कोरोना भाइरस विश्वव्यापी रुपमा थप खतरनाक हुँदैछ: डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडनहम गेब्रियासिसले केही देशमा कोरोना भाइरसको संक्रमितको संख्यामा पहिलेको तुलनामा कमी आएता पनि विश्वव्यापी रुपमा यो थप खतरनाक भइरहेको बताएका छन्।

उनले पत्रकारसँगको कुराकानीमा पछिल्लो ९ दिनभित्र एक लाख बढी संक्रमित भेटिएको जानकारी दिए। ‘पछिल्लो ९ दिनभित्र एक लाख बढी संक्रमित भेटिएका छन्। र जतिपनि संक्रमित हिजो देखिएका छन् तीमध्ये ७५ प्रतिशत त १० देशका मात्रै नागरिक हुन्,’उनले भने। उनका अनुसार तीमध्ये पनि धेरैजसो संक्रमित अमेरिका र दक्षिण एसियाका हुन्।

यद्यपि, टेड्रोसले केही देशको स्थितीमा सकारात्मक परिवर्तन आएको पनि बताए।

उनले भने, ‘विभिन्न अध्ययनले यो कुरा स्पष्ट हुन्छ कि विश्वव्यापी स्तरमा अहिले पनि एउटा ठूलो जनसंख्या संक्रमणको हिसाबले अति संवेदनशील छन्।’

तथ्यांक सार्वजनिक गर्न ब्राजिललाई अपिल

डब्ल्यूएचओले कोरोना सम्बन्धी तथ्यांक सार्वजनिक गर्न ब्राजिललाई अपिल गरेको छ। डब्ल्यूएचओले ब्राजिलको यस कदममा चासो दिँदै तथ्य र पारदर्शिता अपनाउँदै विवरणहरु सार्वजनिक गर्न भनेको हो।

शनिबार ब्राजिलको स्वास्थ्य मन्त्रालयको वेबसाइटमा रहेको अहिलेसम्मको समग्र मृतक र संक्रमितको तथ्यांक हटाएर केवल पछिल्लो २४ घण्टामा भेटिएका संक्रमित र मृतकको तथ्यांक मात्र राखिएको थियो। यसपछि  ब्राजिल सरकारले मृतकको वास्तविक संख्या लुकाइरहेको भन्दै आलोचना भइरहेको छ।

विश्व स्वास्थ्य संगठनका हेल्थ इमरजेन्सी प्रमुखले पत्रकारहरुसँग कुरा गर्दै भने,‘आखिर के भइरहेको छ भनेर जान्नु जरुरी हुन्छ। भाइरस कहाँसम्म फैलिइसकेको छ भनेर नागरिकहरुले थाहा पाउनुपर्छ।’

ब्राजिल कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित देशहरुको सूचीमा दोस्रो स्थानमा छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार ब्राजिलमा कोरोना भाइरसबाट ६ लाख ९१ हजार ७ सय ५८ जना संक्रमित छन् भने ३६ हजार ४ सय ५५ जनाको मृत्यु भएको छ। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा चासो नदिएको भन्दै ब्राजिल सरकारको आलोचना हुँदै आएको छ।

उनले भने,‘ सुरक्षालाई ध्यान दिँदै तथ्यांकमा पारदर्शिता अपनाउनुपर्छ र त्यसलाई सार्वजनिक गर्नुपर्छ। उनीहरुले यो संक्रमणलाई कसरी रोक्ने भनेर उपाय खोज्नुपर्छ।’

प्रकाशित मिति: : 2020-06-09 08:28:14

प्रतिकृया दिनुहोस्