तराईमा भेटिएका कोरोना संक्रमितको ‘केस हिस्ट्री’ मा चिकित्सक र स्वास्थ्य मन्त्रालयबीच अन्यौलता

चैत ३० गते वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा बस्दै आएका तीन भारतीय नागरिकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये दुई जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए।

सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरु वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा आएको स्थानीयले बताएका छन्।

यसैगरी उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा बसिरहेका १२ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। १२ मध्ये एक नेपाली र अरु भारतीय छन्।

त्यसैगरी रौतहटमा पनि मस्जिदमा रहेका १ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो। पछिल्लो समय देखिएको कोरोना संक्रमण एकै ठाउँमा बसेका मानिसमा नभए पनि सबै जना धर्म सभामा भाग लिन आएको बताइएको छ। 

उदयपुरमा भेटिएका संक्रमितलाई प्रदेश–१ सरकारले बिराटनगरस्थित कोशी अस्पतालमा बनाएको कोरोना विशेष अस्पतालमा राखिएको छ। संक्रमितसँगै आएका चार जनालाई भने मोरङको टाँडीस्थित क्वारेन्टाइनमा राखिएको छ। 

संक्रमित व्यक्तिमा देखिएको कोरोना संक्रमण बाहिरबाट आएको हो वा उनीहरु नेपाल आइसकेपछि उनीहरुलाई कसैको संक्रमण सरेको हो भन्ने विषयमा चिकित्सक तथा स्वास्थ मन्त्रालयका पदाधिकारीबीच अन्यौल रहेको श्रोतले बतायो। 

‘संक्रमित व्यक्तिले ४ महिनाअगाडी नै नेपाल आएको बताएका छन्’, स्वास्थ्य विभाग श्रोतले बिएल नेपाली सेवालाई भन्यो–‘ यदि उनीहरु ४ महिनाअगाडी नै नेपाल आएको भए कोरोना संक्रमण आयातित हो भन्न सक्ने अवस्था छैन। यदि उनीहरुले झुठ बोलेका हुन् भने ‘लकडाउन’ को समयमा कसरी नेपाल भित्रिए? यो गम्भीर प्रश्न हो।’

वीरगञ्जमा संक्रमित व्यक्ति गएका ठाउँमा ६ सय जनामा र्‍यापिट टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको छ।

संक्रमित व्यक्ति वरिपरि रहेका अन्यमा संक्रमण पोजेटिभ नदेखिएकोले यो केस स्थानीय हो भन्न सक्ने अवस्था  छैन। 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु स्रोतका अनुसार वीरगञ्जका तीन जनामा देखिएको संक्रमण नयाँ पाइएको हो। उदयपुरमा भेटिएका १२ मध्ये आठ जनामा देखिएको भाइरस संक्रमण पनि नयाँ हो।

उदयपुरमा भेटिएका बाँकी चार जनामा १४ दिनभन्दा अगाडी संक्रमण भएर निको हुने क्रममा रहेको चिकित्सक बताउँछन्।

त्यसो भए उनीहरू ‘लकडाउन’ को समयमा भारतबाट  नेपाल भत्रिएका हुन् त भन्ने बिएल नेपाली सेवाको प्रश्नमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटा भन्छन्, ‘यो केसमा अहिले नै केहि भन्न सक्ने अवस्था छैन। पछिल्लो समयमा देखिएको संक्रमणको विषय निकै गम्भिर छ। त्यसैले यस विषयमा हामी नयाँ रणनीतिका साथ अगाडी बढ्नुपर्छ भन्नेमा दुईमत छैन। यस विषयमा आजै हामी व्यापक छलफल गर्दैछौ।’ 

उनीहरुमा दैखिएको संक्रमण धेरै पुरानो भन्ने अवस्था छैन। जीवाणु वैज्ञानिकहरू यस्तो केसलाई ‘एक्टिभ स्ट्रोङ केस’ भन्छन्। मानव शरीरमा भाइरसको संक्रमण भएको सातदेखि १४ दिनको अवधिमा भाइरस एक्टिभ रहन्छ। यो अवस्थामा संक्रमित व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्कमा आएकाहरूलाई भाइरस सार्नसक्ने उच्च सम्भावना हुन्छ।

जनस्वास्थ्य विज्ञहरूका अनुसार अति एक्टिभ केसले छिटोभन्दा छिटो र धेरैभन्दा धेरै मानिसलाई संक्रमण गराउन सक्छ। र, संक्रमण भएको अवधिमा उनीहरू ‘सेल्फ क्वारेन्टाइन’ मा नबसेको भए यस्तो केसले महामारी फैलाउन सक्छ।

संक्रमितले सही सूचना नदिएका कारण ‘ट्राभल हिस्ट्री’ पत्ता लगाउन गाह्रो भएको दुवै केसमा एउटै समानता देखिएको छ।

‘कन्ट्याक ट्रेसिङ’ को जिम्मा पाएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चैत ३० गते संक्रमण पुष्टि भएको वीरगञ्ज–२ छपकैयास्थित मस्जिदमा भेटिएका तीन भारतीयको पनि ‘कन्ट्याक ट्रेसिङ’ गर्न सकेको छैन।

यो अवस्था हेर्दा धर्म सभाको  लागि भनेर भित्रिएका मानिसको सम्पर्कमा रहेका मानिसहरूलाई र्‍यापिड टेस्टमात्र गर्दा उनीहरूमा संक्रमण देखिएन भन्नु आमनागरिकको आँखामा छारो हाल्नु मात्र हो।

र्‍यापिड टेस्टको भरमा परेर उनीहरुको सम्पर्कमा रहेका हजारौ मानिसलाई समुदायमा घुलमिल हुनदिँदा यसले भोलिका दिनमा नेपालमा अन्य सैयाैंमा संक्रमण फैलिदैन भन्न सकिदैन। तसर्थ स्वास्थ जस्तो संवेदनशील विषयमा स्पष्ट तथ्यबाहिर ल्याउनको लागि पछिल्लो समय कोरोना संकमित व्यक्तिहरुको सम्पर्कमा रहेका सबै व्यक्तिको तत्काल पिसीआर परीक्षण गर्नु अत्यन्तै जरुरी देखिन्छ।  

प्रकाशित मिति: : 2020-04-20 16:23:00

प्रतिकृया दिनुहोस्