इंग्लिस प्रिमियर लिग फुटबलको यो सिजनका बाँकी खेलहरु सुरु गर्ने प्रक्रियाको पहिलो चरण आउँदो सोमबारदेखि थालनी हुने अपेक्षा प्रशिक्षकहरुको छ। खेल सुरु गर्ने सम्बन्धी आधिकारिक प्रोटोकल मंगलबार खेलाडी तथा प्रशिक्षकलाई पठाइएको थियो।
कोरोना भाइरसको महामारीका कारण रोकिएको प्रोजेक्स रिस्टार्टले पहिलो चरणको टिम प्रशिक्षणमा पाँच भन्दा बढी खेलाडी सामेल हुन नपाउने, मैदानलाई डिस्इन्फेक्ट (निःसंक्रमण) गर्नेसहितका योजना ल्याइएको छ।
कर्नरको झण्डा, बल, कोन्स, गोलपोस्ट तथा मैदान डिस्इन्फेक्ट गर्ने यो प्रोटोकलमा उल्लेख छ। रंगशालामा प्रशिक्षणदेखि सबै प्रक्रियामा सामाजिक दूरी अनिवार्य रुपमा पालना गरिने गरी योजना बनाइएको छ।
केही दिन प्रशिक्षण पूर्व खेलाडीसहितलाई स्वास्थ्य सम्बन्धी विस्तृत विवरण भर्न लगाइने र तापक्रम मापन गरिने छ। यस्तै हरेक दुई हप्तामा कोभिड–१९ को परीक्षण हुने छ। प्रिमियर लिगका खेलहरु गएको मार्च १३ देखि रोकिएका छन्। लिगका ९२ खेल हुन बाँकी छ।