१८ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधि छिनोफानो शनिबार हुँदैछ ।
उपाधिका लागि पुर्व च्याम्पियन विभागीय नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लब आमने सामने हुँदैछन् । पछिल्लो पटक वि.सं २०६१ मा तेस्रो संस्करणको आहा रारा गोल्डकपको उपाधिका लागि प्रतिस्पर्धा गरेका मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लब डेढ दशकपछि पुनः फाइनलमा भिड्ने लागेका हुन्।
यसअघि विसं २०५८ को क्याराभान गोल्डकप तथा विसं २०६० को दोस्रो र विसं २०६१ मा आयोजना भएको तेस्रो संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा यी दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।
पोखराको नवनिर्मित रंगशालामा हुने फाइनल खेल दिउँसो २ बजे सुरु हुने छ ।
आहा रारामा मनाङ र पुलिस विसं २०६८ को दशौँ संस्करणको क्वार्टरफाइनल तथा बाह्रौँ संस्करणको सेमिफाइनलमा समेत प्रतिस्पर्धा गरेकामा दुवैमा मनाङ विजयी भयो। दुवै टोली आहा राराका सफल क्लब हुन्। पुलिसले ‘क्याराभान’ गोल्डकपसहित हालसम्म छ पटक उपाधि उचाल्दा मनाङले पाँच पटक उपाधि चुम्न सफल भएको छ। विभागीय टोली पुलिसले क्याराभानसहित विसं २०५९ को पहिलो, २०६४ को छैटौँ, २०६५ मा सातौँ, २०६६ को आठौँ र २०७४ को सोह्रौँ संस्करणको उपाधि आफ्नो पोल्टामा पारेको छ।
मनाङ विसं २०६० को दोस्रो, विसं २०६१ मा तेस्रो, २०६८ को दशौँ, विसं। २०७२ मा चौधौँ र २०७३ को पन्धौँ गरी हालसम्म पाँच पटक च्याम्पियन बन्न सफल भएको छ। जारी संस्करणमा पुलिसले क्वाटरफाइनलमा आयोजक सहारालाई टाइब्रेकरमा ४–२ तथा सेमिफाइनलमा थ्रीस्टार क्लबलाई ३–० ले हराउँदै फाइनलमा स्थान बनाएको हो।
मनाङले क्वाटरफाइनलमा झापामाथि १–० तथा सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबमाथि ३–२ को जीत निकाल्दै फाइनल प्रवेश गरेको हो। यस वर्ष शहीद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङले पुलिसलाई २–० ले हराएको थियो। त्यसलगत्तै धरानमा भएको बुढासुब्बा गोल्डकपको फाइनलमा पुलिसको ‘बी’ टोली मनाङसँग ३–१ ले पराजित भएको थियो।
प्रतियोगिताको विजेताले रु १० लाख एक हजार तथा उपविजेताले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर तथा सर्वाधिक गोलकर्ताले रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी उत्कृष्ट गोलकिपर, डिफेण्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही रु १५ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।