सयौँको संख्यामा वीरगञ्ज सीमामा अलपत्र परेका नेपाली नागरिक भित्रिने क्रम सुरु

बिमला गुप्ता

काठमाडाै‌ं

सयौँको संख्यामा सीमा नाकामा रोकि राखिएका भारततर्फ रहेका नेपाली नागरिकहरु भित्रिने क्रम सुरु भएको छ।

सोमबार बिहान १० बजेपछि सीमा नाकामा यात्रु आवतजावत रोकिएको कारण अलपत्रमा परेका नागरिकहरुलाई स्वास्थ्य जाँच गरेर नेपालतर्फ आउन दिने सरकारको निर्देशनपछि साँझ ६ बजेदेखि रोकिएका नेपालीहरु भित्रिने क्रम सुरु भएको छ। 

झण्डै ३ सयभन्दा बढी नेपाली नागरिकलाई नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरीको निगरानीमा व्यक्तिगत विवरणसहितको फारम भरेर स्वास्थ्य परीक्षणपछि महिला र बालबालिका नेपाल भित्र्याएको शसस्त्र प्रहरी नायब उपरीक्षक अमर खत्रीले जानकारी दिए ।

सरकारले सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई आउन दिने गरेको निर्णयपछि उनीहरुले आफू नेपाली नागरिक पुष्टि हुने कागजपत्र पेश गर्नुपर्ने र उनीहरुलाई १४ दिन होम क्वारेन्टाइनमा बस्ने निर्देशनसहित त्यसको निगरानीका लागि सम्बन्धित जिल्लका प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिइएर पठाइने व्यवस्था मिलाइएको खत्रीले बताए ।

सोमबार रातिसम्म अलपत्र परेकाहरुलाई आ–आफ्नो अभिभावक तथा आफन्तको जिम्मा लगाइने र आफन्त नहुनेहरुलाई व्यवस्थित रुपमा तयार गरिएको शिविरमा राखिने समेत खत्रीले जानकारी दिएका छन् ।

प्रकाशित मिति: : 2020-03-24 10:30:48

प्रतिकृया दिनुहोस्