'तरकारीबाट कोरोना भाइरस सर्ने वैज्ञानिक आधार छैन'

थाहा खबर

काठमाडौँ

अतिन आचार्य

खाद्य वस्तु, तरकारी तथा फलफुल लगायतका खाद्य सामग्रीबाट कोरोना भाइरस नसर्ने चिकित्सकहरुले बताएका छन्। महामारीको रुपमा रहेको कोरोना भाइरस तरकारीबाट सर्ने कुनै प्रमाणित कुराहरु बाहिर नआएको बताउँदै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले  त्यो सम्भव पनि नरहेको पनि उल्लेख गरे। 

'कोरोना भाइरस सर्छ, भनेर तरकारी फाल्नु गलत हो। अहिले पनि चीनबाट पनि सामान ल्याइरहेको छौँ', उनले भने, 'भारतबाट पनि तरकारी आयात भइरहेको छ, त्यस्तो सामानबाट त सरेको छैन।' बिनाकारण तरकारी फालिएको छ त्यसमा कोरोना भाइरस हुने कुनै तथ्यगत वैज्ञानिक आधार नभएको डाक्टर पुनले बताए।

कुनै पनि वस्तुमा केही समय भाइरस रहन्छ वा संक्रमित भएको ठाउँबाट आउँछ भन्‍ने हल्लाले त्यस्तो गरेको हुन सक्ने उनको भनाइ छ। विश्‍वभर नै अहिले संक्रमित ठाउँबाट ल्याएको वस्तुबाट कोरोना सर्छ भनेर प्रमाणित भइनसकेको उनले प्रष्ट पारे। सबैभन्दा बढी भयानक रहेको देश अमेरिका, इटालीमा कहीकतै तरकारी फालिएको अहिलेसम्म नसुनेको डक्टर पुनले थाहाखबरलाई बताए। नेपालमा यसभन्दा अगाडि पैसाबाट पनि सर्छ भन्‍ने हल्ला आएको थियो। तर पैसाबाट सरेको अहिलेसम्म पुष्टि नभएको उनले बताए।
 

प्रकाशित मिति: : 2020-06-01 19:18:43

प्रतिकृया दिनुहोस्