आफ्नो गाउँको विषयमा निबन्ध लेखन प्रतियोगितामा जेठ मसान्तसम्म थप

पर्यटनकर्मी तन्नेरीहरूको संस्था ‘पर्यटन प्रवर्धन मञ्च, नेपाल’ ले आयोजना गरेको ‘हाम्रो गाउँ, राम्रो गाउँ’ निबन्ध लेखन प्रतियोगितामा जेठ मसान्तसम्म सहभागी हुन पाउने भएका छन्।

यसअघि मञ्चले जेठ २० गते समय सीमा तोके पनि सरकारले कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न जारी लकडाउन थपेसँगै संस्थाले पनि निबन्ध पठाउने समय थपेको हो।

घरभित्रै बसिरहेका बेला आफ्नो गाउँको विषयमा निबन्ध लेख्न प्रोत्साहित गर्ने उद्देश्यले मञ्चले प्रतियोगिता गरेको हो। गाउँघरको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक र सामाजिक पक्ष समेटेर १ हजार शब्दसम्मको निबन्ध लेखेर topfnepal77@gmail.com मार्फत पठाउनुपर्नेछ। साथमा गाउँको प्रकृति, संस्कृति र जीवनशैली झल्कने कम्तिमा ३ वटा तस्बिर हुनु पर्नेछ ।   

प्राप्त हुने निबन्धबाट छानेर उत्कृष्ट तीन निबन्धलाई ७ हजार रुपैयाँका दरले पुरस्कृत गरिने मञ्चले जनाएको छ।

मञ्चका अनुसार आउँदो असार ७ गते उत्कृष्ट निबन्धको घोषणा गर्नेछ। ‘जेठ २० गतेसम्म राम्राराम्रा निबन्ध प्राप्त भएका छन्’, मञ्चका संयोजक लिलाराम खड्का भन्छन्, ‘प्रतियोगिको संख्या अझै बढोस् भनेर हामीले समय थपेका हौं ।’   

पर्यटकीय सम्भावना भएर पनि ओझेल परेका गाउँहरूको संभावना उजागर गर्न प्रतियोगिता आयोजना गरिएको हो। यसमा जुनसुकै उमेर समूहका लेखकले मुलुकभित्रका जुनसुकै ठाउँको विषयमा लेख्न सक्नेछन्। 

‘लकडाउनपछि हामीले मुलुकको समृद्धिका लागि पहल गर्नुपर्छ । राम्रोसँग विकास गरेमा पर्यटन नेपाली अर्थतन्त्रको मेरुदण्ड बन्न सक्छ’, संयोजक खड्काले भने, ‘हिमाल, पहाड र तराई सबैतिर पर्यटकीय संभावना भएका थुप्रै ठाउँ छन् । त्यसैले ओझेलमा परेका ठाउँहरूलाई चर्चामा ल्याउन प्रतियोगिता गरेका हौं ।’ 

प्रकाशित मिति: : 2020-06-03 14:44:22

प्रतिकृया दिनुहोस्