मुगुका हिरा अर्थात् हिरा बिजुली

मुगु डायरी -४

मुगुका हिरा अर्थात् हिरा बिजुली

मुगु डायरी -४

‘तपाईंले थिएटरमा करणाली दख्खिन बग्दो छ’ हेर्नुभयो ? छैन भने केही बिरिएको छैन। गुरुकुलको युट्युव च्यानलमा गएर सिधै वा डाउनलोड गरेर हेर्न सक्नु हुन्छ। जसले नेपाली रंगमञ्चमा दुईहजार पाँच सयदेखि तीन हजारसम्म नयाँ दर्शक थपेको थियो। त्यहाँ एउटा कालो वर्णको ख्याउटे पात्र छ। जो प्रशासन कार्यालयको तल्लो दर्जाको कर्मचारी हो। तर, ऊ ज्यादै महत्त्वपूर्ण भूमिकामा छ।

कालो ? 

हो नि, कालो। 

अचेल बहुराष्ट्रिय कम्पनीले कालो हुनु संसारकै कुरुप हुनु हो भन्ने संकथनको निर्माण गरेका छन्। अब राम्रो होउ भनेर दिमाग भुट्दै उपाय सुझाएका छन्। अर्थात फेयर एन्ड लब्ली लगाऊ, फेयर एन्ड हेन्डसम लगाऊ वा जेसुकै लगाऊ। तर, गोरो बन। अरु उम्ता (धेरै)का बासनादार माल उत्पादन गरेका छन्। 

आज हामी तपाईंलाई बहुराष्ट्रिय कम्पनीको संकथनले कालो वा कुरुप वर्णवाला मान्छे भित्रको चम्किलो कथा बीएल नेपाली सेवामा प्रस्तुत गर्दैछौं। तपाईंले देखेका वा अब हेरेपछि देखिने कालो वर्णका पात्र हुन् मुगुका हिरा बिजुली नेपाली। जसको नाम करणाली आर्ट सेन्टर हुँदै थिएटरमा गएर ठोकिन्छ। 

‘हिरा बिजुली नेपाली, चियरम्यान अफ करणाली आर्ट सेन्टर’ मुगु। वा डरेक्टर अफ ‘गर्भ छिटा,’ ‘पम्फा फूल’ आदि।

उनै हिरा बिजुलीसँग कार्तिक ४ गते चिसो मुगु बजारमा न्यानो भलाकुसारी हुन्छ। ‘हिड्डा हिड्डा घो (हिड्दा हिड्दा बाटो) लाग्छ, बस्दाबस्दै माया’। एक दुई पटकको फेसबुके छलफल र एकपटकको सानो भेटले माया लाग्ने भैसकेको थियो। मुगुमा चिनेका कोही थिएनन्। तर, एकजना त छ नि मेरो भन्ने लागेको थियो। माया लाग्ने भइसकेकाले हिड्नुभन्दा अगाडि हामी आउँदैछौं भनेको थिएँ। जवाफमा उनले पनि फलोअप गरिरहेका थिए। मुगुतिरको ‘घो’ (बाटो) लागिसकेको थियो। 

साढे नौ बजे हामी मुगु बसपार्क नजिक रहेको ‘करणाली आर्ट सेन्टर’मा छिर्‍यौं। सानो चिटिक्क परेको कोठा। अगाडि कालो पर्दा। भित्तामा गतिविधि देखिने गरी राखिएका केही तस्बिर र नाट्यसामग्री। हेर्दा थिएटर जस्तो लाग्ने, थिएटरको सानो रुप। साइडमा एउटा ठिक्कको दराज। जहाँ खदिलो गरी सजिएका किताब। त्यही बीचमा छ, बडेमानको मोटो किताब जसलाई कार्ल मार्क्सले ‘क्यापिटल’ न्वारान गरेका थिए। त्यो जब हुर्केर विभिन्न भागमा आउन थाल्यो तव विश्व राजनीतिमा गरीवको पनि सत्ता हुने रहेछ भन्ने थाहा भयो। जसले राजनीतिक अर्थशास्त्रलाई हेर्ने नयाँ आँखा दियो। 

फलाम र कपडा सिउने पेशा उनीहरुको लागि स्वीकार्य छ। किनकि यसबाट आम्दानी बढी हुन्छ। तर, दमाह लिएर बजाउन जानेवाला कोही छैन, किनभने यसबाट फाइदा हुदैन।

 

उनै कार्ल मार्क्स र फ्रेडरिक ऐङगेल्सले लेखेको अर्को एउटा सानो फुच्चे किताब पनि छ, ‘कम्युनिस्ट मेनुफेष्टो’। जसका प्रत्येक वाक्यांशले संसार हल्लाइदिए। योचाहिँ त्यहाँ देखेनौं वा हामी ख्याल गर्नमा चुक्यौं ! खासमा फुच्चे किताब उतिसारो अरुको नजरमा पर्दैनन्। कुमार नगरकोटी ‘घाटमान्डु’मा त्यही फुच्चे किताब किन्न जाँदा दिमागमा बडेमानको चित्र बनाएका हुन्छन्। साहुजीले देखाउँदा पत्याउँदैनन्, ‘मलाई गाइड चाहिएको होइन, ओरिजिनल भर्सन दिनुस्’ भन्छन्। साहुजीले त्यसैलाई ओरिजिनल भर्सन भन्दा पनि नपत्याएका उनी जव त्यसलाई पढ्छन् तव उनको मनमस्तिष्क हल्लिन थाल्छ। बल्ल उनी फुच्चे किताबमाथि विश्वास गर्छन्।  

‘कम्युनिस्ट मेनुफेष्टो’ जस्तै धेरैले नपत्याउने कालो वर्णको हिरा बिजुलीसँग हाम्रो कुराकानी द्वन्द्ववादबाटै शुरु हुन्छ।‘हामी शान्ति चाहन्नौं’। मतलव अशान्ति चाहन्छौं। यसको मतलव यो पनि होइन कि भागदौड, मारकाट, हिंसा, अपराध चाहिन्छ। शान्ति नचाहनु यथास्थितिमा रहन नचाहनु हो। भन्छन्, ‘जुन सत्ता र राज्य व्यवस्थाले हामीलाई मान्छे जस्तो मानेन। हाम्रो सीप र क्षमताको कदर गरेन। सदियौंदेखि दबाइ राख्यो। आज पनि त्यसकै निरन्तरता छ भने हामीले शान्ति चाहनु यथास्थिति सहनु हो। जातीय विभेद सहनु हो। सार्वजनिक धारामा एक पसियो (अन्जुली) पानी ढुक्कसँग पिउँन नपाउने स्थितिमा कोही शान्ति चाहन्न।’

उनीसँग धेरै ठाउँमा काम गरेको अनुभव छ। रेडियो ‘एन्टना फाउन्डेसन’, ‘बीबीसी,’ ‘युएन’ आदि। पर्फर्मिङ आर्ट गरे। नाटक खेले। टेष्ट नयाँ नयाँ चाखे। जसले अनुभव बढायो। आफ्नो धारणा निर्माणमा सहयोग पुर्‍यायो। आफू को हुँ? भनेर पहिलो चरणमा प्रश्न गर्न सिकायो। समाजले लगाएको तल्लो जातको ट्याग र पुस्तौंदेखि उसले अपनाएको पेशाबारे प्रश्न गर्न सिकायो। यसको सामाजिक, सांस्कृतिक र व्यावसायिक मूल्य के हो?  यही थियो, उनको खोजीको विषय। जसको निष्कर्ष अशान्ति चाहनु भैदियो।

मन्दिर बनायो। ढुंगा राख्यो। हरेक दिन पूजापाठ गर्‍यो। हरेक घटनालाई चुपचाप भगवानको लीला भन्यो। साहु महाजनलाई भगवानले पठाएका दूत ठान्यो। सके चाकडी, नभए हस् हजुर भन्यो। दिमागमा भोटेताल्चा लगायो। बस् यति त हो। योभन्दा अघि बढ्यो भने कपर्निकसका जस्तै आँखा फोरिन्छन्। अनि, पृथ्वीले सूर्यको होइनः सूर्यले पृथ्वीलाई फन्को मारिरहन्छ। 

पूर्वदेखि पश्चिमसम्मले आविष्कारको उपेक्षा गर्‍यो। पछि पश्चिमले आँखा खोल्यो। तर, पूर्व यथास्थितिमै रह्यो। हालसम्म पनि कायम छ। बाजा पृथ्वीमा आफसेआफ उत्पति भएर दमाईलाई बजाउन लगाइएको हो कि आविष्कार भएको हो? तीनबाट थरिथरिका ताल निकाल्नु कलात्मक सीप थियो कि कथित माथिल्लो जातलाई थमाइदिएको पगरी? पुयानो (बाजाको धुन) बजाउनु तल्लो जातको हुनु थियो कि सञ्चारको एक विशिष्ट उपाय अपनाउनु? जो भामबाडा बजायो भने थार्प (पचास कोष टाढा)को मान्छेले थाहा पाउँथ्यो, भामबाडामा बिहे भयो कि, मान्छे मर्‍योरु कसैको बच्चा जन्म्यो कि! वा कसैले सार्वजनिक पद धारण गर्‍यो। औंसी वा पूर्णिमा के होरु सजिलै थाहा हुन्थ्यो। जसको सार्वजनिक महत्त्व फरक छ। वायरलेस इन्टरनेटको विकासभन्दा पहिला सञ्चार गर्न सहयोगी के थियो? विज्ञान वा कथित तल्लो जातिले भगवानबाट पाएको हेलाहोचोको वरदान? 

यी प्रश्नको उत्तर खोख्नु नै अशान्ति चाहनुको कारण थियो। यतिले मात्र पुग्नेवाला थिएन। समाधान खोज्नु थियो। मानवशास्त्री डा.सौभाग्य शाहले भनेझैं आफैसँग भएको बिना खोज्न भौतारिएको कस्तुरी जस्तो नगरी आफ्नो वासना पहिचान गर्नु थियो। त्यही बिना हो, कला र संस्कृति। जुन कथित तल्लो जातका निजी पेवा हुन। उनीहरुका आफ्ना आविष्कार हुन। विज्ञान उही थियो। यसमा उनीहरुको पेटेन्ट राइट सुरक्षित हुनुपर्छ। यिनैको अर्थशास्त्रीय महत्त्वलाई बुझाउन सक्नु नै बिना आफैसँग छ भनेर पत्ता लगाउनु हो वा त्यो समुदायलाई भनिदिनु हो। सांस्कृतिक मान्यताको व्यवसायिकीकरण गर्नु हो।

कला हाम्रो सामाजिक विकासको आधार हो। यसलाई अन्तर्राष्ट्रिय बजारमा लिने तयारी हामीले गर्ने हो। वर्तमान सत्तालाई प्रहार गर्ने मिसाइल पनि यही हो।

 

कथित नेपाली मार्क्सवादीहरु ‘दमाह’ बजाउन छोड, अरुकोमा बजाउन नजाऊ भन्छन्। सके हामी सबैले यो पेशा छोड्नुपर्छ भन्छन्। काँदौंदो (काँधमा) ‘दमाह’ नझुण्याऊ भन्छन् तर माओवादीले कार्यक्रम गर्दा मुगुको दमाईले !२ धान्नीको दमा बोकेर हुम्ला पुगेको थियो। के यो नेपालका कथित मार्क्सवादीका लागि सही थियो? कस्तो अनौठो! क्या अचम्मको वात! 

के दमाह नबजाउँदैमा विभेद रोकिन्छ? कथित माथिल्लो जातिकाले घर पस्न दिन्छन्? सामाजिक सम्बन्ध बलियो बनाउने अन्तरजातीय विवाहलाई स्वभाविक मानिन्छ? मानिदैन भने बजाउन किन छोड्नु? 

बरु दमाहको महत्त्व दर्शाउने हो। त्यसको महत्त्वलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने हो। सारंगी आज अन्तर्राष्ट्रिय बजारमा छ। संसारका ठुला ठुला शोमा बजिरहेको छ। यसकारण बजाउने हो, बाजा। यी हुन् कथित तल्लो जातिका आविष्कार। जुन यस जगतले स्वीकारेको पहिलो वैज्ञानिक अविष्कार हो। 

यसरी द्वन्द्वको बीउ रोपियो र यही थियो, अशान्ति मच्चाउने खेलोमेलो। यसैपनि सिमान्तकृत समुदायको मानिस, त्यसमाथि पुरानोदेखि नयाँ भनिएको सबै सत्तामा कुनै पनि खालको पहुँच नभएको। तसर्थ निर्णय प्रकृयामा सहभागिताको सवालै रहेन। 

अब के गर्ने ? 

जवाफ सरल छ। अशान्ति मच्चाउने। 

कसरी ?

समाजमा रहेका ९० प्रतिशत कला र संस्कृतिमा आफ्नो अग्राधिकार छ भन्दा अन्यथा नहोला। त्यसैले हो, अशान्तिको ढ्वाङ फुक्ने। शासकहरुको दिमागमा ढ्याङ्ग्रो ठोक्ने।

सुरु हुन्छ, हिरा बिजुलीको अशान्ति मच्चाउने अभियान। आफूसँग भएको क्षमता कला हो। कलामार्फत, कला र संस्कृतिको संरक्षण गर्न सकिन्छ। सिमान्तकृत समुदायलाई आफ्नो बिना पहिचान गर्न सक्ने बनाइन्छ। यसैमा बढी आत्मविश्वास थियो। कुरा आजभन्दा आठ वर्ष अगाडिको हो। कल्चरमा जेनेरेसन ग्यापको विषयमा लामो छलफल भयो। कम्तिमा पनि तीन सयभन्दा बढी मान्छेसँग थिम बताउँदै हिँडे। कतिले सुने, मनन गरे। कतिले एक कानले सुने अर्कोले उडाए। तर, पनि थाक्ने कुरै थिएन।

यो थिम समुदायसम्म लिन नाटक गतिलो माध्यम थियो। कला र संस्कृतिबारे नाटक बनाउने। त्यो लिएर काठमाडौं र मुगु दुबै ठाउँमा देखाउने। यसका लागि कलाकार पहिचान गर्नु थियो। सुरु भयो स्टोरी टेलिङ सिरिज। रोजियो स्कुले छात्रछात्रालाई। आर्ट पर्फर्मेन्स गरियो। उनीहरुको क्षमता पहिचान भयो। तयार भए २ सय ५० बढी कलाकार। अनि संकलन भए गज्जबका कथा। 

त्यही बीचबाट जन्मिएको हो ‘गर्भ छिटा’। जसमा अन्तरजातीय विवाहलाई समाज अहिले पनि स्वीकार्न तयार छैन भन्ने देखाइयो। कथाको मुख्य पात्र चाउरे कथित तल्लो जातको हुन्छ। उसकी प्रेमिका पम्फा माथिल्लो जातकी। उसले मलाई भगा भन्छे। चाउरे आँट गर्दैन। अन्नतः चाउरे मरिदिन्छ। कतिले आलोचना पनि गरे, चाउरेलाई किन निमुखो बनाइयो भनेर? किन मारियो? भनेर। तर त्यही त थियो, समाजको वास्तविक चरित्र। पम्फाले कल्पना गरेकी हुन्छे। बाले उनीहरुको सम्बन्ध स्वीकारेको। चाउरेलाई ‘ज्वाईं बस्नुस्’ भनेर सत्कार गरेको। ‘बच्चा भोकायो दूध खुवाउ छोरी’ भनेर मिठो गरी बाले आफूलाई भनेको। यहीबेला उसको गर्भमा रहेको बच्चा खेर जान्छ। रगत बग्छ। त्यही रगत गर्भ छिटा हुन्छ।

नाटक यति पपुलर भयो कि राष्ट्रिय मिडिया सबैले निकै महत्त्व दिएर छापे। करणाली बोकेर हिरा बिजुली काठमाडौं आयो भने। सम्बन्धित जिल्लाबाटै हिरा बिजुलीलाई प्रमोट गर भनेर मुख्य मिडियाका सम्पादकले नै मुख खोले। तर, मुगुका पत्रकारले दस वर्ष अगाडिको नाटकको चर्चा गर्न लागे। जसले हिरा बिजुलीलाई गरिएको प्रमोटमा एक इटा घट्यो।

किन ? 

किनभने हिरा बिजुली पछाडि नेपाली आउँछ। नेपाली माने तल्लो जात। यही ट्याग त हो सबैले स्वीकार्न नसकेको।

‘गर्भ छिटा’ काठमाडौं लैजादा नजिकको सरकारले एक लाख सहयोग गर्ने भनेको थियो। पछि भुक्तानी लिन विश्वयुद्ध जित्नु बराबर भयो। बीस पटक धाउँदा पनि प्रक्रिया पुगेन। हालसम्म पनि पुगेन। ‘यदि हिरा बिजुलीको ठाउँमा समथिङ्..... ठकुरी वा राजा साहेव भए, सायद सजिलो हुन्थ्यो कि?,’ मुस्कुराउँदै भन्छन्, ‘राज्य संयन्त्र यति पुर्वाग्रही भयो भने हामी कसरी शान्ति चाहने?’

त्यसपछि तयार भयो ‘पम्फा फूल’। जुन अन्तर्राष्ट्रिय थिएटर फेष्टिवलको लागि छनोट भयो। ३० देशका नाटकसँग ‘फम्फा फूल’ले प्रतिस्पर्धा गर्‍यो। त्यसबेला प्रदेश सरकारले एक लाख सहयोग गर्ने भनेको थियो। मन्त्रीले तोक लगाउँदासम्म लेखाले भुक्तानी दिन मानेन। त्यहाँ थिए आफ्नै जात मिल्ने मान्छे। यही एउटा नयाँ सिकाइ भयो। कुनै एक सार्की, कामी, दमाई कथित तल्लो जातको मान्छे उच्च तहको कर्मचारी हुँदैमा, मन्त्री वा राष्ट्रपति हुँदा पनि केही नहुने रहेछ। परिवर्तन हुनुपर्ने त राज्य संयन्त्र पो रहेछ, भन्ने कुरा। 

‘म सुन्दैछु यहाँ केही मान्छेलाई फिल्म बनाउन भनेर स्थानीय सरकारले लाखौं पैसा दिएको छ। उनीहरुका नामको पछाडि राजकीय जात जोडिएको छ। सजिलो छ।’ उनले आफूले बनाएका दुई चर्चित नाटकको लेक कटाइ र गाड तराई बारेको लामो कथा बताए।

त्यसै क्रममा जन्मिएको छ रेडियो नाटक ‘भार्ता सिरिज’। पहिलो कथा बजार नजिकै रहेको चैना गाउँमा रेहको मन्दिर प्रवेशको विषयमा छ। जहाँ आज पनि कथित तल्लो जातका मान्छे पस्न पाउँदैनन्। एकपटक उनीहरु मन्दिर प्रवेश गर्न खोज्दा ठूलो हुलदंगा भयो। त्यसबेला कथित मार्क्सवादी भन्नेहरुले दोहोरो चरित्र प्रस्तुत गरे। एकातिर तिमी जसरी मन्दिर पस्नुपर्छ भने, अर्कोतिर यिनलाई यहीँ ठीक पार्नुपर्छ भनी दारा किटेर बसे। जहाँ बाजुरा, हुम्लादेखिका मान्छे आउँछन्। तर त्यहीँका रैथाने जातको आधारमा पस्न पाउँदैनन्। उनले हामीलाई नै प्रश्न गरे, ‘यसले समाजमा दिगो शान्ति स्थापना हुन सक्ला?’ 

दोस्रो छ, रुगा गाउँमा बाबियोका कुच्चा बनाउनेको जीवनशैली सीप र परम्परामा आधारित कथा। उनीहरुको जीवनलाई अर्थशास्त्रसँग जोडेर नाटक बनाइएको छ। त्यसपछि सोही गाउँमा वडा अध्यक्षसँग हिसाब माग्ने तयारी छ। प्रशासनदेखि गन्नेमान्ने सबैका अगाडि प्रश्न सोधिने छ, ‘तिम्ले के गर्‍यौ यिनीहरुको जीवनको लागि?’ सत्तासँग सानो भएपनि लडाइँ गरिरहने छ ‘भार्ता सिरिज’ले। पिना गाउँका निगालोबाट जीवन गुजारा गर्ने साहानीको कथा तयार छ। यो शृङ्खला चलिरहने छ निरन्तर।

उनी भन्छन्, ‘केही मान्छेले कलालाई अगाडि बढ्ने भर्‍याङ बनाएका छन्। कल्चरल प्रमोसनमा उनीहरु रत्तिभर समय खर्चने छैनन्। उनीहरु एक दिन एउटा उचाइमा पुग्नेछन् र छोड्नेछन्। हामीबाट हाम्रो सीप खोसिदैछ। फलाम र कपडा सिउने पेशा उनीहरुको लागि स्वीकार्य छ। जसबाट आम्दानी बढी हुन्छ। अब उनीहरुको लागि अछुतले गर्ने काम होइन। तर, दमाह लिएर बजाउन जानेवाला कोही छैन।’ 

‘कला हाम्रो सामाजिक विकासको आधार हो। यसलाई अन्तर्राष्ट्रिय बजारमा लिने तयारी हामीले गर्ने हो। वर्तमान सत्तालाई प्रहार गर्ने मिसाइल पनि यही हो,’ हिरा बिजुली मिहिन विश्लेषण गर्छन्। 

पुरानो सत्ताका राजाहरुलाई सदैव साम्यवाद छ। अरु उही दास युगमै छन्। गाउँमा वडा अध्यक्ष एक पोको तेल बाँडेर राजनीति गरिरहेका छन्। माछा मार्न सिकाउने होइन, माछा बाँडेर परनिर्भरताको चक्र चलाइरहेका छन्। गाउँमा सहभोजको आयोजना हुन सक्दैन। यही विरोधाभाषमा दीर्घकालीन शान्ति कुन चराको नाम हो? थाहा छैन।

सार्की, कामी दमाई, सुनारलाई  सीपले दास बनाएको हैन। बाजागाजाले दास बनाएका होइनन्। दमाहले दास बनाउनै सक्दैन। दास शासकीय मानसिकताले बनाएको हो। जबसम्म शासकीय मानसिकता परिवर्तन हुन्न तबसम्म दास हुन्छन्। दासले मालिकविरुद्ध एकदिन युद्ध छेड्छन् पक्कै पनि। हिरा बिजुलीले यति भनिरहँदा उनको मुहारमा आत्मविश्वासको भाव हिराझैं चम्किरहेको थियो ।

यो पनि हेर्नुहोस्

रारा : सके धेरैपटक, नसके पनि एकपटक 

इतिहास बाँङ्गिने 'तुङ्गनाथ' चिन्ता 

‘यदि कुनै दिन 'भाइ पेटौंदो छ' भन्ने कुराको आश मर्‍याे भने निर्मलाकी आमाको विकल्प खोजिने छ। त्यही निहुले उनी बहिस्कृत हुनेछिन्। उनलाई हेर्ने समाजको नजर फेरिने छ। निर्मलाको भाइ नहुनुमा दोष उनको मात्रै हुने छ। यो कुनै विज्ञान होइन, विज्ञानमाथिको ठाडो चुनौति हो।’

  मुगु डायरी –१ 

प्रकाशित मिति: Feb 01, 2020 09:53:48

प्रतिक्रिया दिनुहोस