काल निम्त्याउँदै भीड, मधेशमा ‘लकडाउन’ उल्लघंनकाे घटना तीब्र

गत आईतबार औद्योगिक नगरी वीरगञ्जमा एकै पटक तीन भारतीय नागरिकमा कोरोना संक्रमण भेटिएपछि कोरोनाको कहर झेलिरहेको सिँगो देश तरंगित बन्यो। तर, महोतरीको बर्दिवास नगरपालिका–६ स्थित किसाननगरमा एउटा भव्य पञ्चायत चलिरहेको थियो।

वीरगञ्जमा ३ जनासँगै देशमा कोरोना संक्रमितको संख्या बढेको समाचार सार्वजानिक हुँदै गर्दा द्रुतगतिमा चलिरहेको पञ्चायतमा महिला, बालबालिका र समाजका भद्रभलादमी देखिलिएर पढालेखा युवाको जमात उपस्थित थियो। भीड हेर्दा लाग्थ्यो कोरोना भाइरसको संभावित संक्रमण रोकथामबारे पञ्चायतमा सहभागीमध्ये धेरै जानकार छन्। 

पञ्चायत बस्नुको चुरो कारण थियो, अंश विवाद। पञ्चायतमा सहभागी थिए, करिव ३५ देखि ४० व्यक्तिको समूह। पञ्चायत ‘लकडाउन’ उल्लघंनको एउटा ज्वलन्त दृष्टान्त थियो। मधेशतिर अझै पनि उत्पन्न विवाद मिलाउन बस्ने समाजको बैठकलाई पञ्चायत भन्ने गरिन्छ।

एक साताअघि अंश विवाद हुँदा बहिनी मञ्जुकुमारी महतोले आफ्नो दाजु सञ्जय महतोमाथी खुकुरी प्रहार गरेकी थिइन। यसैलाई लिएर सुरु भएको पञ्चायत बिहान ८ बजे सुरु भएर बेलुकी करिव ५ बजे टुङ्गो लागेको थियो। पञ्चायतमा १७ कट्ठा दश धुर जग्गा सञ्जयका दुई दाजुभाई र आमाबुवाको एक फाँट गरि तीन भागमा बराबरी बाँडफाँड गरि टुङ्गिएको थियो।

बहिनी मञ्जुको बिवाहमा जनही २ लाखको दरले ६ लाख रुपैयाँ दिनुपर्ने शर्त राखिएको छ। सञ्जय परिवारको सामूहिक एकतले पक्कि घरको पछाडिको फूलबारीको छहारीमा भएको पञ्चायतको निर्णय मान्ने पक्षमा भने आमा तयार देखिदैन थिइन। बहिनी मञ्जु पञ्चायतवारे आफूलाई कुनै चासो नरहेको बताइरहेकी थिइन। 

‘लकडाउन’ उल्लघंन गरेकोमा निन्दाभन्दा पनि पञ्चायतले गरेको निर्णयको सर्वत्र प्रशंसा भयो। परिवारको अंश विवादमै यसअघि तीन पटक वडाध्यक्षको अगुवाईमा भएका छलफल आमा कै अडानका कारण निणर्यविहिन बनेका थिए। यस पटक पञ्चायतको निर्णय मान्छौँ भनेर सञ्जय परिवारले कागज गरेपछि मात्रै पूनःपञ्चायतमा सहभागी हुन छरछिमेक सहमत भएका थिए। पञ्चायतले गरेको निर्णयको कागजमा पनि अंश विवादमा संलग्नले हस्ताक्षर गरिसकेका छन्। 

किसाननगरको यस घटनालाई झल्को दिनेगरि सोमवार फेरी अर्को लकडाउन उल्लघंन गर्दै बर्दिवास नगरपालिकासँगै सीमा जोडिएको धनुषाको मिथिला नगरपालिका–७ स्थित ढल्केवर गाउँमा पनि पञ्चायत बस्यो। संयोग पनि कस्तो भने अघिल्लो दिन वीरगञ्जमा तीनजना भारतीयमा कोरोनाको संक्रमण देखिएको समाचार भाइरल भइरहँदा बर्दिवासको किसाननगरमा पञ्चायत बसेको भोलिपल्ट रौतहटमा एक ब्यक्तिमा कोरोना संक्रमण देखिएको थियो। त्यो दिन पनि ढल्केवर गाउँमा पनि पञ्चायत चलिरहेको थियो। 

प्राप्तजानकारी अनुसार खाद्यपदार्थ वितरण पक्षपात गरेको भन्दै स्थानीय मेघ सेञ्चुरीले खाद्यपदार्थ वितरण समितिको सदस्य रहेकी आफ्नै छिमेकी ललिता महतो माथी अपशव्द प्रयोग गरेको विषयमा पञ्चायत बसेको थियो। पञ्चायतमा महिला सञ्जालका प्रतिनिधि कल्पना कँडारी, विना कँडारी लगायत स्थानीयको बाक्लो उपस्थिति थियो। सेञ्चुरी गएको स्थानीय चुनावमा हारेका वडाध्यक्षका स्वतन्त्र उमेदवार हुन् भने ललिता महिला सञ्जालकी स्थानीय सदस्य हुन्। ‘लकडाउन’ उल्लघंन हुनेभन्दै पञ्चायत छिटै टुँग्याइएको थियो।

लकडाउन उल्लघंनमा जनप्रतिनिधी नै ‍

गत साता धनुषाको मिथिला नगरपालिकाको वडा–७ एक्लेवरस्थित निम्न माध्यामिक विद्यालय प्रांगणमा एकाएक मान्छेको भीड लाग्यो। राहत सामग्री लिन वडाध्यक्ष युवराज उप्रेतीले निमन्त्रण दिएकाले आफूहरू जम्माभएको गाउँले वताइरहेका थिए। करिव डेढ सय ब्यक्ति त्यसदिन खाद्य सामाग्री लिन हानाथाप गरिरहेका थिए। राहत वितरण स्थलमा लागेको भीडमा अधिकांश महिला, केही पुरुष तथा बालबालिका थिए। उपस्थित महिलाहरू एक आपसमा टाँसिएर बसेका देखिन्थे भने उभिएर कुराकानी गरिरहेका देखिन्थे। उनीहरुमा कोरोना भाइरसको रत्तिभर त्रास देखिदैन थियो।

कोरोना भाइरस एक अर्कामा सर्ने रोग भएकाले विश्व स्वाथ्य संगठनले मानिस–मानिसबीच दूरी बनाउन सुझाएकोबारे भीडका सबै बेखवर जस्तै देखिन्थे। संघीय सरकार र प्रदेश सरकारले बनाएको राहत वितरण कार्यविधिमा समेत डेढदेखि २ मिटरको दूरीमा राखेर राहत वितरण गर्न भनिएको छ। तर त्यहाँ यस नियमको पालना गरिएको देखिदैन थियो। राहत वितरणका लागि संकलन गरिएको नाम र मानिसबीच यकिन गर्न तथा सहिछाप गर्न समय लागेको हुनाले मुलगेट अगाडी भीड देखिएको वडा अध्यक्ष युवराज उपे्रतिले बताए। त्यहाँ सुरक्षार्थ खटिएका ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी जवान मुकदर्शक बनेर उभिइरहेका थिए।

राहत सामग्री मापदण्डभन्दा कम वितरण  गरेको गुनासो भीडमा सुनिन्थ्यो। मिनपाले वितरण गरिरहेको खाद्यन्य सामग्रीमा १५ किलो चामल, २ किलो दाल, १ किलो नुन र आधा लिटर खाने तेल थियो। संघीय र प्रदेश सरकारले राहत वितरण सम्बन्धि निर्देशिकामा ३० किलो चामल, ३ किलो दाल, २ किलो नुन, २ लिटर खाने तेल, २ किलो चिनी र ४ थान साबुन वितरण गर्नुपर्ने उल्लेख गरिएको छ।

भीडमा एक महिलाले सरकारको निर्देशन विपरित कम खाद्य पदार्थ वितरण गरेकोमा असन्तुष्टी जनाइरहेकी थिइन। आफ्नो घरमा ८ जनाको परिवार रहेको बताउँदै ती महिला भन्दै थिइन, ‘३० किलो चामल दिएको भए केहि दिनलाई राहत हुन्थ्यो। यो चामलले कति दिनलाई पुग्छ?’ सरकारले तोकेअनुसारको सामान पाउनु पर्ने माग उनको थियो। 

नगर प्रमुख हरिनारायण महतोले राहत सामग्री घेरै घरपरिवारलाई बाँड्नु परेकोले मापदण्डभन्दा केही कम खाद्यन्य सामग्री वितरण गर्नु परेको बताइरहेका थिए। उनले वडा जनप्रतिनिधिले उपलब्ध गराएको नामावालीअनुसार मिथिला नगरपालिकामा ५ हजार १ सय घरपरिवारलाई राहतवितरण गरिने बताए। राहत सामग्री वितरणका लागि मिथिला नगरपालिकालाई प्रदेश सरकारले १५ लाख रुपैयाँ उपलब्ध गराएको छ।

त्यो रकमले अपुग हुनेस्थिति देखिएपछि नपाको संयोजनमा राहत वितरण गरिरहेको नगर प्रमुख महतोले बताए। राहत सामग्री खरिदमा झण्डै ५१ लाखभन्दा बढी खर्च हुने अनुमान नगर प्रमुख महतोको थियो। तर भीड जम्मा गरेर राहत वितरण गर्नु ‘लकडाउन’ उल्लघंन भएकोबारे भने मेयर महतो बोलिरहेका थिएनन्। त्यस दिन करिब १ सय ७५ जनालाई राहत स्वरुप खाद्य सामाग्री वितरण गरिएको थियो।

खाद्यन्न वितरणकै विषयमा यसअघि विवाद भएपछि महोत्तरीको गौशला नगरपालिका वडा–६ को वडा कार्यालयमा पनि भीड भेला भएर वडा कार्यालय घेराउ गरिएको थियो।

विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संभावित संक्रमण रोक्न सरकारले पटपटक म्यादथप गरेर ‘लकडाउन’ लम्ब्याइरहेको छ। तर, कोरोना भाइरस संक्रमण रोकथामबारे मधेशको समाजमात्रै होइन, जनप्रतिनिधि समेत गम्भीर नभएको प्रमाणको रूपमा माथिका घटनालाई लिन सकिन्छ। कोरोना भाइरस संक्रमितको संख्या १४ मध्ये प्रदेश दुईमा मात्रै ४ जना संक्रमित भेटिएको प्रति प्रदेशका सबै सजग बन्न आवश्यक देखिन्छ। दिनहुँ संक्रमितको संख्या बढिरहँदा मधेशका ग्रामिण भेगमा भने ‘लकडाउन’ उल्लघंनका घटना बढ्नु पक्कै राम्रो संकेत होइन। 
santoshbaraili@gmail.com


 

प्रकाशित मिति: : 2020-04-21 09:10:00

प्रतिकृया दिनुहोस्