काेराेना संक्रमित युवतीसँगै आएका तीनसहित ७ जना क्वारेन्टाइनमा

अछुत कोपिला  

नेपालगञ्ज

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले  मन्त्रालयमा पत्रकार सम्मेलन गरेरै कोरोना संक्रमित भनिएकी १९ वर्षीया किशोरीसँगै जहाज चढेर आएका बाँकेका ३ सहित ७ जनालाई क्वारेन्टाइनमा राखिएको छ। बाँके जिल्लामा विभिन्न देशबाट आएका ७ जनालाई कोरोना छ/छैन जाँच्नलाई क्वारेन्टाइनमा राखिएको हो। 

कतारबाट कोरोना संक्रमित युवती आएको भनिएको जहाजमा बाँकेका चार जना रहेको खुलेको थियो। उनीहरुलाई क्वारेन्टाइनमा राख्न प्रहरीमा परिपत्र आएपछि खोजेर ३ जनालाई क्वारेन्टाइनमा राखेको छ भने थप १ को खोजि भइरहेको छ। 

बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहका अनुसार सरकारले खोजतलास गरिरहँदा बाँकेका ती ३ जना घरमा बसिरहेका थिए भने उनीहरु बिरामी थिएनन्। त्यसैगरी भारतबाट आएका ४ जनालाई खजुरा गाउँपालिकाको मैटहवा माविमा रहेको क्वारेन्टाइनमा राखिएको उनले बताए। 

‘१४ दिन क्वारेन्टाइनमा राखेर उनीहरुको स्वास्थ्य अवस्था बुझ्ने र उनीहरुमा संक्रमण देखिएमा उनीहरुको परिवारलाई समेत क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको छ,’ उनले भने।

सरकारले चैत्र ४ गते फ्रान्सबाट कतार हुँदै आएको जहाजमा सवार सबैलाई क्वारेन्टाइनमा राख्ने निर्देशन दिएसँगै सबैको नाम, ठेगाना पत्ता लगाएर सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा राख्न थालिएको छ। कोरोना संक्रमित युवती आएको जहाजमा बाँकेका ४ जना रहेको बताइएपनि प्रहरीले एक जनालाई फेला पारेको छैन। 

क्वारेन्टाइन निर्माणलाई प्राथमिकता
हाल बाँकेका ८ वटा स्थानीय तहले क्वारेन्टाइन निर्माणलाई प्राथमिकता दिएका छन्। प्रत्येक स्थानीय तहले सम्बन्धित पायक पर्ने स्थानमा क्वारेन्टाइन र आइसोलेसन निर्माण कार्यलाई तिव्रता दिइरहेका छन्। अहिलेसम्म नेपालगन्ज उप–महानगरपालिका, खजुरा र बैजनाथ गाउँपालिकाले क्वारेन्टाइन निर्माण गरेका छन्। 

खजुरा गाउँपालिकले २० बेडको क्वारेन्टाइन निर्माण गरेको छ। बैजनाथ गाउँपालिकाले १८ बेडको आइसोलेसन समेत तयार पारिसकेको अध्यक्ष मान बहादुर रुचाल ठकुरीले बताए। उनका अनुसार गाउँपालिकामा रहेका आठ वटै वडाका विद्यालयमा क्वारेन्टाइन निर्माण भइसकेको छ भने कोहलपुर नगरपालिकाले पनि ३५ बेडको क्वारेन्टाइन निर्माण गरिरहेको छ। 

वडा नम्बर ९ स्थित कृषि विकास बैंकको भवनलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्नको लागि तीव्र रुपमा काम भइरहेका नगरप्रमुख लुटबहादुर रावतले बताए। राप्तीसोनारी, डुडुवा, नरैनापुर र जानकी गाउँपालिकाले समेत क्वारेन्टाइन निर्माण कार्य थालिसकेका छन्। 

यस्तै बाँके जिल्लामा लागू गरिएको लकडाउनको क्रममा स्थानीयहरुबाट लापरबाही भएकोले सुरक्षा समितिको बैठक बसेर थप निर्णय लिइने बाँके जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए।

प्रकाशित मिति: : 2020-03-27 02:49:19

प्रतिकृया दिनुहोस्