हावाहुरीले मकैबाली सखाप

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाअन्तर्गत वडा नं २ मा घोगा लाग्न शुरु भएको मकैबालीलाई हालै आएको हावाहुरीले क्षति पु¥याएको छ।

पटक–पटकको हावाहुरीले नौबीसे, सातबीसे, ढाँडेखोला, कामीटार खोला, कुविण्डे र जलवीरेमा पर्ने करिब ८०० हेक्टर क्षेत्रको खेतमा लगाएको मकैका बोट ढालेर  क्षति पु¥याएको हो। 

बेँसी भेगमा त्यस क्षेत्रका कुविण्डे, जलवीरे, नौबीसेलगायतका खेत मकै उत्पादनका लागि जिल्लाकै उर्वरभूमिका रूपमा परिचित छ।

 किसानले हाइब्रिडलगायत विभिन्न जातका मकै लगाएकामा सम्पूर्णबाट ढलेर सोत्तर भएपछि उत्पादनमा कमी आउने  वडासदस्य तिलक कार्कीले बताए। 

ढाँडेखोला, कामीटार खोला र लामोसोतीका फाँटहरु जिल्लामा आवश्यक पर्ने रामपुर कम्पोजिट जातका मकैको बीउ उत्पादन हुने क्षेत्र रहेको बताउदैं उनले भने, 'यस वर्ष उक्त जातको बीउ उत्पादन गर्न करिब ५०० रोपनी क्षेत्रमा लगाइएकामा आगामी वर्षको लागि बीउको समेत अभाव हुनेछ।'

त्यसैगरी बारीमा लगाएको करिब २० रोपनी क्षेत्रको मकैबालीमा पनि अमेरिकी फौजी किराले सखाप पारेको वडाध्यक्ष छविलाल न्यौपानेको भनाइ छ।

 जिल्लाका चौतारा सागाचोकगढी नगरपालिका, त्रिपुरासुन्दरी तथा इन्द्रावती गाउँपालिकाका केही वडा पनि अमेरिकी फौजी किराको प्रकोपबाट प्रभावित भएको किसानले गुनासो गरेका छन्।
 

प्रकाशित मिति: : 2020-05-29 12:48:32

प्रतिकृया दिनुहोस्