मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी १८ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।
पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनल त्रिभुवन आर्मी क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै मनाङ उपाधि नजिक पुगेको हो।
मनाङको जितमा फ्लोरेन्ट, विमल राना र अन्जन बिष्टले एक एक गोल गरे। आर्मीका भरत खवास र दिप कुमार लामाले एक एक गोल फर्काए।
खेलको चौथो मिनेटमा फ्लोरेन्टले गोल गर्दै मनाङलाई अग्रता दिलाए । सुशिल लामाको कर्नरमा विमल रानाको हेडरलाई अन्जन विष्टले मिलाईदिएको पासमा फ्लोरेन्टले वान टचमा गोल गर्न सफल भएका थिए।
२९औं मिनेटमा बिमल रानाले गोल गर्दै मनाङको अग्रता दोब्बर पारे । अन्जन विष्टको पासमा अनमार्क रहेका विमलले गरेको प्रहार आर्मीका गोलरक्षक विवश चौधरीले रोक्ने कुनै मौका नै पाएनन् ।
आर्मीले खेलको ४२ औं मिनेटमा गोल गर्दै खेलमा फर्कियो । सुमन अर्यालको क्रसमा नवयुग श्रेष्ठले दिएको हेडर पासमा कप्तान भरतले हेडरमा गोल गरे ।
८१औं मिनेटमा अन्जन बिष्टले गोल गर्दै मनाङलाई ३–१ को अग्रता दिलाए। आर्मीका बिकास तामाङको गल्तिमा काउन्टर अट्याकमा बिमलले मिलाई दिएको पासमा अन्जनले वान भर्सेस वानकै अवस्थामा बिट गर्दै गोल गर्न सफल भएका थिए ।
८३औंसब्सिच्युट खेलाडी टंक बस्नेतको क्रसमा दिप लामाले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए । थप प्रयासमा गोल गर्न नसकेपछि मनाङ फाइनलमा प्रवेश गरेको हो ।
अब मनाङले फाइनलमा नेपाल पुलिस क्लबसँग खेल्ने छ। पहिलो सेमिफाइनलमा साविक विजेता थ्री स्टार क्लबलाई ३-० गोलको फराकिलो अन्तरले पराजित गर्दै पुलिस उपाधि नजिक पुगिसकेको छ। फाइनल खेल शनिबार हुनेछ।