कोरोनाको कारण डोल्पामा पहिलो पल्ट यार्सागुम्बा संकलनमा रोक

कोरोना भाइरस (कोभिड–१९) जोखिम नघटेकाले यस वर्ष डोल्पामा यार्सागुम्बा संकलनका लागि पाटन जान नपाइने भएको छ। 

पाटनानमा यर्सागुम्बा संकलन गर्न जानेहरुबाट कोरोना संक्रमणको खतरा रहेकोले विपत् व्यवस्थापन समितिले यस्तो निर्णय बताएको छ।

डोल्पा कर्णालीको सबैभन्दा धेरै यार्सागुम्बा पाइने जिल्ला हो। सुन भन्दा बहुमूल्य मानिएको यार्सागुम्बा संलकन गर्न यस वर्षको लागि रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले डोल्पाले जनाएको छ।

कोरोनाका कारण देश लकडाउन भएको तथा यार्सागुम्बा संकलन गर्न जाँदा भिड बढ्ने र संक्रमणको खतरा रहेकोले रोक लगाउने निर्णय गरिएको जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला प्रशासन अधिकारी सुरेश सुनारले बताए।

 ‘देशभरबाट हजारौं मानिसहरु यर्सागुम्बा संकलन गर्न आउँछन्,’ उनले भने,‘ यसले थप जोखिम हुने हुँदा यस वर्ष पाटन जान नपाइने निर्णय गर्नु परेको हो।’

डोल्पा डिभिजन वन कार्यालय अन्तर्गत सामुदायिक वन र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको मध्यवर्ति सामुदायिक वनका पाटनमा यार्सागुम्बा पाइन्छ। यार्सागुम्बा संकलनमा रोक लगाउँदा कर्णालीबासीको सबैभन्दा ठूलो आम्दानीको स्रोत रोकिने स्थानीयले बताएका छन्। यार्सागुम्बा पाइने वन करिब ७० प्रतिशत क्षेत्र निकुञ्जभित्र पर्छ।

यार्सागुम्बा संकलनबाट डोल्पा लगायतका नागरिकले राम्रो आम्दानी गर्ने भएकाले संकलन गर्न नपाइने हुँदा आर्थिक मन्दी हुन सक्ने शे–फोसण्डो स्थानिय नरबीर रावत बताउँछन्। ‘यहाँका मानिसको आम्दानीको पहिलो स्रोत यार्सा हो,’ उनले भने, ‘संकलन गर्न रोके आर्थिक मन्दीको सम्भावना बढ्ने छ।’

डोल्पामा प्रत्येक वर्ष करिब १० हजार भन्दा बढी नागरिक यार्सागुम्बा संकलन गर्न जाने गरेको उद्योग वाणिज्य संघको तथ्यांक छ। ठूलो भूगोलका कारण चोरिको सम्भावना रहेको संघका अध्यक्ष लालीमान बुढा बताउँछन्। ‘यार्सा संकलन गर्न रोक लगाएपनि चोरी हुने खतरा छ,’ उनी भन्छन्,‘ ठूलो परिमाणमा संकलन हुने राजस्व पनि गुम्ने छ।’ 

डोल्पामा जिल्ला बाहिरका नागरिकलाई तीन हजार, जिल्लाबासीलाई दुई हजार र निकुञ्ज भित्रको मध्यवती क्षेत्रका बासिन्दालाई पाँच सय शुल्क लिएर यार्सागुम्बा संकलनमा अनुमति दिने गरिएको थियो।

डोल्पालीका अनुसार २० वर्षभन्दा अगाडि थालिएको यार्सागुम्बा संकलनमा पहिलो पल्ट रोक लगाइएको हो।
 

प्रकाशित मिति: : 2020-04-21 22:23:27

प्रतिकृया दिनुहोस्