे। यी सबै कुरा यहाँ वर्षमा एकपटक भइराख्छन्। तर यहाँ अर्काे सदाबाहार भइरहने कुरा छ। त्यो हो, हिमा र तिला नदी वारिपारिका जिउलाको स्वरुप। यिनीहरु जहिलै मस्त सुतेका छन्। यिनका पैतालामुुनि भएर बगेका दुबै नदी अनुशासित छन् क्यारे! त्यसरी सुतेका जिउलालाई चिथोरेर आफूसँगै लैजानु त परको कुरा कुदृष्टिले हेरेकासम्म छैनन्। प्रकृतिका यी अनौठा दृश्य कुनै यात्रामा यात्रारत् यात्रुका लागि खास विषय बन्न सक्छन्। तसर्थ हाम्रा लागि पनि यी सबै विषय खास बने। हामी यिनैसँग साउती मार्दै अघि बढेका थियौं।   

बिहानको सात बजे खलंगादेखि हिँडेका हामीलाई दिनको करिब १२ बजे गाडीले हिमा र तिलाको दोभान अवस्थित नाग्म पुर्‍यायो। जहाँ खाना खाएका थियौं। यो कसैको गन्तव्य स्थल हो भने कसैको लागि प्रस्थान विन्दु पनि।

२०६३ सालको चैतमा कर्णाली राजमार्गको औपचारिक उद्घाटन भयो। त्यसअघि जुम्लाको जुनसुकै स्थानबाट पनि एक दिन हिडेर सदरमुकाम पुग्न सकिने जिल्लाको परिचय थियो। आज पनि हिड्नेका लागि उही हो। तर, पछिल्लो समय यो परिचयलाई 'ब्रेक' लगाउने काम कर्णाली राजमार्गको नाग्म–गमगडी खण्डले गर्‍याे। विशेषगरी सिञ्जा भेगको लागि।

जुम्ला सदरमुकामबाट सिञ्जाको गाडी छुट्ने ठाउँ गोठी जिउलासम्म पुग्न गाडीलाई कम्तीमा तीन घण्टाको बाटो हो र तर कम्तिमा पनि छ घण्टा लाग्छ। कहिलेकाहीँ त्योभन्दा बढी पनि। चानचुन ७० किलोमिटरको कच्ची बाटो यति पट्यारलाग्दो छ पत्याउनै मुस्किल, तर पनि पत्याउनै पर्छ।

२०६३ सालमा उद्घाटन भएको कर्णाली राजमार्ग जब कालिकोटको नाग्म पार गरेर सिञ्जातिर लाग्छ। अनि धुलोले निषेधित गरिदिन्छ, यात्रुलाई गाडी बाहिरको दृश्य हेर्न। जब यो बाटोमा जोकोही हिड्छ अनि उसलाई केही समय अघि जुम्ला पुगेका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीसँग पत्रकारहरुले गरेको कुराकानीको याद आउँछ। पत्रकारहरुले उनलाई  सोधेका थिए ‘मुख्यमन्त्रीज्यू सिञ्जा हुँदै मुगु वा रारासम्म जानुभएको छ?’ शाहीले भने, ‘दशौंपटक गएको छुँ’। ‘अनि बाटो कस्तो छ त?’ जवाफ, ‘जस्तो थियो, त्यस्तै छ।’ मुख्मन्त्रीको उक्त जवाफले नेपाली भाषा, संस्कृति, संस्कार र सभ्यताको उद्गमस्थल सिञ्जालाई उपेक्षा गरेको जो कोहीले पनि सजिलै अनुमान लगाउन सक्छ। जुन ठाउँको कला संस्कृति, भाषा र सभ्यताको उपेक्षा हुन्छ अनि कसरी बन्छ त सिगों देशको पहिचान ? अपूर्ण पहिचान हुनेको जीवन कसरी सार्थक हुन्छ होला ? यिनै प्रश्न तेर्सिएका छन् राज्य चलाउनेतिर। 

‘कहाँबाट आयौ? रारालिहीबाट।, किन गएकी? बजैलाई भेट्न। के लिएर गयौ बजैलाई भेट्न? चाउचाउ अनि बिस्कुट।, रुपियाँ कसले दिएको नि? मेरा आम्मै(आफ्नै) हुन्। अस्ति स्कुल दियाछिया।, अनि बजैले के दिनुभयो त? केही दिनु भएन। माया दिनु भयो।, अब फेरि कहिले जाने? भोलि न भाइटिका ती।’ 

हामी चढेको गाडी एकदम झुर थियो। हेर्दै बिरामीजस्तो गाडी धौलापानीमा बिग्रियो। जसलाई स्टार्ट गर्न एक घन्टा लाग्यो। कछुवाको गतिमा विस्तारै नाग्म पुगेर रोकियो। नाग्ममा केही यात्रु ओर्लिए, केही नयाँ थपिए। थपिनेमा एकजना महिला पनि थिइन्। आफ्ना लालाबालासहित। अघिसम्म भौगोलिक सुन्दरता धरी त्यही सुन्दरताभित्र निसासिएको विकासतिर साउती गरीरहेका हाम्रो ध्यान अब उनीहरुमा गयो। उनीहरू सबैभन्दा अन्तिम सिटमा बसेका थिए। तर, उनीहरूको बसाइ कम उफ्राइ बढी भयो। किनकि उनीहरूले गाडीको यात्रा सुरु गरेपछि नै कच्चिबाटो पनि सुरु भएको थियो। हामी नजिक बसेकी लक्ष्मी भाउजुलगायतका अधिकांश यात्रुहरु गाडीको उफ्राइले आतंकित भएर ‘लौन मरियो’ भन्दै माथिको भित्तामा ठोक्किदा ती महिलासँगै गाडीमा बसेकी नानी भने हाँसिहेकी थिइन्। जो उनकै छोरी हुन्। साथमा अर्की एक सात आठ वर्षकी र काखमा त्यस्तै ६,७ महिनासम्मका अरु दुई छोरी पनि छन्। गाडीले सातो लिने गरी उफार्दा हाँस्ने नानी उनी बसेको अघिल्लो सिटमा छिन्। उनी सन्तानमध्येकी साइली छोरी। सबैभन्दा टाँठीजस्ती देखिने हाम्रो नजर उनीतिर पर्यो।  

हामीले उनको परिचय माग्यौं। नाम निर्मला। त्यसो त उनको हसाइँमै देखिन्थ्यो। पढाइ दुई कक्षा। सिञ्जा गाउँपालिका –४ गोरागाउँकी उनले गोरा गाउँ भन्नेवित्तिकै हामीले लेखक रामसिंह रावल सम्झियौं। उनको घर पनि त्यहीँ हो। लामो समय लेखनकर्ममा लागेका उनी हाल स्याउखेती गरिरहेका छन्। यो वर्ष उनको मोर्केटिङ स्ट्रयाटेजीले जुम्ली स्याउ काठमाडौंमा हस्तक्षेपकारी ब्राण्डको रुपमा स्थापित भयो।

निर्मला त्यही गाउँकी भएको हुँदा झन् आत्मियता बढ्यो। जसले गाडीको उफ्राइले ठोक्किदा दुखेको दुखाई कम भैरहेको थियो। बाउबाजेहरु कामबाट निकै थाकेर आएको दिन एक छिन भएपनि केटाकेटीलाई कोलौनो(काखमा) राखेपछि आफ्नो थकाई उनीहरुमा सर्छ भन्थे। त्यसो हुँदा उनीहरु पनि आरामले सुत्ने अनि आफूलाई पनि आराम हुन्छ भन्दै केटाकेटी कोलामा राख्थे। मलाई पनि निर्मलासँग त्यस्तै महशुस भयो।

उनी रारालिहीमा रहेकी मामाघरकी हजुरआमालाई भेटेर फर्किदै रहिछन्। हाम्रा हरेक प्रश्नको उत्तर उनी निकै रोचक र मिठो गरी दिन्छिन्। यसैपनि ससाना केटाकेटीसँगको कुराकानी रोचक नै हुन्छ। त्यसमा थप रोचक लाग्ने उनको बोली, जवाफ र निडरपना। यसले हामीलाई उनीसँग नजिकिन थप बल पुर्‍यायो।

उनीसँगको सुरूवाती सम्वाद थियो, ‘कहाँबाट आयौ ? रारालिहीबाट।, किन गएकी ? बज्यैलाई भेट्न।, के लिएर गयौ बज्यैलाई भेट्न ? चाउचाउ अनि बिस्कुट।, रुपियाँ कसले दिएको नि ? मेरा आम्मै(आफ्नै) हुन्। अस्ति स्कुल दियाछिया।, अनि बज्यैले के दिनुभयो त ? केही दिनु भएन। माया दिनु भयो।, अब फेरी कहिले जाने ? भोलि न भाइटिका ती।’ 

उनका हरेक जवाफले आफ्नोपन के हो भन्ने देखाउँथ्यो। पछिल्लो समय सरकारले उपलब्ध गराउँदै आएको दिवाखाजा स्कुलहरुले नदिएर महिनाको अन्तिम दिन वा रकम निकासा भएपछि अभिभावक बोलाएर रुपियाँ हात लगाइदिने गरेका छन्। छोरीहरुले त्यसको अतिरिक्त वर्षको एकपल्ट केही रकम छात्रवृत्ति पनि पाइरहेका छन्। निर्मला त्यही रुपियाँ बचाएर हजुरआमालाई भेट्न गएकी थिइन्। उनले देखाएको आत्मियताले भावुक बनायो। नेपाली समाजको पारिवारिक संरचनाको महत्त्व झल्कायो। 

सानी मान्छे। गोरो अनुहार। पुक्क परेका गाला र चम्किला आँखा। धुलौटे कपाल। सिसाको गिलासमा राखेको फिक्का चिया जस्तो देखिने सिउरे घरबुनका कपडा लगाएकी उनी हामीलाई तानिरहन्छिन्। उनको ओठमा सिन्दुरमा पानी मिसाएर बनाएको लिपिस्टिक थियो। त्यो आफूले नक्कल पार्नलाई लगाएको बताउने उनलाई हामीले जिस्काउँदै भनेका थियौं, ‘नक्कल त बिहे गरेकाले पाे पार्छन् त ?,’ ‘बिहे गरेकाले त सिन्दुर पो लाउँछन् त’, उनी मज्जाको जवाफ दिन्छिन्।

हाम्रा सबै प्रश्नको उत्तर दिन तयार निर्मलीलाई संवादकै क्रममा साेध्याैं, ‘घरमा को को छन् ? ड्याडी मात्तै छुन्।, अरु कोही छैनन् ? दिदी छ। बहिनी छ। एउटा दिदी मरिग्यै।, के भएर ? खै थाहा छैन।, अनि भाइ छैन ?, भाइ पेटौंदो (आमाकाे गर्भमा) छ।’ यति बेलासम्म चुप लागेकी उनकी आमालाई अब आपत पर्‍याे। उनले रोकिन्, ‘छुपुक्क हो(चुप लाग), कस्ती भैहोली यो।’ 

बल्ल थाहा भयो अन्तिम सिटमा बसेकी उनकी आमा दुई जिउकी छिन् भन्ने कुरा। उनलाई गाडीको यात्रा कति सकसपूर्ण भयो होला अनि महशुस गर्‍याैं। निर्मलाले सुरुदेखि आमालाई छिनछिन्मा हेर्दै थिइन्। जब आफ्नो छेउको मान्छे ओर्लिए, आमालाई आफू बसेको सिटमा बस्न भनिन्। आमालाई आफूसँगै बसालिन्।  

दुई कक्षामा पढ्ने उनलाई पढ्ने कतिवटा किताब छन्? केही थाहा छैन। स्कुलमा पढाइ हुने विषयको नाम पनि थाहा छैन। तर, उनैले वर्तमान समाजको यथार्थ चित्रण गरिहेकी छिन्। उनले नक्कल पार्न लगाएको सिन्दुरको लिपिस्टिक आधुनिकीकरणको भद्दा प्रभाव थियो। बिहे गरेकाले सिन्दुर लगाउँछन् भन्नु पुरुषसत्ताले बच्चैदेखि कसरी छोरीहरुको मानसिकता निर्माण गरिरहेको छ, भन्ने कुरा देखाइरहेको थियो। 

उनकी दिदी किन मरिन् थाहा छैन। उनकी आमाले आँसु बगाउँलिन् भन्ने लागेर खोतल्न लागिएन। तर, आमाको काखमा रहेकी सानी नानी र कोखमा (पेटौंदो) भएको निर्मलाको भाइ हेरेर सहजै अनुमान लगाउन मद्दत मिलेको थियो कारण के हो भन्ने!

आमाको पेटौंदो निर्मलाको भाइ भए नभएको उनीहरुले गर्भ परीक्षण गराएका छैनन्, सायद। पुरुषसत्तालाई निरन्तरता दिन उनको परिवारले छोरो चाहिरहेको छ। तसर्थ छोरोको प्रतिक्षामा निर्मलाकी आमा केवल बच्चा जन्माउने मेसिनको भूमिकामा देखिन्छिन्। उनको कोखबाट अहिलेसम्म छोरो भएको छैन। छोराकै लागि उनी बारम्बार पेटौंदो बच्चा हुर्काइरहेकी छिन्। 

‘घरमा को को छन्? ड्याडी मात्तै छुन्।, अरु कोही छैनन्? दिदी छ। बहिनी छ। एउटा दिदी मरिग्यै।, के भएर? खै थाहा छैन।, अनि भाइ छैन?, भाइ पेटौंदो (आमाकाे गर्भमा) छ।’ यति बेलासम्म चुप लागेकी उनकी आमालाई अब आपत पर्‍याे। उनले रोकिन्, ‘छुपुक्क हो(चुप लाग), कस्ती भैहोली यो।’ 

त्यो क्रम त्यतिबेलासम्म चलिरहने छ, जतिबेला उनको पेटबाट निर्मलाको भाइ जन्मिने छैन। यदि कुनै दिन 'भाइ पेटौंदो छ' भन्ने कुराको आश मर्‍याे भने निर्मलाकी आमाको विकल्प खोजिने छ। त्यही निहुले उनी बहिस्कृत हुनेछिन्। उनलाई हेर्ने समाजको नजर फेरिने छ। निर्मलाको भाइ नहुनुमा दोष उनको मात्रै हुने छ। यो कुनै विज्ञान होइन, विज्ञानमाथिको ठाडो चुनौति हो। 

गाडीले लछार्दै आचार्यलिही पुर्‍यायो। जहाँ निर्मला र उनका छोरी झरे। झर्ने बेला निर्मलासँग फोटो खिच्न मोवाइलको 'क्यामरा अन' गरेको थिएँ। गाडीको उफ्राइले निर्मलालाई ढोकानेर पुर्‍यायो। अनि त्यहीँबाट उनले बिदाइका हात हल्लाइन्। गाउँको बाटो लागेकी निर्मला धितालिहीको पुलसम्म पुगुन्जेल हामीले आँखा तानीतानी हेरिरह्यौं। सिंगो समाजको चित्र प्रस्तुत गर्ने प्यारी निर्मला तिमीसँग कुरा गर्ने धोको अझै पनि बाँकि नै छ। म त्यसैको प्रतिक्षा गरिरहने छु। ‘आई मिस यू निर्मला, आई मिस यू अलवेज।’

प्रकाशित मिति: Dec 31, 2019 09:46:46

प्रतिक्रिया दिनुहोस

सबै