कोरोनासँग मानवजातिको लडाईं: विजय अवश्यम्भावी छ

  • तर्क गर्न सकिएला, जन्म र मृत्यु स्वभाविक प्रक्रिया हो। जन्मेपछि मृत्यु अवश्यम्भावी छ। सामान्य रूपमा हेर्दा यो स्वयंशिद्ध तथ्यमा असहमत हुनुपर्ने कारण छैन। तर, हरेक मृत्युको कारण खोजिन्छ। प्रभाव विश्लेषण गरिन्छ। कारण नखोजेको र प्रभाव विश्लेषण नगरेको कुनै त्यस्तो मृत्यु छैन।

  • गम्भीर क्षति व्यहोर्दै मानवजातिले ‘दी ब्ल्याग प्लेग’, ‘स्पेनिस फ्लु’ जस्ता करोडौंको ज्यान लिने महामारीमाथि जीत हाँसिल गर्दै आइरहेको छ। यथास्थितिको चक्रलाई तोड्ने ब्रेकरको रुपमा लिदै नकारात्मक गुरुका रुपमा कोरोना (कोभिड–१९) लाई सदुपयोग गर्न सक्नु हाम्रो बुद्धिमानी ठहरिने छ।

  • असिना पानीले चुटेर भिज्दै आएको परिवारको सदस्यका लागि घरको ढोका बन्द गर्न सकिएला र? घरप्रति र घर मुलीप्रतिको उसको हेर्ने नजर कस्तो होला? उसको मनोविज्ञानमा पर्ने असरको हेक्का राख्नुपर्ला कि नपर्ला?


यो आलेख तयार गरिरहँदा शायद यो धर्तीमा कसैले जीवनको अन्तिम सास लिइरहेको छ। केवल सुस्वास्थ्यको कामना गर्दै टुलुटुलु हेरिरहन उसका आफन्तजन बाध्य छन्। चाहेर पनि स्पर्श गर्न सकिरहेका छैनन्। मृत्यु कुरेर बसिरहेका छन्। दाहसंस्कार कसरी गर्ने भन्ने चिन्ताबाट मुक्त हुन सकेका छैनन्। हरेकले चाहन्छ, प्रियजनको अन्तिम संस्कारमा सहभागी हुन पाइयोस्। कोरोनाले यी चाहनामा असिना वर्षाइदिएको छ। मलामी जान सरकारको अनुमति चाहिने नियतिबाट सिंगो मानवजाति गुज्रिरहेको छ। जीवनका कठिन घडीमा उसलाई भौतिक रूपमा सघाउन पाइयोस्। मरणलाई सहज बनाउन सकियोस्। मृतकको पार्थिक शरीरलाई अंकमाल गरेर धित मरून्जेल रून पाइयोस्। आफन्तजनको कठिन घडीमा भौतिक सामिप्यता स्थापित गर्न सकियोस् भन्ने चाहनामाथि चिसो पानी खन्याइदिएको छ। अत्येष्टिमा सहभागी हुने संस्कार संकटमा परेको छ। मानिसले मानिससँग डराउने बिडम्वना निम्तिएको छ। मलामीको संख्याबाट समाजमा व्यक्तिले गरेको योगदानको मूल्याङ्कन गर्ने मानक एका देशको कथा भएको छ। प्राकृतिक विपद्ले संकटमा परेकाहरुलाई उद्धार राहतको अवसरलाई खुला गरिदिन्थ्यो। तर, जीवाणु आतंकले यो अवसर समेतलाई खुम्च्याइदिएको छ।

समाजका कैंयन परम्परा, संस्कार, व्यवहार, मान्यतामाथि महामारीरूपी कोरोनाले धावा बोलेको छ। हरपल आमाले छोरा, छोराले आमा, बाबुले छोरा, छोराले बाबु, दाइले भाइ र भाइले दाइ, समग्रमा मानव जातिले आफ्नो सन्तान गुमाइरहेको अवस्था छ। मे २१ को ‘वोर्ल्डमिटरस’ डट इम्फको तथ्याङकले भन्छ, ‘प्रत्येक  मिनेटमा ३.४ जना मानव जीवन गुमिरहेको छ भने ७४.६६ जना संक्रमित भइरहेका छन्।’ तर्क गर्न सकिएला, जन्म र मृत्यु स्वभाविक प्रक्रिया हो। जन्मेपछि मृत्यु अवश्यंभावी छ। सामान्य रुपमा हेर्दा यो स्वयंशिद्ध तथ्यमा असहमत हुनुपर्ने कारण छैन्। तर, हरेक मृत्युको कारण खोजिन्छ। प्रभाव विश्लेषण गरिन्छ। कारण नखोजेको र प्रभाव विश्लेषण नगरेको कुनै त्यस्तो मृत्य छैन्। मरणले हसाउँदैन, रूवाउँछ। दुनियामा शायदै कुनै त्यस्तो जाति र समुदाय होला, जसलाई मरणले नरूवाएको होस्। नदुखाएको होस्। संस्कारगतरूपमा मृत्युमा बाजा बज्न सक्छ, तर त्यो बाजाले मन पक्कै पनि हसाउँदैन।

जैविक आतंकको विषय कहिले पनि विपद् व्यवस्थापनको विषय बनेन। विपद विज्ञहरुले पनि यसलाई आफ्नो अध्ययन अनुसन्धानको विषय बनाएनन्।

रोकथाम तथा नियन्त्रण गर्न नसक्दा राष्ट्र र सामाजिक जीवनका अवयवहरू पक्षघात पीडित बन्न पुग्छन्। नेतृत्वले जनविश्वास गुमाउँछ। सक्षम नेतृत्वको अभावमा परिवार र प्रणाली असफल हुन्छ। असफल प्रणालीले व्यवस्थाको असफलतालाई मलजल गर्छ। असफल व्यवस्थाको जगमा राष्ट्र उभिन सक्दैन। अन्ततः संकटको हुरीले राष्ट्रलाई नै बढारीदिन्छ। नेतृत्व, प्रणाली, व्यवस्था र राष्ट्र असफल हुने अवस्था कदापि सिर्जना हुन दिनु हुदैन ।

जब राष्ट्र र मानवजाति संकटमा पर्छ तब व्यक्तिगत स्वतन्त्रता गौण बन्छ। राष्ट्रको ढुकुटीले थेग्न सक्ने अवस्थासम्म क्षतीपूर्ति दिएर निजी सम्पत्ति समेत आवश्यकतामा नागरिक रक्षार्थ राज्यले ढिलो चाँडो क्षति पुर्ती गर्नुपर्छ। आर्थिक अवस्था सवल भएको अवस्थामा रकम उपलब्ध गराउनेगरी निजी सम्पत्ति प्रयोग गर्न सक्छ। 

क्वारेन्टाइन, उपचार र यातायातका लागि स्वऐच्छाले सरकारलाई चावी हस्तान्तरण गर्ने मानवीयता समयको आहृान हो।

सिंगो मानवजाति र राष्ट्र संकटमा पर्दा उपयोग नहुने तारे लगायतका होटल के का लागि? सुविधा सम्पन्न हस्पिटल के का लागि? प्राइभेट शैक्षिक संस्था के का लागि? हाउजिङ कम्पनीले निर्माण गरेका गगनचुम्बी भवन के का लागि? के निजी संस्थाहरु नाफाको क्याल्कुलेटर चलाउन मात्र खुलेका हुन्? के सामाजिक उत्तरदायित्व पनि बहन गर्नु पर्दैन? 

हस्पिटल, कलेज, स्कुललाई निश्चित शुल्क दिएर वा प्रयोग गरेवापत न्युनतम शुल्क लिएर कोरोना संक्रमितहरुको क्वारेन्टाइन र उपचारका लागि प्रयोग गर्न बिलम्ब गर्न हुँदैन। सञ्चालक स्वयंले स्वघोषणा गर्ने कि नगर्ने? स्वघोषणा नगरेमा के गर्ने? जवाफ हो, राज्यले आफ्नो रेखदेखमा लिने। मातहतमा लिएर कोरोनारुपी मृत्युबाट जोगाउने।

स्यंसेवी भावना भएका युवाहरुलाई कोरोना विरुद्धको युद्धको सेना बनाउनुपर्छ। यतिबेला कोरोना विरुद्धको युद्वमा सामेल हुने भनेको वलिदानीपूर्ण भावनाबाट मात्र सम्भव छ। उनीहरुले गरेको योगदानको कदर गर्न कन्जुस्याई गर्न हुँदैन।

यतिबेला विदेशबाट नेपाल फर्कने क्रम तिब्र बनेको छ। प्रारम्भिक स्वास्थ्य परिक्षण गरेर उनीहरुलाई क्वारेन्टाइनमा राखेमा मात्र कोरोना संक्रमण नियन्त्रण गर्न सकिन्छ। हामीसँग सिमित संख्यामा मात्र क्वारेन्टाइन छन्। क्वारेन्टाइनमा नराखेर सिधै घर प्रवेश गराउने हो भने कोरोना भुसको आगोझैं फैलिनेमा दुई मत छैन। ३ वटै सरकारको स्पष्ट कार्य विभाजन गरी क्वारेन्टाइनको व्यवस्था गर्न विलम्ब हुन थालेको छ। अन्तर्राष्ट्रिय सिमामा संघीय सरकार, प्रदेश सिमामा प्रदेश सरकार र स्थानीय सिमामा क्वारेन्टाइन सञ्चालनको अगुवाई स्थानीय सरकारले गरेमा कोरोना जोखिमलाई काफी हदसम्म घटाउन सकिन्छ।

जीवनको मुल्य भन्दा भौतिक सम्पत्ति कदापी ठूलो हुन सक्दैन। जीवनका लागि भौतिक सम्पत्ति हुनु पर्दछ नकि भौतिक सम्पत्तिका लागि जीवन? आफ्ना नागरिकहरुको जीवनको रक्षार्थ राज्यले  निर्मम कदम चाल्नु पर्ने हुनसक्छ। विशेष परिस्थितिमा नागरिकको अनुमति वा विना अनुमति निजी सम्पत्तिको प्रयोग नागरिकको हितमा गर्ने विशेष अधिकार राज्यसँग हुन्छ। त्यही अधिकार प्रयोग गरेर राज्यले नागरिकको जीवन रक्षा गर्न सक्छ। नचाहँदा नचाहँदै पनि राज्यले बल प्रयोग गर्नुपर्छ, जुन अधिकार संविधान प्रदत्त हुन्छ। आवधिक निर्वाचन मार्फत जनताले आफ्ना प्रतिनिधिहरुलाई उक्त अधिकार प्रदान गरेका हुन्छन्। मतदानको अर्थ त्यही हो।

हरेक व्यक्तिका लागि घर सुरक्षित स्थान हो। आहाराको खोजीमा जति टाढा गए पनि अन्ततः चरा चुरुङ्गी पनि आफ्नो गुडमा आइपुग्छ। असिना पानीले चुटेर भिज्दै आएको परिवारको सदस्यका लागि घरको ढोका बन्द गर्न सकिएला र? घरप्रति र घर मुली प्रतिको उसको हेर्ने नजर कस्तो होला? उसको मनोविज्ञानमा पर्ने असरको हेक्का राख्नु पर्ला कि नपर्ला?

कोरोना (कोभिड–१९) तिब्र गतिमा संक्रमण फैलिने प्राण घातक रोग हो। यो रोगका सम्बन्धमा हेर्ने दुइटा अतिवादी दृष्टिकोणहरु छन्, –पहिलो, मौसमी फ्लुझैं ठानेर सामान्य सावधानी पनि नअपनाउने। दोस्रो, कोरोना संक्रमित व्यक्तिले धर्तिमा पाइला टेकिहालेमा त्यो धर्तिनै भाँसिन्छ वा उसले त्यो भू–भागमा उभिने वित्तिकै आसपासका सबै मानिसहरु एकै पटक ढल्छन्। सोत्तर हुन्छन्। यी दुइटै अतिवादी बुझाई घातक छन्। क्वारेन्टाइन जेल होइन सुरक्षा गृह हो भन्ने बुझाई संस्थागत गर्न अत्यावश्यक छ। यहाँ अपराधी बस्दैनन्, हाम्रै दाजु भाई, दिदि बहिनी विदेश र स्वदेशका विभिन्न स्थानहरुबाट आफ्नो मातृभूमी फर्कन्छन्। उनीहरुलाई क्वारेन्टाइनमा राख्नुपर्छ त्यसका लागि सरकारलाई सहयोग गनुपर्छ भन्ने मान्यता स्थापित गर्न सके मात्र कोरोना विरुद्ध विजय हासिल गर्न सकिन्छ।

कोरोना जे हो त्यही रूपमा बुझ्नुपर्छ। यसमाथि विजय हासिल गर्ने कुरा निकै चुनौतीपूर्ण छ।  युद्व विज्ञानले भन्छ, ‘दुश्मनमाथि विजय हासिल गर्न दुश्मनलाई चिन्न सक्नुपर्छ। यदि दुश्मनलाई चिनिएन भने उमाथि विजय हासिल गर्न सकिँदैन। उसको मृत्यु कहाँ छ? थाहा पाउन सकेमा मात्र उसलाई परास्त गर्न सकिन्छ।’ कोरोना को हो? कस्तो छ? कसरी मर्छ? प्रश्न अनुत्तरित छ। यसको जवाफ मानिएको भ्याक्सिनको खोजीमा संसारभरीका अनुसन्धाता, वैज्ञानिकहरु अहोरात्र डटिरहेका छन्। गम्भीर क्षति व्यहोर्दै मानवजातिले ‘दी ब्ल्याग प्लेग’, ‘स्पेनिस फ्लु’ जस्ता करोडौंको ज्यान लिने महामारीमाथि जीत हाँसिल गर्दै आइरहेको छ। यथास्थितिको चक्रलाई तोड्ने ब्रेकरको रुपमा लिदै नकारात्मक गुरुका रुपमा कोरोना (काभिड–१९) लाई सदुपयोग गर्न सक्नु हाम्रो बुद्धिमानी ठहरिने छ। मावनजातिको बाँच्न पाउने हकलाई कसैले खोस्न सक्नेछैन। अनुभव महङ्गो भए पनि शिक्षा र लाभ हासिल हुनेछ। कोरोना (कोभिड–१९) हार्नेछ, मानवजाति विजयी बन्नेछ। नेतृत्व, प्रणाली, व्यवस्था र राष्ट्र असफल हुने अवस्था कदापि सिर्जना हुन दिनु हुदैन ।

जय ! मानवजाति । 

 (भण्डारी कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हुन)

प्रकाशित मिति: : 2020-05-25 11:46:27

प्रतिकृया दिनुहोस्