९ औलाका बाबजुद विकेटकिपिङ गर्थे पार्थिव पटेल

एजेन्सी

नयाँ दिल्ली

भारतीय क्रिकेटको इतिहासमा एक जना यस्ता विकेटकिपर जन्मिए, जसले ९ वटा औलाका बाबजुद आफ्नो पुरै करिअरमा विकेटकिपिङ गरे। यी खेलाडी अरु कोही नभएर पार्थिव पटेल थिए, जो किशोर अवस्थामै भारतीय टेस्ट टोलीसँग जोडिए। 

पार्थिव सन् २००३ को विश्व कपमा भारतीय टोलीको सदस्य थिए। भारतीय टिममा महेन्द्रसिंह धोनीको आगमनसँगै उनी ओझलमा पर्न थाले। तर, घरेलु क्रिकेटमा पार्थिवको योगदान उच्च मानिन्छ। 

घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शनकै कारण सन् २०१८ मा उनलाई दक्षिण अफ्रिकाको जोहानेसबर्ग टेस्टमा भारतीय टिममा फर्किने अवसर प्राप्त भएको थियो। क्रिकेटमा धेरै मानिस मात्र उनको विषयमा जानकार छन्। ‘पकेट डाइनामाइट’ को उपनामले चिनिने पार्थिवको बायाँ हातको कान्छी औला थिएन।

पार्थिवले हालै आफ्नो जीवनको त्यो घटना सम्झिँदै भनेका छन्, ‘म ६ वर्षको थिए। मेरो कान्छी औला काटिँदा। बायाँ हात ढोकामा अल्झियो। जसका कारण मैले औला गुमाउनु पर्यो।’ 

उनले नौ औलाले विकेटकिपिङ गर्न सहज नभएको बताउँदै अभावका बाबजुद भारतीय टिमको नेतृत्व गर्नु सुखद कुरा भएको बताए। ‘दशवटा औलाका लागि ग्लोब्स बनेको हुन्थ्यो। मेरो नौ वटा मात्र थियो। यति बेला ग्लोब्स लगाउन गाह्रो हुन्थ्यो,’ उनले भनेका छन्। 

उनले यसका लागि कान्छी औलाका लागि बनाइएको ग्लोब्समा टेप लगाउने गरेको बताए। ‘अफ्ठेरो नहोस् भनेर म कान्छी औलाको ग्लोब्समा टेप लगाउँथे। निकै गाह्रो पथ्र्यो। तर मेरो ट्रिकले काम गर्यो।’

३५ वर्षीय पार्थिवले सन् २००२ मा टेस्ट क्रिकेटको सबैभन्दा कान्छो विकेटकिपरको इतिहास रच्ने क्रममा इंग्ल्याण्डविरूद्ध ट्रेण्डब्रिज टेस्टमा डेब्यु गरेका थिए। उनी त्यति बेला १७ वर्ष १ सय ५३ दिनका थिए। यसअघि यो कीर्तिमान पाकिस्तानका विकेटकिपर हनिफ मोहम्मदको नाममा थियो। हनिफले १७ वर्ष ३ सय दिनमा डेब्यु गरेका थिए। 

उनले पहिलो टेस्टमा घण्टौं ब्याटिङ गरेर हारबाट टोलीलाई जोगाएका थिए। उनले कूल २५ टेस्टमा ९ सय ३४ रन मात्र बनाएका छन्। यस्तै ३८ एकदिवसीयमा ७ सय ३६ रन मात्र बनाएका थिए।  
 

प्रकाशित मिति: : 2020-04-26 14:31:03

प्रतिकृया दिनुहोस्