जव ‘३६’ हुनुपर्नेमा ‘६३’ हुन्छ, अनि चुलिन्छ मुगाली आक्रोश

जव ‘३६’ हुनुपर्नेमा ‘६३’ हुन्छ, अनि चुलिन्छ मुगाली आक्रोश

मुगु डायरी –७ 

गमगढी बजारमा हामीले विभिन्न पेसा र व्यवसायका व्यक्तिसँग छुट्टाछुट्टै लामो छलफल गर्‍यौं। मुगु यात्रामा सबैभन्दा धेरैसँग छलफल गरेको ठाउँ गमगढी नै थियो। हामीसँग छलफल गर्ने सबै स्थानीय सरकार र पत्रकारसँग असन्तुष्ट थिए। 

यी मध्ये केही निकै सचेत नागरिक थिए भने केही कम बुझेका। तर उनीहरु सबैको आक्रोश लगभग एकै खालको थियो। जानेको केही नभए पनि देखेको–भोगेको आधारमा मान्छेले धारणा बनाउँछ। चिनियाँ जनताका नेता माओत्से तुङले भनेझैं, ‘जनताको आँखा दुरविन सरह हुन्छ’।

स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार हो। मतलब घर आँगनको सरकार। माओवादीले नारा नै लगायो, ‘माओवादीको उपहार, गाउँगाउँमा सिंहदरबार’ भनेर। यसले प्रजातन्त्रको सही अभ्यास पनि स्थानीयस्तरमै हुने भयो। चुनावमा जित्नेले काम गर्ने र हार्नेले प्रतिपक्षमा बसेर जित्नेलाई सचेत गराउने, उसको आलोचना गर्ने र खबरदारी गरिरहने हो। यस हिसाबले उसलाई जनतासँग भिज्ने अवसर हुन्छ। यो अर्को पालिको लागि माहौल आफ्नो पक्षमा पार्ने दाउ पनि हो। 

तर, प्रदेश र संघमा जस्तो सत्तापक्ष र प्रतिपक्षको अभ्यास स्थानीय तहमा हुँदैन। हुन त प्रदेश र संघमा समेत बलियो प्रतिपक्षको खडेरी परेको देशमा स्थानीय तहमा हारेकाबाट यस्तो भूमिकाको अपेक्षा गर्नु आकाशको फलजस्तै हो। 

फेरि चुनाव जित्नलाई जनताको मन जित्ने कुरा त पुरानो जमानाको कुरा हो। आजको कुरा अर्कै छ, पैसा र सम्बन्ध हुनुपर्छ मन्त्री पद पनि घरैमा आउँछ। सांसद पद समेत जाबो भैसकेको छ, स्थानीय तहको के कुरा गराइ भयो र ? संविधानसभा सदस्य राज्यलक्ष्मी गोल्छाले सांसद बनाउन भनेर आफूबाट पैसा लिने तत्कालिन एमाले नेताको नामै सार्वजनिक गरिन्। कम्युनिष्टले त यसो गर्न भ्याए भने अरूको के कुरा भयो र? नेपालको पछिल्लो राजनीतिक संस्कार नै हो यो। भलै गलत किन नहोस्।

यस्तो अवस्थामा प्रजातन्त्र बलियो बनाउन चाहिने  प्रतिपक्ष बलियो नहुँदा चलेका सरकारका गति कस्तो होला ? अनुमान लगाउनलाई बल गरिरहनु परेन। जब जब सत्तामा आलोचनात्मक चेतको खडेरी पर्छ तब आमसञ्चारको भूमिका अहम् हुनुपर्ने हुन्छ। यो केन्द्रीय सत्तामा मात्र होइन, स्थानीय सत्तामा समेत जरुरी हुन्छ। सत्ताका राम्रा नराम्रा गतिविधिमा जश दिने र आलोचना गर्न सक्ने पत्रकार होउन् भन्ने मुगाली अपेक्षा थियो। उनीहरूको यो जायज अपेक्षामा सञ्चारकर्मी खह्रो उत्रन नसकेकोमा गुनासो थियो।

हुन त छोटो समयको बसाइँमा मुगुको राजनीति र सञ्चार माध्यमलाई टिप्पणी गर्ने हैसियत म राख्दिन। तर अवस्था त्यस्तो आइलाग्यो जुन विषयमा केही नलेखे हामी पनि उही कित्तामा उभिनुपर्ने हुन्थ्यो, जुन मुगाली चाहना थिएन।

मुगुको माटो कोमल छ। त्योभन्दा कोमल मन भएका मुगालीको मनमा सानो ठेस लाग्नु ठूलो अपराध गरेसरह हुने थियो। बर्षाको बाढीपछि काटिएको माटोसरह मुगाली मन काट्ने हिटलर हुन कहाँ सकिन्थ्यो र ? 

१४ जनवरी २०२० मा रेडियो रारा मुगुले रारा छाँयानाथ नगरपालिकाका मेयर हरिजंग शाहीका केही तस्बिर  राखेर एउटा सानो भिडियो आफ्नो फेसबुकमा सार्वजनिक गरेको छ। जसमा लेखिएको छ, ‘मुगु जिल्ला छाँयानाथ रारा नगरपालिकाका नगरप्रमुखको पत्रकारलाई धम्की,’ ‘बोल्ने शैली नै नभएको पनि नगर प्रमुख,’ ‘यस्ता त नगर प्रमुख छन् अरु के विकास गर्लान र?’

आफूलाई पत्रकार बताउने बसन्त बाकचनसँगको संवाद यस्तो छ। 

बाकचन: नमस्कार हजुर म बसन्त बाकचन।
नगर प्रमुख: नमस्कार, भनौं के छ ?
बाकचन: ठीकै छु हजुर। आरामै हजुर ?
नगर प्रमुख: आरामै हजुर। के हो भनौं न?
बाकचन: थोरैथोरै, नापा (थोरै) तिरो तिर्नु पड्न्या भयो हजुर।
नगर प्रमुख: तपाई एमाले, माओवादीलाई दिनुस् न भैहाल्यो नी। तपाईं एमाले माओवादीको मान्छे हो।
बाकचन: को म ? बरिष्ठ पत्रकारलाई त्यस्तो भन्या हो त?
नगर प्रमुख: ह्या, क्या हग्या वरिष्ठ ?

पत्रकारलाई नगर प्रमुखले तिरो किन तिर्नु? तिरो उठाउने नगरपालिकाले हो कि पत्रकारले ? पत्रकार राजनीतिक आस्थावालासम्म हुन सक्छ कि कार्यकर्ता  नै ?

त्यस्तै स्थानीय सरकार प्रमुखले फोहोर शब्द प्रयोग गरी जवाफ दिन हुन्छ कि नाई ? अरुलाई सभ्य हुन सिकाउने सञ्चारमन्त्री भइटोपलेकाको अश्लिलता पनि मुगाली कानले यतिबेला सुन्नु परेकै छ। हुन त यो देशका प्रधानमन्त्रीसमेत जनतालाई कित्ताकाट गर्दै हिड्छन्। अरुको के कुरा गर्नु ? अनि अर्को कुरा नगर प्रमुख कुनै अमुक पार्टीको मात्र हुन्छ कि सबै जनताको ?

‘तपाई पत्रकारप्रति किन यति  पुर्वाग्रही ?’ हामीले नगर प्रमुख शाहीसँग सोधेका थियौं। उनले भने, ‘कुनै एउटा पार्टीको प्रचारप्रसारमा मात्र लाग्ने कसरी पत्रकार हुन्छ ? त्यसमाथि अनावश्यक माग्नेलाई के को आदर सम्मान ?’

यो संवादले पत्रकारिता र स्थानीय सरकारको दूरी बढेको स्पष्ट हुन्छ।  यसरी नै आम मान्छे सन्तुष्ट हुन नसकेका हुन्। पत्रकारिता सही भयो भने समाजको गोरेटो सही हुन्छ तर पत्रकारिता नै समाजको लागि अणुबमभन्दा हानिकारक हुन्छ भने समाज ध्वस्त हुन बेर लाग्दैन।

सन् १९४५ मा जापानको हिरोसिमा र नागासाकीमा  खसालिएका लिट्टलब्याय र फ्याटम्यानको परिणाम आजसम्म विकलांग बच्चा जन्मिरहेका छन् भने शब्दको अणुबमले ध्वस्त गरेको समाजमा यसको असर कति पुस्तासम्म रहिरहने हो ?मनमा चिसो पस्न थाल्छ।

‘निर्णय कार्यान्वयन गर्ने कर्मचारीदेखि स्थानीय जनप्रतिनिधि सबै आफ्ना सिमित स्वार्थमा अलमलिएका छन्। कमिसन माग्नु उनीहरुको नैसर्गिक अधिकार भएको छ,’ गमगढीमा कम्प्युटर व्यवसाय सञ्चालन गरिरहेका नरेश शाही भन्छन्, ‘स्थानीय बजारका आपूर्तिकर्तासँग कमिसन माग्दा भेद खुल्ने भएकाले नेपालगञ्ज, काठमाडौंसम्म पुग्छन्।’ स्थानीय व्यवसायीहरु आफ्नो व्यवसाय बन्द गर्ने स्थितिमा पुगेका छन्। स्थानीय सरकार उनीहरुबाट चर्को कर असुल गर्छ। तर अत्यावश्यक सामग्रीसमेत स्थानीय बजारबाट किन्दैन।

शिक्षा क्षेत्रमा उस्तै विकृति छ। सरकारी स्कुलका शिक्षकहरुको सिन्डिकेटले व्यवसायी र विद्यार्थी मारमा छन्। स्कुलमा गतिलो नपढाउने मास्टर ट्युसन पढ्न आफूसँग नआए विद्यार्थीको भविष्यमाथि खेल्छन्। महाकाली मावि गमगढीका केही विद्यार्थीले बिएल नेपाली सेवालाई भने, ‘स्कुलमा राम्रो नपढाउने सरसँग ट्युसन नपढेर अन्त पढ्न खोज्यो भने प्रयोगात्मक नम्बर नदिने र एसईई परीक्षामा चिट पनि नचोराउने भन्नुहुन्छ। कक्षामा व्यवहार पनि साह्रै तुच्छ खालको हुन्छ।’

अब मास्टरहरुलाई वर्षभरि पढाउनुभन्दा आफूसँग ट्युसन पढ्न आउनेलाई परीक्षामा चिट चोराउनु सजिलो भएको छ। यस्तो ठाउँमा अरु कसैले नेपालको कानुन अनुसार व्यवसाय गरेर नाफा कमाउने सोच बनाउनु हुटिट्याउँको आकाश छुने सपना जस्तै हो। त्यसैले नरेश शाहीको कोचिङ सेन्टर कानुनी रुपमै बन्द भयो। 

नगरपालिकामा रहेको चैना गाउँको मन्दिरमा हालसम्म कथित दलित प्रवेश गर्न पाउँदैनन्। मन्दिर बिग्रियो, भत्क्यो भने बनाउने उनीहरु नै हुन्छन्। सुरुमा मन्दिर बनाएको पनि उनीहरूले नै हो। तर, पूजा गर्ने बेला पस्न पाउँदैनन्। यसरी हेपिने मुगाली ब्यथा बेग्लै छ। हाम्रा मन्त्रीहरु हेप्नी भन्दै हप्काउँछन्। तर, सत्ताले युगौंदेखि हेपेका मुगालीको कहिले आक्रोश पोखिएको छैन। 

स्थानीय सरकारले सुरु गरेका विकास निर्माणका योजनाको समाचार आउँछ। तर, काम पूरा नगरी भुक्तानी लिएको खबर कहिल्यै आउँदैन भन्दै आक्रोश पोख्छन् रंगकर्मी हिरा बिजुली नेपाली। ‘कोदो फुलेको, स्याउ पाकेको समाचार राष्ट्रिय मिडियामा आउँछ। तर, योजना दिनेले हाकाहाकी यति र उति प्रतिशत कमिसन देऊ भनेर बार्गेनिङ गरेको कुरा आउँदैन। मुगुका मिडिया साह्रै सकारात्मक भए। यहाँ त आलोचनात्मक चिन्तन त कुन चराको नाम हो थाहा छैन,’ उनले भने, ‘यहाँ योजना पाउनेले होइन, दिनेले नाफा खान्छ। योजनामा ढुंगा अट्काउ पैसा लट्काउ (खाउ)हुन्छ। यतातिर नजर कसले लगाएको छ ? के यी विषय मिडियामा आउनुपर्ने होइनन्? कि पत्रकार पनि भाग पाउँछन् ?’ उनले तिखो प्रश्न गरे।

तर, यी तिखा प्रश्न त के, तिखो सियोले समेत कसैलाई घोच्दैन। जसलाई घोच्नुपर्ने हो उनीहरुको छाला गैंडाको जस्तै भैसकेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रिपोर्टले भन्छ, ‘कर्णालीमा भ्रष्टाचारका मुद्दा कम छन्।’ राष्ट्रियस्तरका मिडियाले यो खबर प्राथमिकताका साथ छापे। स्थानीय सरकार सञ्चालकले उत्सव नै मनाए। यो समाचार पपुलर बनाउन उनीहरुले अहम् भूमिका खेले। तर, कसैले पनि सोचेनन् कि भ्रष्टाचारविरुद्ध मुद्दा हाल्ने चेतनाको विकास भएको छ कि छैन ? मुगाली आक्रोश यी विषयमा केन्द्रित थियो।

यी सबै अणुबमभन्दा खतरनाक समस्याको समाधान गर्न स्थानीय सत्ताको कुनै पहलकदमी छैन। बरु, रक्सी खुवाएर चुनाव जितेका जनप्रतिनिधिले रक्सी बन्द गराए। ठूलो क्रान्तिकारी कदम चाले तर जनताको जीवनस्तर माथि उठ्नेबारे माखो मारेनन्।

सारा संसार मोहित पार्ने राराको सुन्दरतामा मुगाली राजनीतिले हिलो छ्यापेको छ। साधारण मुगाली आक्रोश यसैविरूद्ध हो।

बिएल नेपाली सेवामा मुगालीका प्रश्न बारम्बार दोहोरिएका छन्। यसरी शृङ्खलाबद्ध सोधिएको प्रश्नको जवाफ आउला, नआउला तर यस्तै गति रहने हो भने एक दिन सत्ताको पत्तासाफ हुने निश्चित छ। यो इतिहास हो। इतिहास दोहोर्‍याउने मुगाली साहस जुटाउने यिनै असन्तुष्टि हुन। मुगुले यिनै विषयमा आलोचनात्मक चिन्तन राख्ने पत्रकार खोजेको छ। अनि, सँगै कमिशन माग्न लाज मान्ने नेताको खोजी गरिरहेको छ।

खासगरी देश बचाउने नेता र खबरदारी गर्ने पत्रकार ३६ हुँनुपर्नेमा ६३ हुँदा गडबडी हुन्छ। यही कारण हो  मुगुले धोका पाएको पनि । तर, समय सधैं एकनास हुदैन। जब यसले गति लिन्छ नि, त्यसपछि दाँयाबाँयाका पत्करहरू आफैं बडारिन्छन्। 

यो पनि हेर्नुहोस्

६) नेपाल भ्रमण वर्ष–२०२०: यसरी त कसरी सफल होला र?

५) कालो बादलभित्र चाँदीको घेरा (भिडियाे)

४) मुगुका हिरा अर्थात् हिरा बिजुली

३) रारा : सके धेरैपटक, नसके पनि एकपटक 

२) इतिहास बाँङ्गिने 'तुङ्गनाथ' चिन्ता 

१) 'भाइ पेटौंदो छ'

 

प्रकाशित मिति: Feb 25, 2020 07:45:26

प्रतिक्रिया दिनुहोस

सबै