त्रिभुवन आर्मी क्लब पोखरामा जारी १८ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
पोखरा रङ्गशालामा मंगलबार भएकाे अन्तिम क्वाटरफाइनलको खेलमा आर्मीले सङ्कटा क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा पुगेको हो।
खेलको १५औँ मिनेटमा नवयुग श्रेष्ठको क्रस पासलाई सदुपयोग गर्दै सुदील राईले आर्मीलाई खेलमा अग्रता दिलाए। राईले पेनाल्टी एरियाबाट हानेको प्रहार सङ्कटाका गोलकिपर राजा बाबु थापाको खुट्टामा लाग्दै बल पोष्टभित्र छिरेको थियो।
खेलको ७१औँ मिनेटमा सन्तोष तामाङले मैदानको दायाँ साइडबाट प्रहार गरेको कर्नर किकलाई विकास तामाङले हेड गरेको केही क्षण हुलमुलको अवस्थामा खेलको ‘म्यान अफ दी म्याच’ समेत घोषित आर्मीका नवयुग श्रेष्ठले बललाई पोष्टको दिशा दिँदै टोलीको अग्रता दोब्बर पारे।
खेलको ७८ औँ मिनेटमा सुदील राइको स्थानमा मैदान प्रवेश गरेका विवेक बस्नेतले दोस्रो गोल भएको चार मिनेटपछि गोल गर्न सफल भए। मैदानको बायाँ साइडबाट सेसेहाङ आङ्देम्बाले दिएको लामो पासलाई दायाँ साइडबाट एक्लै अघि बढाउँदै पेनाल्टी क्षेत्रबाट बस्नेतको कडा प्रहार सिधैँ गोलमा परिणत भएको हो।
पहिलो हाफमा आर्मीलाई दबाबमा राखेको सङ्कटाले केही गोल गर्ने मौका प्राप्त गरेपनि सदुपयोग गर्न सकेन। दोस्रो हाफमा भने आर्मीले छरितो खेल पस्कदै लगातार विपक्षीको पोष्टमा आक्रमण बुनेको थियो। आर्मीले अब फागुन २९ गते मनाङ मस्र्याङदी क्लबसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।
आहा रारामा हालसम्म १४ पटक प्रतियोगितामा सहभागिता जनाएको आर्मीले हालसम्म उपाधि जित्न सकेको छैन। आर्मी प्रतियोगिताको सातौँ, आठौँ, १४ औँ र १७ औँ संस्करणमा फाइनल पुगेपनि उपाधि जित्न सकेको छैन। सङ्कटाले हालसम्म चार पटक प्रतियोगितामा सहभागिता जनाएकाेमा सेमिफाइनलभन्दा माथि जान सकेको थिएन।