इटालियन सिरी ए अन्तर्गत बुधबारको खेलमा इन्टर मिलान सासुओलोसँग बराबरीमा रोकिएको छ ।
घरेलु मैदान सान सिरोमा भएकाे खेलमा ३-३ को रोमाञ्चक बराबरीमा राेकिएकाे हाे।
खेलको चौथो मिनेटमा नै पाहुना टोली सासुओलोले अग्रता लिएको थियो । फिलिप जुरिचिचको पासमा फ्रान्सेस्को कापुटोले गोल गरेका थिए । तर इन्टरले पहिलो हाफको अन्त्यतिर नै दुई गोल गर्दै अग्रता लिन सफल रहयो।
४१ औं मिनेटमा रोमेलु लुकाकुले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । जेरेमी बोगाले मिलान स्क्रिनियरलाई पेनाल्टी एरियामा लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।
इन्ज्युरी समयको पहिलो मिनेटमा इन्टरले अग्रता लियो । एलेक्सिस सान्चेजको पासमा क्रिस्टियन बिराघीले गोल गरे।
खेलको अन्तिम १० मिनेटमा थप ३ गोल भयाे । ८१ औं मिनेटमा स्ली योङले पेनाल्टी एरियाभित्र मर्ट मुडुरलाई लडाएपछि सासुओलो पेनाल्टी पायाे। जसलाई डोमेनिको बेरार्डीले न्याय गरे।
८६ औं मिनेटमा इन्टरले खेलमा पुन: अग्रता लियो । एन्टोनियो क्यानड्रेभाको पासमा बोर्जा भलेरोले गोल गर्दै इन्टरलाई जिततर्फ अग्रसर गराए । तर निर्धारित समयको एक मिनेट बाँकी रहँदा सासुओलोले खेल पुन: बराबरीमा ल्यायो । लुकास हरासिलिनको पासमा जियानजिआकोमो मान्गानीले गोल गर्दै अंक बाड्न बाध्य बनाए ।
बराबरीसँगै इन्टर २७ खेलमा ५८ अंकसहित तेस्रो स्थानमा यथावत रहेको छ । सासुओलो २७ खेलमा ३३ अंकसहित १२ औं स्थानमा छ ।