भोलि शनिबारदेखि कालीमाटी फलफूल तथा तरकारी बजारमा खुद्रा कारोबार बन्द

कालीमाटी फलफूल तथा तरकारी बजारमा शनिबारदेखि खुद्रा कारोबार बन्द हुने भएको छ। सरकारले कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्न भन्दै लकडाउन घोषणा गरेको ११ औं दिन बितिसक्दा पनि बजार खुल्दै आएको थियो। लकडाउनको समयमा पनि बिहान तरकारी किन्नेहरु बजार पुग्दै आएका थिए।

तर, बजारमा भीडभाड बढिरहेको परिस्थिति र कोरोना भाइरस संक्रमण फैलिन सक्ने अवस्थालाई मध्यनजर गर्दै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले लकडाउन अवधिभरका लागि बजार बन्द गर्ने निर्णय गरेको हो।

जसअनुसार भोलिबाट बजारभित्र रहेका खुद्रा बजार र किसान बजार पूर्ण रुपमा बन्द गरिने भएको छ।

यस अवधिमा थोक बिक्रीका लागि ल्याइएको बोरा, क्रेट प्याकेजिङ गरि राखिएको तरकारी र फलफूललाई नखोली जस्ताको त्यस्तै बिक्री वितरण गरिनेछ। बजारमा नेपाल बाहिरबाट आउने तरकारी र फलफूलाई पूर्ण रुपमा प्रतिबन्ध लगाइनेछ।

यस्तै, बजारमा थोक खरिद गर्न आउनेहरुका चारपाङग्रे सवारी साधनलाई मात्रै प्रवेश दिइने भएको छ। मोटरसाइकल वा साइकल प्रयोग गरि खरिद गर्न आउने व्यवसायी र उपभोक्तालाई प्रवेश दिइने छैन।

समितिले मोटरसाइकल वा साइकलबाट व्यवसायी र उपोभोक्ताहरुलाई आ–आफ्नो क्षेत्रमा रहेका तरकारी र फलफूलजन्य पसलबाट सामान खरिद गर्न आग्रह गरेको छ।

खुद्रा बजार बन्द भएसँगै पैदल यात्रु र फुटकर उपभोक्तालाई बजार प्रवेशमा रोक लगाउने निर्णय गरिएको छ।

प्रकाशित मिति: : 2020-04-03 21:40:13

प्रतिकृया दिनुहोस्