कोरोना कहरमा डाक्टर भन्छन्- ‘हामी युद्धभूमिका सिपाही जस्तै हौं’ (भिडिओसहित)

कोभिड-१९ को उपचारमा खटिएका चिकित्सकहरू आफू संक्रमित भइएला भन्ने चिन्ता खासै नभएको तर, आफ्ना कारण अरूमा संक्रमण नफैलियोस् भन्नेमा सचेत भएको बताउँछन्।

देखापढी

काठमाडौं

 विश्वव्यापी महामारीका रूपमा रहेको कोभिड-१९ का कारण नेपाल पनि लकडाउनमा छ। सरकारले सबैैलाई घरभित्रै बस्न आग्रह गरेको भए पनि अत्यावश्यक क्षेत्रमा काम गर्ने व्यक्तिलाई भने काममा नगई सुखै छैन। स्वास्थ्यकर्मीहरु त्यस्तै वाध्यतामा छन्। यद्यपी धेरैले यसलाई बाध्यता भन्दा पनि सेवा गर्ने अवसरका रुपमा लिएको बताउँछन्। 

अहिलेको विशेष अवस्थामा थपिएको जिम्मेवारी निर्वाह गर्न रातदिन खटिएका नर्स तथा चिकित्सकहरुसँग हामीले कुराकानी गरेका छौं। उनीहरुमध्ये धेरैले उपचारमा खटिँदा आफू संक्रमित भइएला कि भन्ने चिन्ता खासै नभएको बताए, बरु आफू संक्रमित भएर उपचारमा लाग्दा अन्यलाई पनि सर्नसक्ला कि भन्ने आशंकाले उनीहरुलाई सताउने रहेछ।
केही डाक्टर तथा नर्सको अनुभव यस्तो छः

ज्वाला ढकाल, ईन्फेक्सन कन्ट्रोल नर्स, सिभिल अस्पताल

कोरोना भाइरसको संक्रमण ९ जनामा देखिइसकेको छ। हामी फ्रन्टलाइनमा बसेर काम गर्नुपर्ने जिम्मेवारीमा छौं। बिरामीलाई प्रत्यक्ष भेटेर उपचार गर्नुपर्छ। अन्य देशमा स्वास्थ्यकर्मी पनि संक्रमित भएको, मृत्यु नै भएको समाचार आएका छन्। जोखिम त छ। 

यसअघि पनि विभिन्न प्रकोप वा रोग फैलिएको समयमा पनि काम गरेका थियौं। तर, यो अलि भिन्न प्रकारको छ। त्यसैले अतिरिक्त सचेतना आवश्यक छ।

सरकारले लकडाउन घोषण गरेको छ। सबै घरमा बसिरहेका छन्। हामी काममा आइरहेका छौं। कतिठाउँमा स्वास्थ्यकर्मीलाई घरबेटीले घर छाड्न भनेको समाचार पनि आइरहेको छ। त्यसैले समस्या त छ। तर, यस्तोबेला काम गर्दिनँ भनेर पनि हुँदैन। सेवा गर्छु भनेर नै यसमा करियर खोज्दै आएका हौं। अहिले नगरे कहिले गर्ने ? 

हामीमा अझ धेरै जिम्मेवारी थपिएको छ अहिले। सबैले हामीसँग आशा राखेका हुन्छन्। हामीलाई पनि डरै नलाग्ने त होइन। तर, सुरक्षाका लागि आवश्यक सबै व्यवस्था भइदिए हाम्रो पनि मनोबल बढ्थ्यो।  
 

प्रकाशित मिति: : 2020-04-04 22:17:16

प्रतिकृया दिनुहोस्