काेराेना संक्रमितकाे संख्या ५१ पुग्याे, वीरगञ्जमा थप २ मा पुष्टि

वीरगञ्जमा थप २ जनामा कोरोना भाइरस (कोभिड–१९)  पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या ५१ पुगेको छ।

वीरगञ्ज महानगर वडा नम्बर २ र ३ का दुई पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए।

यसअघि कोरोना संक्रमणको पुष्टि भएका छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन भारतीय जमातीसँगको सम्पर्कमा रहेका दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको सहायक प्रजिअ बस्नेतले बताए।  

सहायक प्रजिअ बस्नेतका अनुसार कोरोना संक्रमित भारतीय जमातीसँग सम्पर्कमा रहेका वीरगञ्ज महानगर वडा नम्बर १,२ र ३ का १४६ जना र पर्सा जिल्लाका विभिन्न क्वारेन्टाइनमा राखिएका ४१ गरी १८७ जनाको स्वाब संकलन परीक्षणका लागि काठमाडौं पठाइएको थियो। सो मध्ये आइतबार बिहानसम्म ८२ जनाको रिपोर्ट आएको छ। जसमा दुई जनाका कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको हो।  

ती मध्ये वीरगञ्ज–३ छपकैयाका ४९ वर्षीय पुरुषलाई प्रहरीले नारायाणी अस्पताल वीरगञ्जमा ल्याएको छ। उनी वीरगञ्ज महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारी रहेका छन्। 

अर्का वीरगञ्ज–२ घुसुकपुरका ५५ वर्षीय पुरुषलाई पनि अस्पताल ल्याइएको छ। उनलाई शंकास्पद ठानी सिदार्थ माविको क्वारेन्टाइनमा राखिएको थियो। 

उपचाररत ४ कोराेना संक्रमित आज डिस्चार्ज हुँदै


वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितलाई आज डिस्चार्ज गर्ने तयारी गरिएकाे छ। नारायणी अस्पतालमा ७ संक्रमित उपचाररत छन्। त्यसमध्य छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका एक युवकको पीसीआर परीक्षणको तेस्रो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएकाे हाे।

तेस्रो पटक पीसीआर परीक्षणका लागि चारजना संक्रमितको स्वाबको नमूना संकलन गरी तीन दिनअघि हेटौंडास्थित प्रादेशिक प्रयोगशाला पठाइएको थियो। शुक्रबार गरिएकाे परिक्षणमा तीनै जनाकाे रिपोर्ट नेगेटिभ आएको अस्पतालका मेडिकलसुपरीटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए।

चारैजनाको पछिल्लो रिर्पाेट नेगेटिभ आए पनि पुनः अन्तिम पटकका लागि शुक्रबार थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणको लागि पठाइएको र चाैथाे रिपाेर्ट पनि नेगेटिभ आएकाे बताए। यो रिपोर्टको नतिजाको आधारमा चारजना संक्रमितलाई डिस्चार्ज गर्ने तयारी भइरहेको  मेडिकलसुपरीटेन्डेन्ट उपाध्यायले जानकारी दिए।

‘संक्रमितको अवस्था सामान्य छ, तेस्रो पटक गरिएको पीसीआर परीक्षणमा सबैको नजिता नेगेटिभ आएको छ,’ उनले भने। उनका अनुसार चारजनाको तेस्रो रिपोर्ट नेगेटिभ आएपछि सर्लाहीका एकजनालाई भने छुट्टै राखेर उपचार गरिएको छ।

छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय जमातीमा कोरोना संक्रमण देखिएपछि वीरगञ्ज-२ छपकैया र आसपासको क्षेत्रलाई सिल गरिएको छ।

प्रकाशित मिति: : 2020-04-26 12:04:29

प्रतिकृया दिनुहोस्