प्रतिनिधिसभा, कोरोना जरूरि सार्वजनिक महत्वको प्रस्ताव (भिडियो)

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाको जोखिम न्यूनीकरणका लागि भईरहेको पहल तथा कोरोना विरुद्धको राष्ट्रिय संकल्प आवश्यक रहेको भन्दै संसदमा जरूरि सार्वजनिक महत्वको प्रस्ताव पेस गरेको छ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले जरूरि सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेका छन्। उनले कोरोना संक्रमणबाट बच्चनका लागि एकीकृत कार्यसञ्चालन गर्न र तत्काल एक्सन प्लान बनाई सार्वजनिक गर्न सरकारलाई आग्रह गरे। अहिलेसम्म नेपालको सुखद अवस्था भए पनि इरानको जस्तो एकै पटक संक्रमणको अवस्था देखिए के गर्ने भन्ने सन्दर्भमा पनि समयमै सोच्नुपर्ने उनले उल्लेख गरे।

सिमामा चेक जाँचको क्षमता, स्वास्थ्य चेक जाँचको क्षमता लगायत विभिन्न कारणले विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिममा राखेको भन्दै उनले तत्काल गर्नुपर्ने तयारीका बारेमा सबै सरकार, सबै मन्त्रालय, संसद, समुदाय लगायत सबै एकै ठाउँमा आएर काम गर्नुपर्ने आवश्यकता औल्याए।  सबै देशले आवश्यक तयारी गरेको र भिषा रद्द पनि गर्न थालेको उल्लेख गर्दै उनले नेपालभन्दा बाहिरबाट नेपाल आउनेहरुको ट्रयाकिङ्ग गर्न आवश्यक रहेको बताए। उनले मन्त्रालयअनुसारका कुरा बाहिर आउँदा सर्वसाधरणमा त्रास र दुविधा बढाएको भन्दै एकद्धार प्रणालीबाट सूचना र जानकारी सार्वजनिक गर्न पनि आग्रह गरे।

विवाह, ब्रतबन्ध, भोजभतेर र सभासम्मेलन रोक्न भने पनि विद्यालय खुल्ला भएको, संसद बैठक सञ्चालन भईरहेको, सरकारकै मन्त्री विदेश भ्रमणमा रहेको भन्दै सरकारलाई एकद्धार प्रणालीबाट सूचना सम्प्रेषण गर्न र विदेशबाट फर्किएकाको राम्रो चेकजाँचको व्यवस्था गर्न आग्रह गरे।

विदेशी नागरिक नआउने, सभा सम्मलेन नगर्ने भन्ने वित्तिकै, होटेल, एयलायन्ससँगै बैंक लगायत  मुलुकका विभिन्न क्षेत्र प्रभावित हुने भन्दै उनले आवश्यक तयारी गर्न आग्रह गरे।

बढी जानकारी भए पनि मानिस त्रसित हुने भन्दै उनले कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक तयारी रहेको तथा कोरोनाका कारण कुनै पनि सामाग्रीको आपुर्तिलाई तलमाथि गर्न दिन्नौ भनेर सरकारले जनतालाई आश्वस्त गर्नुपर्ने बताए।

उनले कालाबजारी अन्त्य गर्नका लागि प्रभावकारी ढंगले अघि बढ्न आग्रह गरे। उनले खाली रहेका भवनलाई आवश्यक पर्दा प्रयोग गर्न सक्ने गरि तयारी अवस्थामा राख्न, क्रिटिकल केयरको वेड विस्तार गर्न, अस्पताललाई आधारमा राखेर काम गर्नुपर्ने कामहरुको सूची तयार पार्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरे। उनले भने, ‘सचेत रहने हो त्रर्सने होइन।  नागरिकलाई नर्तसाउँ। भयभीत पनि नबनाउँ। नेपालका एउटा मात्रै केस नदेखिएको कुराले आनन्दले नबसौ। हामीले समयको सुविधा पायौ। इरानले पाएन। कोरियाले पाएन। तर, कोरियासँग क्षमता थियो । हामीले पाएका छौं। हामीले अहिलेकति मात्रै सुझबुझ पुर्‍यायौं भने आत्तिनु पर्देन।’

उनले विश्व स्वास्थ्य संगठनले बिहिबार दिउँसोसम्म सार्वजनिक गरेको कोरोनाको अवस्था सम्बन्धी तथ्यांक जानकारी दिँदै नेपालले आवश्यक तयारी गर्न ढिलाई गर्न नहुने बताए। उनले चीनबाट फैलिएको संक्रमण हिजो दिउँसोसम्म ९५ हजार २ सय ६५ वटा केस रिपोर्ट भएको, ३ हजार २ सय ८१ जनाको मृत्यु भईसकेको, २ हजार ५५ वटा केस चीनभन्दा बाहिर ३३ वटा देशमा रहेको तथा ती मध्ये ८० प्रतिशत ३ वटा देशमा रहेको बताए। त्यसैगरी १ सय १५ वटा देशले संक्रमणको रिपोर्ट नगराएको , २१ वटा देशले एउटा एउटा रिपोर्ट गराएको, गएको १४ दिनमा ५ वटा देशहरुले नया केशहरु रिपोर्ट नगराएको पनि उनले बताए।

सांसद थापाले प्रस्तुत गरेको जरूरी सार्वजनिक महत्वको प्रस्तावको सञ्जय कुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्र कुमार केसी र डाक्टर नारायण खड्काले समर्थन गरेका थिए।

प्रस्तावको समर्थन गर्दै सांसद राजभण्डारीले आवश्यक तयारी नगरेको र कोरोना मुक्त घोषणा गरेका कारण पनि विश्वस्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिममा राखेको भन्दै आवश्यक सर्तकता अपनाउन सरकारको ध्यानाकर्षण गराए। कोरोना संक्रमण नियन्त्रणका सम्बन्धमा चाईना सरकारसँग वार्ता गरेर अघि बढ्नुपर्ने बेलामा सरकारले चीनका लागि नेपाली राजदुतलाई फिर्ता बोलाउने निर्णय गरेको उनले आपत्ती जनाए। उनले भने, ‘चाईनाको राजदूतलाई फिर्ता बोलाउने? के गर्न खोजेको हो?’ उनले कोरोना संक्रमणको त्राससँगै बजारमा मास्क, औषधिलगायत अत्यावश्यक सामानहरु लुकाउने काम भएकाले मास्क र औषधिमा कालोबजारी गर्नेलाई जेल हाल्न आग्रह गरे।

उनले भने, ‘मास्क लुकाउने, औषधि लुकाउनेलाई २ लाख रूपैया मात्रै होइन जेल हाल्नुहोस्। भएका मास्क बजारमा जति छ । सरकारले नियन्त्रण गर्नुहोस्। सेनिटाईजर पनि बजारमा बन्द भईसकेको छ । नेपालमा उत्पादन हुनसक्छ । ४८ घण्टा भित्र लाईसेन्स दिनुहोस् र उत्पाद सुरु गर्नुहोस् । जनतामा त्रास धेरै छ । यो त्रासलाई हटाउन हामी सबै एक होऔ ।”

त्यसैगरी सासद राजेन्द्र कुमार केसीले प्रस्तावको समर्थन गर्दै सरकारले केही तयारी गरे पनि पर्याप्त नभएको भन्दै समयमै आवश्यक तयारी गर्न सरकारको ध्यानाकर्षण गराए। धेरै साधन सम्पन्न मुलुकमा स्कुल बन्द भईसकेको अवस्था रहेको उल्लेख गर्दै उनले संसार नै त्रसित भएको अवस्थामा तयारी अपुग भयो भने मुलुकले धेरै क्षति व्यहोर्नुपर्ने तर्फ समयमै सचेत हुन आग्रह गरे। पूर्ण परनिर्भर भएको अवस्थामा भयावह संक्रमणसंग लड्नका लागि समयमै सर्तकता अपनाउन नसके मुलुकको अवस्था अत्यन्तै भयावह हुने भएकाले पुर्व तयारीमा ध्यान दिन आग्रह गरे।

सरकारले एक महिनाका लागि भोजभतेर, सभा सम्मेलनमा पुर्णरुपमा नै रोक लगाई कठोर ढंगले पेश हुनुपर्ने बताए।

अर्का समर्थक नारायण खड्काले कोरोना संक्रमण नियन्त्रणका लागि चीनले गरेको प्रयासको प्रशंसा गरे। कोरोना संक्रमणको त्रासले बजारमा औषधि, मास्क र सेनिटाईजरसँगै दैनीक खाद्य सामाग्रीको अभाव देखिन थालिसकेको भन्दै सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरे। साथै उनले आवश्यक तयारीबारे जानकारी गराउदै सदन सञ्चालनबारे पनि सोच्न आग्रह गरे।

सांसद थापाले प्रस्तुत गरेको सार्वजनिक महत्वको प्रस्तावमा ‘विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा सूचीकृत गरेको सन्दर्भमा यससंग जुध्न सरकारले के गरेको छ, अस्पतालको अवस्था के छ भन्ने जस्ता प्रश्नहरु सरकारले सदनलाई जानकारी दिनुपर्ने भएको तथा कोरोना विरुद्ध सबै जुटी राष्ट्रिय संकल्पको साथ अगाडि बढ्नु पर्ने भएकोले’ भन्ने उल्लेख छ ।

प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलिको नियम ७१ बमोजिम सांसद थापाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका हुन्।

प्रकाशित मिति: : 2020-03-07 02:13:43

प्रतिकृया दिनुहोस्