ट्रेकिङ गाईडलाई क्रेडिट कार्ड सुविधा

ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र माछापुच्छ्रे बैंक लिमिटेडबीच ट्रेकिङ गाईडलाई क्रेडिट कार्ड सुविधा उपलब्ध गराउने सम्बन्धमा दुई पक्षीय सम्झौता भएको छ।

११ बुँदे समझदारीपत्रमा माछापुच्छ्रे बैंकका नायब महाप्रबन्धक सर्जु कुमार थापा र टानका अध्यक्ष खुमबहादुर सुवेदीले सोमबार हस्ताक्षर गरेका हुन्।

‘विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना (कोभिड १९) भाइरसको कारण पर्यटन क्षेत्र र मजदुरहरु प्रभावित भएका छन्। यसै प्रभावलाई मध्यनजर राख्दै टानको पहलमा आफ्ना सदस्य कम्पनीमा कार्यरत ट्रेकिङ गाईडलाई सहजिकरण गर्न माछापुच्छ्रे बैंकसँग समझदारी गरेका हौ’, टानका अध्यक्ष खुमबहादुर सुवेदीले भने।

सम्झौता अनुसार टानका सदस्य कम्पनीमा कार्यरत ट्रेकिङ गाईडलाई मासिक १५ हजार गरि अधिकतम १ लाख ८० हजारसम्मको सीमा सहितको क्रेडिट कार्ड उपलब्ध गराईने टान र बैंकबिच सम्झौता भएको छ।

सो सिमा आंशिक रूपमा ९० हजार गरी दुई चरणमा प्रत्येक अर्ध वार्षिक समयावधिमा प्रदान गरिने टानले बताएका छ।

ट्रेकिङ गाईडले Minimum Amount Due (MAD) मासिक ५ प्रतिशतको दरले एक वर्षसम्म भुक्तानि गर्नुपर्ने सम्झौतामा उल्लेख गरेको छ ।

क्रेडिट कार्ड सुविधा उपभोग गर्न आवेदकको उमेर न्यूनतम २१ वर्ष र अथिकतम ६५ वर्ष हुनुपर्दछ र ट्रेकिङ गाईडहरुले माछापुच्छ्रे बैंकमा खाता खोली छुट्टै डेबिट अधिकार दिनुपर्नेछ। सो सुविधा प्रयोग गर्न ट्रेकिङ गाईड र कार्यरत ट्रेकिङ कम्पनीले जमानत अनिवार्य बस्नुपर्नेछ। यदि ट्रेकिङ गाईडले शर्त बमोजिम रकम भुक्तान गर्न नसकेको अवस्थामा बाँकी रहेको बक्यौता तिर्ने दायित्व गाईड कार्यरत ट्रेकिङ एजेन्सीको हुने सम्झौता पत्रमा छ।

उक्त समझदारीपत्र हस्ताक्षर समारोहमा टानका वरिष्ठ उपाध्यक्ष नविन त्रिताल, महासचिव सरिता लामा, कोषाध्यक्ष ऋतु ग्याम्दान, सदस्य कान्छा शेर्पा, माछापुच्छ्रे बैंकका प्रबन्धक सुनिल खतिवडा, उपप्रमुख (डिजिटल बैंकिङ) विनय रेग्मी र शाखा प्रबन्धक समिर रैनको उपस्थिति थियो।

प्रकाशित मिति: : 2020-06-22 17:15:59

प्रतिकृया दिनुहोस्